शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन हामी प्रतिबद्ध छौँ : महासचिव डिदोङ (भिडियो वार्ता)

बिहीबार, २८ पुस २०७९

काठमाडौँ । माघ ६ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औँ साधारण सभा तथा निर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दल सम्बद्ध रोजगार व्यवसायी संघहरू चुनावी तयारीमा छन् । संघको निर्वाचनमा नेपाली कांग्रेस निकट एसोसिएसन, एमाले निकट प्रगतिशील मञ्च नेपाल, नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक मञ्च, नेकपा एकीकृत समाजवादी निकट एकीकृत संगठनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । त्यसबाहेक संघीय समाजवादी पार्टी निकट समाजवादी वैदेशिक रोजगार व्यवसायी संघ, महिला वैदेशिक रोजगार व्यवसायी संघ र जातीय तथा क्षेत्रीय भेगीय संस्थाहरू पनि निर्वाचनमा निर्णायक हुने देखिएका छन् । 

यो पटक नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले पनि अध्यक्षका लागि दाबी प्रस्तुत गर्दै आएको छ । विगतमा वर्षहरूमा अध्यक्ष बाहेकका पदमा मञ्चले दाबी प्रस्तुत गर्दै आएको थियो । यो पटकको निर्वाचनमा समेत नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बद्ध व्यवसायी संघहरूबीच मुख्य प्रतिस्पर्धा हुनेछ । नेपाल वैदेशिक रोजगार संघमा झण्डै ९०० मेनपावर व्यवसायी आबद्ध छन् । उनीहरूले माघ ६ गते आफ्नो नयाँ नेतृत्व चयन गर्न लागेका हुन् । 

अहिले उम्मेदवार घोषणा गर्ने कार्य भइरहेको छ । रोजगार व्यवसायी, श्रमिक लगायतको हकहितका लागि लड्दै आएको मञ्चले पहिलो पटक अध्यक्षमा दाबी प्रस्तुत गर्न लागेको बताएको छ । मञ्चका महासचिव कुन्छा दोर्जे डिदोङले व्यवसायी, श्रमिक र राज्यको हकहितका लागि आफ्नो संगठनले नेतृत्वको लागि दाबी गर्ने बताए । 

रातोपाटीसँग कुराकानी गर्दै महासचिव डिदोङले वैदेशिक रोजगारभित्र देखिएका समस्या समस्या समाधान गर्न आफ्नो संगठन प्रतिबद्ध भएर लाग्ने बताए । 

मञ्चले हालसम्म उपाध्यक्ष, सचिव जस्ता पदहरू जित्दै आएको थियो । तर, अहिले संघको नेतृत्व गर्न अग्रसर देखिएको हो । 

‘हालसम्म हामीले संघको नेतृत्व गर्न पाएका थिएनौँ । यो पटक लिनुपर्छ र आवश्यक लिइन्छ भन्ने हाम्रो धारणा हो,’ महासचिव डिदोङले भने । 

मञ्चले चुनाव जितेको खण्डमा आफूहरू व्यवसाय, व्यवसायी र कामदारप्रति उत्तरदायी रहने उनको भनाइ छ । संघको नेतृत्व लिनका लागि मञ्चले फ्री भिसा फ्री टिकट, वर्षमा १०० जना कामदार पठाउनै पर्ने बाध्यकारी व्यवस्था लगायतका विरुद्धमा लड्ने बताए । 

‘मुख्य गरेर फ्री भिसा फ्री टिकटको कुरा गर्छौँ । वर्षमा १०० जना कामदार पठाउनै पर्ने बाध्यकारी व्यवस्था हटाउने कुरा गर्छौ । त्यस्तै रोजगारभित्रको सिन्डिकेट हट्नुपर्छ भनेर हामी लाग्छौँ,’ महासचिव डिदोङले भने, ‘वैदेशिक रोजगारमा जाने कामदारहरूको हकहितका लागि हामी काम गर्छौ । यो त हामी निर्वाचित भए पनि काम गर्छौ निर्वाचित नभए पनि काम गर्छौ ।’ 

अहिले वैदेशिक रोजगारीमा हुने ठगीका घटना बढ्दै गएको उनले स्वीकार गरेका छन् । तर, त्यसको पछाडि इजाजत पत्र प्राप्त गरेका संस्थाहरूबाट भन्दा बाहिरबाट यस्ता खालका घटना भइरहेको उनको भनाइ छ । 

‘ठगी गर्ने काम अरूबाट भइरहेको छ । बदनाम हाम्रो भइरहेको छ । हामीले गलत गरेको खण्डमा हामीले राखेको करोडौँको धरौटीबाटै क्षतिपूर्ति दिलाउन सकिन्छ । तर, हामी आफ्नो पेसा र श्रमिकको हकहितको लागि प्रतिबद्ध छौँ,’ उनले भने । 

हामीले संघको निर्वाचन, वैदेशिक रोजगारीभित्रको समस्या लगायतका विषयमा महासचिव डिदोङसँग भिडियो कुराकानी गरेका छौँः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया