शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
संस्मरण

दिल्ली एयरपोर्ट, ‘ओके टु बोर्ड’, अनि १५ घण्टे ‘कोर्ट’

आइतबार, ०८ माघ २०७९, १५ : ५१
आइतबार, ०८ माघ २०७९

मानवीय सहायतामा काम गर्ने एक क्यानडेली गैरसरकारी संस्थामा म काम गर्छु । कामको सिलसिलामा केही अफ्रिकी र एसियाली मुलुकमा गइराख्छु । यसै क्रममा शुक्रबार, १३ जनवरीमा  दिल्ली हुँदै मोजाम्बिक जाँदै थिए । टिकट ईथियोपियन एयरलाइन्सको थियो । काठमाडौं–दिल्ली, दिल्ली– अदिस अबाबा  र अदिस अबाबा–मापुटो सेक्टरको टिकट एउटै थियो । काठमाडौंमै तीनवटै बोर्डिङ पास पाइयो । भिस्ताराको उडानबाट दिल्ली उडियो ।

विगत १५  वर्षमा  पढाई, तालिम, सेमिनार र कार्यशाला तथा कामको सिलसिलामा म २४  देश पुगेको छु  । नेपालको पासपोर्ट कमजोर भएको त विदेश जाने जो कोहीले भोगेकै कुरा हो । तर कहिलेकाहीँ इमिग्रेसनमा केही बढी समय लाग्नुलाई त के समस्या मान्नु र जस्तो लाग्थ्यो ।

दिल्लीमा के हुनेवाला छ, मलाई पहिले भेउ हुने भएन । स्थानीय समय अनुसार बेलुकाको ७ बजे दिल्ली अवतरण भयो । पहिले दिल्ली भएर यात्रा नगरेको हैन । गत जुनमा श्रीलङ्का र सेप्टेम्बरमा क्यानडा यही बाटो भएर गयको हुँ । तर यसपाली टिकट छुट्टाछुट्टै भएको हुनाले इमिग्रेसन पार गरेर फेरि चेक ईन गरेको थिएँ ।

अरु एयरपोर्टमा त बोर्डिङ पास भएपछि ट्रान्सफरको सेक्युरिटी गेट पास गरेर डिपार्चर गेटतिर गइन्थ्यो । तर  यहाँ त एयरलाईन्सको कर्मचारी कतिखेर आउँछ भनेर ट्रान्स्फर डेस्कको अगाडि कुरेर बस्नु पर्नेरहेछ । उनीहरु आएर डकुमेण्ट हेरेपछि मात्र अर्को बोर्डिङ्ग पास दिने अरे । त्यस्तो  अन्त देखिएको थिइनँ । अवतरण र आगामी उडानको समय धेरै छ भने कुर्दा कुर्दै थाकिन्छ ।

म पनि कोही आउला र बोर्डिङ्ग पास देला अनि फुड कोर्टमा गएर केही खानुपर्ला भन्ने सोच्दै थिएँ ।

यस बीचमा दिल्ली एयरपोर्टको गुनासो व्यवस्थापन प्रणालीमा गुनासो दर्ज गरिसकेको थिएँ । एकजना पियुष शर्मा नाम गरेका मान्छे मलाई खोज्दै आए, के समस्या भयो भनि सोधे ।

मैले वाईफाई कोड दिने मेशिन बिग्रिएको र बोर्डिङ्ग पास हुँदाहँुदै यहाँ कुरेर बस्नु परेको कुरा बताएँ । उनले एथियोपियन एयरलाईन्सलाई फोन गरे अनि स्टाफ ब्रिफिङ भैरहेको र १५ मिनट जतिमा पठाउँछु भनेको छ भने । उनले वाईफाई मेसिन पनि बनाउन लगाए ।

साथै, पारस नाम गरेका उनको स्टाफलाई चिनाएर शर्मा आफू यतै हुने र केही समस्या भएमा उनलाई भन्न भने । म उनीहरुको कुरा गराइबाट प्रभावित भएँ ।

तर  कुरेको ४ घण्टासम्म कोही आएन । यस बीचमा पारस र भिस्ताराका कर्मचारीहरुले थुप्रै फोन गरे । अब आउँछु भनेको छ भन्छन् तर कोही आउँदैन ।  राती ११ः१५ तिर बल्ल कोही आयो  ।

काठ्माडौंमा दिएको बोर्डिङ पासले यहाँ काम नगर्ने रहेछ । ट्रान्स्फर डेस्कमा आएको कर्मचारीले अर्को बोर्डिङ पास प्रिन्ट पनि गर्यो तर मलाई एकछिन पर्ख न भनेर अरु दुई जनालाई चेक ईन गर्यो ।

दोस्रो यात्रुको चेक ईन प्रक्रिया कन्फर्म रिटर्न टिकट कि छैन भनेर गल्फत्ति हँुदा १५ मिनट जति लाग्यो । यात्रीसँग टिकट त छ तर सिस्टममा  देखाएन रे भन्दै निकै बाझ्यो । 

मलाई लागेको के हो भने यात्रा गरिराख्ने र बोल्न पनि सक्नेले त यस्तो दुःख पाइन्छ भने राम्रोसंग दोहोरो सम्वाद गर्न नसक्ने नेपाली यात्रुहरुलाई दिल्ली विमानस्थलमा कति दुःख दिइएको होला ?  

अब मेरो पालो आयो । म संग ‘ओके टु बोर्ड पत्र’ माग्यो । त्यस्तो पत्रबारे मैले पहिलोचोटि सुनेकाले मसँग हुने कुरै भएन । त्यो पत्र के हो र कसले दिन्छ भनेर सोधे तर त्यो कर्मचारीसंग प्रस्ट जवाफ थिएन । मलाई यो कुरा काठमाडौमै किन भनिएन भन्दा त्यहीको भिस्ताराको कर्मचारीले  एयरलाइन्सको छुट्टाछुट्टै नियम हुन्छ भन्यो ।

अन्तिममा हाम्रो मोजाम्बिकको अफिसले एथियोपियन एयरलाइन्सलाई एउटा लेटर इमेलमा पठाए हुन्छ भनेर इमेल ठेगाना  दियो । र, त्यो इमेल दिल्ली आएपछि फेरि आउँछु भनेर त्यो कर्मचारी हिँड्यो ।

राती १२ः२५ भैसकेको थियो । मोजाम्बिक अफिसको कन्ट्री डाइरेक्टरलाई ह्वाट्स एपमा फोन गरे अनि के लेख्ने भनेर ड्राफ्ट गरी पठाए । शुक्रबार राती भैसकेको भए पनि उनी कम्युटर नजिकै रहेछन् र तुरुन्तै दिएको इमेलमा त्यो लेटर पठाए । मैले इमेल पठाउँदा मलाई पनि कपी गर्न भनिएको थियो तर इथियोपियनको कर्मचारी ट्रान्फर डेस्कमा मरि गए आउँदैन । भिस्टारा र जिएमआरको कर्मचारीहरुले तारन्तार फोन गर्दा बल्ल बल्ल फोन उठाएर इमेल आएको छैन भन्छ ।

त्यो लेटर पठाउनु भन्दा अगाडि अर्को गलत सूचना पनि पाइयो । कसैले दिल्ली एयरपोर्ट ब्यवस्थापन गर्ने जिएमआरको स्टाफलाई ‘ओके टु बोर्ड’ को लिंक ईथियोपियनको वेवसाईटमा भएको र केही सूचना र डकुमेण्ट त्यहाँ भर्नुपर्ने र त्यो भर्न ५ मिनेट पनि लाग्दैन भन्यो ।

त्यसो त पारस पनि मलाई सहयोग गर्नै बसेका थियो । उसले र मैले त्यस्तो लिंक त के, सो बारेमा वेबसाईटमा कुनै सूचना, जानकारी भेटेनौँ । १ः३० बजेतिर बल्ल बल्ल ईथियोपियनको हु भन्ने एकजना यासिर नामक कर्मचारी आयो । उसलाई भिस्टाराको स्टाफले लेटर आएको छ, बोर्डिङ समय भैसकेको हुनाले छिटो गर्देउ भने । उसले मेरो कम्युटरमा हेर्यो र उसलाई फर्वार्ड गर्न भन्यो ।

उसले आफू चेक इन गर्ने मान्छे हैन । सुपरभाइजरलाई भनेर अर्को मान्छे पठाउँछु भनेर हिँड्यो । यसरी मलाई थोरै भए पनि आशा पलायो ।

यस बीचमा क्यानडामा आफ्नो हाकिमलाई आफ्नो अवस्था बताएर सम्पर्क गरिसकेको थिएँ ।

म इथियोपियनको कोही आउला र चेक इन गर्ला भनेर पर्खिराखेको थिएँ तर समय घर्कियो, कोही आएन । भिस्टाराको स्टाफले फोन गरे । बल्ल बल्ल एउटाले फोन उठाएर इमेल ढिलो आएकोले यो बोर्डिङ गेट बन्द भयो र यो फ्लाइटबाट मलाई अफ्लोड गरिएको छ भनेछ ।

त्यसो भए अब मैले के गर्ने ? म इथियोपियनको सिनियर मान्छेसँग कुरा गर्छु भन्दा यो फ्लाइट भएपछि कोही आउँछ र मसंग कुरा गर्छ भनियो । मलाई अब बिहानको फ्लाईटमा पठाउलान् भन्ने लागेको थियो ।

विहान ९ः३५ मा इथियोपियनको अर्को फ्लाईट थियो । तर कोही आएन । मैले भिस्टाराको स्टाफसँग लगातार जवाफ माँगिरहे । उनीहरुले पनि लगातार इथियोपियनको स्टाफलाई फोन गरिरहे । बल्ल बल्ल उठ्ने एक दुई फोनमा त्यो लेटरले हँुदैन । त्यो ‘ओके टु बोर्ड’ हैन, सो पत्र नभए जान मिल्दैन भन्यो भनियो । उनीहरु कोही पनि मलाई सही जानकारी दिन र अब मैले के गर्ने भन्न आएनन् । मैले अब अर्को कुनै उपाय देखिन ।

त्यसपछि मैले १७  जनवरीमा काठमाडौंबाट कतार भएर जाने अर्को टिकट बुक गरें । क्यानडामा मैले अफिसको सिस्टमअनुसार बुक गर्ने बित्तिकै अप्रुभ गर्न फाइनान्सको साथी स्टान्ड्बाइ थियो र तुरुन्त अर्को टिकट भयो ।

अब म काठमाडौं फर्किनुपर्ने भयो । भिस्टारालाई ३१ जनवरीको रिटर्न टिकटलाई आजैलाई सार्दि भनें । उसले आफ्नो कस्टमर केयर सेन्टरमा फोन गर भन्यो । मसँग लोकल सिम भए पो फोन गर्ने । उसैलाई गर भनेर अनुरोध गरेँ । उताबाट इथियोपियनको टिकट भएकोले उसैले यो प्रोसेस गर्नुपर्ने भन्यो । इथियोपियन सम्पर्कमै आउँदैन अब के गर्ने ।

मैले भिस्टाराको स्टाफलाई छोड भाइ, म अर्को टिकट काट्छु, इथियोपियनको टिकट के गर्नुपर्छ छुट्टै गरांैला भने । एयर इन्डियाको बिहान ७ः१० कै फ्लाईटमा फर्किने सोचेको, भ्याइएन ।

अफिसको सिस्टमबाट काठमाडौं–दिल्लीको सबै अप्सनहरु नदेखाउने र महँगो पनि पर्ने हुनाले इसेवाबाट टिकट काट्छु भनेर मोबाइल बैंकिङ एपबाट पैसा पनि ट्रान्स्फर गरेँ ।

पेमेन्ट कन्फर्मेसनको लागि मोबाइलमा कोड आउने रहेछ । तर मोबाइल रोमिङमा थिएन । कार्डबाट पैसा तिर्न खोज्दा पनि भएन । क्यानडियन बैंकले दिएको कर्पोरेट क्रेडिट कार्ड समेतले काम गरेन । काठमाडौंमा भाईहरुलाई भनेर इसेवाबाट एयर इन्डियाको दिउसो १२ः४० को टिकट काट्न लगाएँ  । टिकट आयो र केही समयको पर्खाइपछि ९ः३० तिर एयर इन्डियाले बोर्डिङ पास दियो र भिस्टाराले एयर इन्डियालाई लगेज ट्रान्स्फर गर्यो ।

यसरी १५ घण्टाको पखाई र अनिदो शरीर रातभर एक सेकेन्ड पनि निदाइकन, भोको पेट लिएर ट्रान्फर सेक्युरिटी पार गरेर फुड कोर्टमा गई मैसुरी डोसा खाइयो । ट्रान्सफर डेस्कबाट डिपार्चर गेटतिर जाँदा कोर्टबाटै छुटेर आएजस्तो लाग्यो । तत्पश्चात १२ः४० को एयर इन्डियाको उडानबाट पौने ३  मा  काठमाडौं विमानस्थलमा अवतरण  गरियो ।

यस बीचमा दिल्ली विमानस्थल व्यवस्थापन र भिस्ताराका कर्मचारीलाई म धन्यवाद नै दिन्छु । उनीहरुले सकेसम्म सहयोग गर्न खोजेका हुन्,  सकेनन् । भिस्टाराले दुई प्याकेट खानेकुरा पनि दिएको हो । इथियोपियन एयरलाइन्स चाहिँ अबेखि नचढ्ने  र दिल्ली ट्रान्जिट भएर नउड्ने प्रण गरें । अघिल्लो दिनको निन्द्रा पनि पुग्ने गरी १२ घण्टा सुते  ।

मैले अझै ‘ओके टु बोर्ड’ भनेको बुझेको छैन । इन्टरनेटमा  खोज्दा  खाडी देशहरुतिर जाने इन्डियनहरुलाई पेपर भिसा भएको खण्डमा पहिले नै त्यसको प्रमाणीकरण गर्नुपर्ने भन्ने कतै कतै देखियो । तर इन्डियाबाट नै खाडी देशहरु र इराक, सिरिया जस्ता देशमा जाने नेपालीहरुलाई नो अब्जेक्सनबाहेक केही चाहिने थाहा पाइएको थिइनँ । त्यो पनि इन्डियाबाट सोझै जानेलाई हो, ट्रान्जिट भएर जानेलाई हैन ।

दिल्ली एयरपोर्टको सिस्टममा मैले ४÷५ वटा कम्प्लेन गरिसकेको थिएँ ।  आइतबारइथियोपियनलाई लेखेर जवाफ खोज्ने प्रयन्त गरे तर वेबसाइटमार्फत् गरेको कम्प्लेनको जवाफ आएन । सोमबार १५ जनवरीमा  ईथिओपियनको दिल्लीस्थित स्टेसन म्यानेजर र मुम्बईमा बस्ने ईन्डियन उपमहादेशीय क्षत्रीय प्रबन्धकलाई दह्रो ईमेल लेखेर पैसा र सास्तीको क्षतिपूर्ति माग गरे । केही घण्टापछि जबाफ पनि पाइयो ।

सोलोमन नाम गरेका दिल्ली स्टेसन म्यानेजरले मसंग फोनमा पनि कुरा गर्न चाहे र लामै कुरा गरियो । मेरो इमेल पढेर र कुरो सुनेर उनी अचम्मित भए । अनि विनयशील भएर क्षमा पनि मागे ।

उनको अनुसार त्यसरी यात्रुलाई होल्ड गर्नु हुने थिएन । र, केही समस्या नै भए पनि त्यो उनको जानकारीमा आउनु पथ्र्यो । यसमा सरासर ग्राउन्ड ह्यानडलिङ्ग स्टाफको बदमाशी भन्ने देखियो । उनले सम्बन्धित स्टाफ पत्ता लगाएर सख्त कारवाही गर्ने र मलाई सबै जानकारी दिने बाचा गरेका छन् । साथै, मलाई अर्को ट्रिप ईथियोपियनबाट जाँदा बिजिनेस क्लासमा अपग्रेड  गर्ने वचन पनि दिएका छन् ।

अहिले म कतार भएर मोजाम्बिक पुगिसके । र, इथियोपियनको टिकटको पूर्ण रिफण्ड र  क्षतिपूर्तिको प्रक्रिया सुरु भएको छ । मैले अझै नबुझेको चाहिँ भिस्ताराको कर्मचारीहरुले कोसँग कुरा गरिराखेका थिए, जबकि सोलोमनको भनाइअनुसार सिनियर स्टाफहरुले जानकारी नपाएको देखिन्छ ।

मैले उनलाई काठमाडौँबाट आएको र अर्को उडानबाट अदिस अबाबा जाने एक यात्री किन आएन र कता अड्की राखेको छ भनेर किन खोजी भएन भनेर प्रश्न पनि गरे । उनले आफ्नो तर्फबाट पनि गल्ती भएकोमा क्षमा मागे ।

मलाई लागेको के हो भने यात्रा गरिराख्ने र बोल्न पनि सक्नेले त यस्तो दुःख पाइन्छ भने राम्रोसंग दोहोरो सम्वाद गर्न नसक्ने नेपाली यात्रुहरुलाई दिल्ली विमानस्थलमा कति दुःख दिइएको होला ? 

त्यस बीचमा कोरिया जान लागेका दुइजना नेपाली भाइहरुलाई प्लेन छुटेकोले अर्कै टिकट काट्न लगाएको पनि देखियो । दाइ हामीले सोध्दा रिसाउँछन् भन्दिनुस् न भनेर अनुरोध गरे । शायद मैले अंग्रेजीमा कुरा गरिराखेको देखेर होला, त्यसरी अनुरोध गरेका रहेछन् । तर आफ्नै  बेहाल भै तनावमा भएकाले जोगीको घरमा सन्यासी पाहुना भन्ने उखानजस्तै मैले उनीहरुको समस्याको बारेमा केही पैरवी गर्न सकिनँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सलिल भट्टराई
सलिल भट्टराई
लेखकबाट थप