शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री यादव

मङ्गलबार, १० माघ २०७९, २२ : १६
मङ्गलबार, १० माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए ।

उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए । “सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु”, मुख्यमन्त्री यादवले रासससँग भने, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ । अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”

मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उनी बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पारे ।  

मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उनीसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए । जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीन जना मन्त्रीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।  

“सुरुमा दलहरुबीच छलफल गर्नुपर्ने थियो, पछि म आफैँ पनि काठमाडौँ जानुपर्ने भएपछि केही समय ढिला हुन गयो”, मुख्यमन्त्री यादवको भनाइ थियो, “अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप