शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचित

सोमबार, ०२ माघ २०७९, ०९ : ५५
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रूपमा विमोचन गरे ।

‘आतोओडा’को अर्थ हुन्छ गाउँवस्ती । उपन्यास सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरूले बताए । गौरादहका सीमान्तकृत सन्थाल फुलमुनी, बुधिन, तुरसा, लुखीहरुको जीवन संघर्ष, सन्थाल गाउँवस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ । 

सन्थाल समुदायका लक्खी हेमरमहरुले नागरिकता नपाएको कथा सुनाइन् लेखक जानुका खतिवडाले । ‘झापा विद्रोहमा साथ दिने सन्थाललाई आज पहिचान र अधिकारविहीन बनाइएको छ’, उनले भनिन् ।

विन्दु शर्माले सन्थाल पात्रहरूको दुःखले किताब पढ्दा पढ्दै स्तब्ध बनेको बताइन् । ‘रोकिँदै रोकिँदै पढिरहेँ’, उनले भनिन्, ‘उपन्यासको फूलबारीमा फुलेको सुन्दर फूल हो आतोओडा । समाज विकासको गतिमा नसमेटिएका समुदायको संघर्षको गाथा बनेको छ उपन्यास ।’

महेशविक्रम शाहले ‘आतोओडा’मा भुइँमान्छेका कथा लेखिएको बताए । ‘उपन्यासमा पुरुष पात्रभन्दा नारी पाक्र सशक्त रूपमा आएका छन्, उपन्यासको शक्ति यसमा छ । सन्थाललाई राज्यले कुन हदसम्म ठगेको छ भन्ने कुरा उपन्यासमा आएको छ’, शाहले भने ।

‘यो किताब पढेपछि केही प्रश्न उब्जिन्छन् । झापा विद्रोहमा सघाउने ती सन्थाल अहिले राजनीतिमा कहाँ छन् ? झापा विद्रोह गर्ने हाम्रा कमरेडहरूलाई यो प्रश्न छ,’ नारायण ढकालले भने । 

किताब कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यासको मूल्य ३३५ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप