शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालनिबन्ध : थकान

बिहीबार, ०५ माघ २०७९, १४ : १४
बिहीबार, ०५ माघ २०७९

थकाइ सबैलाई लाग्छ । बालकलाई लाग्छ, बालिकालाई लाग्छ, युवकलाई लाग्छ, युवतीलाई लाग्छ । वृद्धवृद्धालाई झन् बढी लाग्छ । काम गरेपछि थकाइ लाग्नु स्वाभाविक हो तर थकाइ लागेपछि गर्ने काम भने दुईवटा हुन्छन् । कि सुतिन्छ कि बसिन्छ । सायद भाइबहिनीहरूले पनि यस्तै गर्ने गरेको हुनुपर्छ । यसबाट थकाइ त मेटिन्छ तर यसले मानिसलाई कि अल्छी बनाउँछ कि काम अधुरो बनाइदिन्छ वा समयमा काम सक्न गाह्रो बनाइदिन्छ । त्यसो भए के गर्ने त ? थकाइ नै नलागोस् भन्न त सकिन्न । प्राकृतिक न्याय सिद्धान्त भित्रको कुरा भएकाले यो कसैको वशभित्रको कुरा नै होइन । त्यसैले यहाँ यस्तो सरल सूत्र प्रस्तुत गरिएको छ, जसले थकान पनि मेटाउँछ र समयमै काम सम्पन्न गर्न पनि सहयोग पु¥याउँछ ।

मानिलिनुस् तपाईँ कुनै काममा खटिनुभएको छ । काम अत्यन्त महत्वपूर्ण छ । तत्कालै सम्पन्न गर्नुपर्नेछ । नभए पनि आजै सक्नुपर्ने हुन सक्छ तर तपाईँमा थकान बढी लाग्ने वानी छ । काम गर्दागर्दै थाक्नुहुन्छ, थकाइ लाग्ने गरेको छ । यस्तो अवस्थामा बीचबीचमा एक मिनेट मुख बन्द गरेर बस्न सक्नुहुन्छ । ध्यान रहोस् यति बेला दाँत एक अर्कोमा जोडिनु हुँदैन । जिभ्रोले पनि तलमाथि कतै छुनुहुँदैन । उसलाई जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहन दिनुपर्छ । यदि एक मिनेट मात्र यसरी बस्न सक्नुभयो भने मनलाई विश्राम मिल्छ, जसका कारण थकान पनि मेटिन्छ र काम पनि भनेकै बेलामा सक्न सकिन्छ ।

तपाइँलाई लागेको होला यस्तो कसरी हुन्छ ? तर कुरा सत्य हो । यतिबेला भएको के हुन्छ भने जब जिभ्रो निस्क्रिय हुन्छ तब उसले कुनै शब्द उच्चारण गर्दैन, गर्न सक्दैन, जसका कारण मनको सक्रियाता रोकिन्छ । जब मनको सक्रियता रोकिन्छ तब थकाइ पनि तत्कालै छुमन्तर हुन्छ । किनभने थकानको मूल कारण भनेकै मनको सक्रियता हो । मन जति सक्रिय हुन्छ थकाइ त्यति नै बढी लाग्छ । हाम्रा ऋषिमुनिहरू रात दिन साधनामा लाग्थे तैपनि उनीहरूलाई थकाइ लाग्दैनथ्यो । लागिहाले पनि यही सूत्र प्रयोग गर्थे, जसले गर्दा कत्ति पनि विश्राम नगरी निरन्तर साधनामा लाग्न सक्थे ।

यदि यसो गर्न सम्भव भएन भने पनि केही छैन । तपाईँ आँखा चिम्म गरेर अघि जस्तै एक मिनेट बस्न सक्नुहुन्छ तर यति बेला पनि आँखालाई जहाँको तहीँ स्थिर गर्न भने बिर्सनुहुँदैन । आँखाको पुतलीलाई दायाँ वायाँ वा तलमाथि हुन नदिएर जस्ताको तस्तै अवस्थामा राख्ने प्रयास गर्नुपर्छ । स्मरण रहोस् यति बेला पनि उसमा दवाव पर्न दिन भने हुँदैन । आँखा बन्द छ कि खुला छ त्यसको पनि वास्ता गर्नु हुँदैन । जहाँ छ, जस्तो छ त्यस्तै अवस्थामा रहन दिनुपर्छ । एक मिनेट जति यसरी बस्न सक्नुभयो भने तपाईँको मन सबै किसिमको तनावबाट मुक्त हुन्छ र अन्ततः यसैका कारण तपाईँको थकान मेटिन पुग्छ ।

यहाँ पनि तपार्ईँलाई लागेको होला यस्तो चमत्कार कसरी हुन्छ तर न आत्तिनुस् यो कुनै चमत्कार नभई यथार्थ हो । किनभने थकानको अर्को कारण आँखाको चञ्चलता पनि हो । आँखा हमेशा यताउता भागिरन्छ र नानाभाँतीको दृष्य सङ्कलन गरी मनलाई त्यतै दौडिन वाध्य पार्छ तर त्यही आँखा स्थिर भयो भने उसले कुनै पनि दृष्य सङ्कलन गर्दैन वा गर्न सक्दैन । अन्ततः यसले पनि मनलाई नै शान्त पार्छ र थकान मेटाउनु सहयोग पु¥याउँछ ।

होइन, यो पनि सम्भव भएन भने पनि केही छैन । कानलाई कुनै सुमधुर धुनमा स्थिर गर्दा पनि हुन्छ । यस्तो धुन कुनै भजनको पनि हुन सक्छ गीतसङ्गीतको पनि हुन सक्छ । यदि कानलाई त्यस्तो धुनमा स्थिर गर्न सक्नुभयो भने उसले अन्य नानाभाँतीको शब्द सङ्कलन गर्दैन, गर्न सक्दैन र अन्ततः यसले पनि मनलाई स्थिर गर्न सहयोग पु¥याउँछ, जसका कारण थकान मेटिन पुगिरहेको हुन्छ ।

यदि यो पनि सम्भव हुँदैन भने नाकलाई कुनै सुगन्धमा स्थिर गर्दा पनि हुन्छ । सुगन्ध कुनै फूलको पनि हुन सक्छ अत्तरको पनि हुन सक्छ । अथवा अरू नै कुनै हुन सक्छ । यसबाट नाकले अरू कुनै सुगन्धको चाहना गर्दैन र मनलाई स्थिर गरी थकान मेटाउन सहयोग पु¥याउँछ ।

होइन यो पनि सम्भव भएन भने पनि केही छैन । शरीरलाई जहाँ बस्नुभएको छ त्यही आसनमा एक छिन स्थिर गर्दा पनि हुन्छ । यसबाट तपार्इँको छाला त्यही स्पर्श सुखमा स्थिर हुन्छ र मन शान्त हुन पुग्छ । अन्ततः यसले पनि थकान मेटाउन सहयोग पु¥याइरहेको हुन्छ ।

थकानको मूल कारण भनेको मन नै हो । मन जति बढी चञ्चल भयो उति नै बढी थकाइ लाग्छ । जहाँसम्म मनलाई चञ्चल बनाउन सहयोग गर्ने साधनको कुरा छ त्यो भने तपाईँका यिनै जिभ्रो, आँखा, नाक, कान, छाला र तिनका विषय क्रमशः रस, रूप, गन्ध, शब्द र स्पर्श नै हुन् । जब यिनलाई नियन्त्रण गर्न सकिन्छ तब मन स्वतः शान्त हुन पुग्छ र थकान मेट्ने काम गरिरहेको हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप