बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धार्मिक आस्थाको केन्द्र बन्दै गोदावरी धाम

शनिबार, ०७ माघ २०७९, ०६ : ३८
शनिबार, ०७ माघ २०७९

कैलाली । धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि उक्त मेलाको शुभारम्भ गरिएको हो । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

उनका अनुसार बाह्रराशि दर्शन मकरमेलाको पहिलो दिन विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लागेको थियो । हिजोआज पनि दिनहुँ हजारौँ बढी भक्तजन आउने गरेका छन् । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणालगायत स्थानबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष जोशीको भनाइ छ । 

नेपालको सुदूरपश्चिमलगायत, कर्णाली, लुम्बिनी प्रदेशबाट मानिस गोदावरी धाममा आउने गरेको आयोजकले बताएको छ । धाममा पाञ्चायन देवताको पाँच पुराण र चारवेद पाठ भइरहेको छ । ग्रहपूजा, हवन, ध्यान, योग, जपलगायत धार्मिक क्रियाकलाप भइरहेको छ । दिनहुँ सयभन्दा बढी व्रतबन्ध, विवाह जस्ता धार्मिक कार्यक्रम भइरहेको छ ।  

मेलाकै अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, भजनकीर्तन, प्रवचन आदि भइरहेको आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम तथा शुभकार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गरेको छ । धाममा कुम्भबाटिका, स्नान कुण्डलगायत संरचना निर्माण गरिएका छन् । मेलाको लागि गोदावरीमा स्थानीय बजार लागेका छन् । यस समयमा १२ दिनसम्म आआफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्न सकिने छ ।
    
धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा धर्मशाला, शौचालय, नदी वारपार गर्नका लागि पुललगायत विभिन्न संरचना निर्माण गर्न एकदमै आवश्यक रहेको गोदावरी धाम समितिले जनाएको छ । धामको विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले बृहत गोदावरी धाम विकास समिति गठन गरेर आफ्नो मातहतमा लिई संरक्षण गर्न जरुरी रहेको धाम विकास समितिका अध्यक्ष जोशीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप