शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

बालकथा : हानथाप

आइतबार, ०१ माघ २०७९, १६ : ४५
आइतबार, ०१ माघ २०७९

आपसमा सद्भाव, सहयोग र सहकार्य भए जस्तोेसुकै समस्या पनि समाधान गर्न सकिन्छ, होइन मै ठूलो, मै जान्ने, मै सुन्ने, मैले भनेकै हुनुपर्छ र सर्वप्रथम मैले नै पाउनुपर्छ भन्न थालियो भने भुइँ न भाँडाको हुन पुगिन्छ । यहाँ यस्तै एउटा कथा प्रस्तुत छ, जसलाई पढेपछि भाइबहिनीहरू आफैँ प्रष्ट हुने छौ ।

धेरै पहिलेको कुरा हो । एउटा देशमा दुईवटा गाउँ थियो, नदीको वारि र पारि । गाउँहरू नजिककै भए पनि बीचमा रहेको नदीले दुई भागमा छुट्याएको थियो । गाउँलेहरू कसैको खेतबारी वारि थियो, कसैको पारि । अर्थात् घर वारि हुनेको खेतबारी पारि थियो । पारि हुनेको वारि थियो । बरोबर वारिपारि गरिरहनुपर्ने भएकाले उनीहरूले नदीमाथि सानो पुल बनाएका थिए । पुल साह्रै सानो थियो, एकपटकमा एक जना मात्र वारिपारि गर्न सक्थे । छेउछाउमा छेकबार केही थिएन । गाउँलेहरू निकै होसियारी पूर्वक आलोपालो गरी वारिपारि गर्थे ।

एक दिनको कुरा हो पल्लो गाउँका कुनै व्यक्ति त्यतैबाट आए । उनी पुलमाथि चड्न मात्र भ्याएका थिए पारिबाट पनि अर्को मानिस चडे । ठीक बीच भागमा पुगेपछि भेट भयो । दुवै मुखामुख गर्न लागे । एकले अर्कोलाई बाटो छाडी देला कि भनेर एक छिन पर्खे पनि तर दुवै टसमस भएनन् । आँखाको भावमा दुवै एकले अर्कोले छाडिदिनुपर्छ भन्थे र पर्खी बस्ने गर्थे । निकै बेरसम्म पर्खँदा पनि दुवै टसमस नभएपछि पहिले चड्नेले भन्यो–

‘के हेरेको भाइ ! बाटो छाडिदेऊ न ।’

दोस्रोले भन्यो–

‘यही कि मलाई अलि हतार छ । त्यसैले तिमीले नै छाडिदिन्छौ कि भनेर हेरेको ।’

‘मैले छाडिदिनुपर्ने रे !’

‘हो, त्यही सोचेको हुँ ।’

‘किन र ? पहिले चड्ने त मै हुँ । त्यस हिसावले पनि पहिलो पालो मैले पाउनुपर्छ होइन र ?’

‘भनिहालेँ नि अलि हतार भनेर । पहिले जो चडे पनि के फरक पर्छ र ? समझदारीको कुरा हो जसले छाडिदिए पनि भइहाल्यो नि ।’

‘कहाँ त्यसो भनेर हुन्छ । पहिले चड्ने पनि मै, तिमीभन्दा जेठो र बलियो पनि मै, अनि बाटो पनि मैले नै छाडिदिनुपर्ने ? यो हुँदैन । तिम्रो हतार तिमीसँगै राख भाइ ! पहिलो पालो मैले नै पाउनुपर्छ ।’

‘यस्तो कुरामा जेठो र कान्छो भन्ने हुँदैन । पुल दुवैको हो, दुवैको बराबरी हक लाग्छ । जहाँसम्म को पहिले चडेको भन्ने कुरा छ त्यसको कुनै तुक छैन । होला पहिलो पाइलो तिमीले नै राखेको तर चडेको त मैले पनि सँगसँगै हो । अलि बढी नै हतार भएकाले विनम्रापूर्वक भन्दैछु बाटो तिमीले नै छाडिदिनुपर्छ । होइन भने...।’

‘होइन भने रे ? त्यस्तो घुर्की ? कै नै गर्न सक्छौ र यस्तो घुर्की देखाउँदै छौ ?’

‘घुर्की होइन भाइ ! यथार्थ हो । जे पनि हुन सक्छ ? परेपछि जे पनि गर्न सकिन्छ ।’

‘जे पनि गर्न सकिन्छ रे ? लौ हेरौँ त के गर्न सक्दा रहेछौ ।’

यसरी उनीहरूबीच भनाभन बढ्दै गयो र अन्ततः हात हालाहालको हवस्था सिर्जन भयो । दुवै मुड्की कसेर एक अर्कोसँग लड्न लागे । लड्दालड्दै रिसको झोकमा सन्तुलन बिग्रन पुग्यो र दुवै नदीमा खसेर विपत्ता भए ।

त्यसको लगत्तैजसो अर्का दुई सज्जन त्यसैगरी वारि र पारिबाट पुलमा चडे । उनीहरूको पनि भेट बीच भागतिरै भयो तर उनीहरूले भने हानाथाप गरेनन् । न पहिले को चडेको थियो भन्ने कुरामै विवाद भयो । एउटाले अर्कोलाई सम्बोधन गर्दै भने–

‘महाशय ! पुल सानो छ । दुवै एकैसाथ वारपार हुन सक्दैनौँ । त्यसैले म सुतिदिन्छु । तपाईँ ममाथिबाट पार हुनुहोला । त्यसपछि म जानेछु ।’

उनको कुरा सुनेर अर्काले  भने–

‘सदाशयका लागि धन्यवाद । यसलाई सम्झिराख्ने छु र अवसर पाइयो भने कुनै बेला गुन तिर्नेछु ।’

यति भनेर खुसी हुँदै उनी गए । त्यसपछि अर्कोले उठेर आफ्नो बाटो समाए ।

आपसमा समजदारी देखाएकाले दुवै सकुल आ–आफ्नो गन्तव्यमा पुगे ।

यो एउटा दुष्टान्त हो । जहाँ पनि हानाथापको नतीजा दुःखद नै हुन्छ र मेलमिलापको नतीजा सुखद । हानाथाप गर्न थाले हातलागि केही हुँदैन । समजदारीले काम गरे गन्तव्यमा पुग्न गाह्रो पर्दैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप