शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, हाम्रो नेपाली र समाजवादीलाई समेट्ने मुख्यमन्त्रीको योजना असफल

बुधबार, ११ माघ २०७९, ०९ : ४६
बुधबार, ११ माघ २०७९

मकवानपुर । बागमती प्रदेश सरकारलाई आज पूर्णता दिइने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई आज पूर्णता दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार  मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको ३ सदस्यीय मन्त्रिपरिषद्मा आज थप ८ मन्त्रीले नियुक्त हुनेछन् । नवनियुक्त मन्त्रीहरूको आज दिउँसो २ बजे  पद तथा गोपनीयताको शपथ लिने तय भएको छ ।

मन्त्रिपरिषद्लाई आज पूर्णता दिने भनिए पनि सत्ता गठबन्धन दलहरू बीच भागबन्डा विवाद भने अझै मिल्न सकेको छैन । भागबन्डा मिलाउन गठबन्धन दलहरू बीच मङ्गलवार रातिभर भएको छलफलबाट ठोस निष्कर्ष ननिस्किँदा थप समस्या भएको हो । सत्ता गठबन्धनका मुख्य दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीच मङ्गलवार राति मन्त्रालय भगबण्डाका विषयमा छलफल भएको मुख्यमन्त्री जम्कट्टेलको सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सो छलफलमा दलहरुका तर्फबाट मन्त्रालयहरूमा आआफ्नो दाबी राखिएको भए पनि ठोस सहमति जुट्न सकेन । 

नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने भनिए पनि राप्रपाले असहमति जनाइरहेको छ । राप्रपाले थप एक मन्त्रालय दाबी गरिरहेको छ । मङ्गलवार रातिको छलफलमा गठबन्धनबाट एमालेले प्रदेशको ५ मन्त्रालयमा दाबी गरेको बुझिएको छ भने माओवादी केन्द्रले ४ र राप्रपाले ३ मन्त्रालयमा आफ्नो दाबी राखेका थिए । उक्त विषयमा एमालेलाई ४ र माओवादी केन्द्रलाई ४ र राप्रपालाई ३ मन्त्रालय भागबन्डा गर्ने मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावमा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले असहमति जनाएका थिए । 

हाम्रो नेपाली पार्टीले सरकारमा सहभागी हुन खोजे पनि सत्तारुढ ठुला दलले बेवास्ता गरेको जनाएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता एवम् विना विभागीय मन्त्री उद्धव थापा भने ३ मन्त्रालय राप्रपाले पाउनु पर्नेमा अडिग रहेको बताए । 

सरकारलाई समर्थन दिएका दुई हरुलाई गठबन्धनबाट हटाउँदा समेत भागबन्डामा समस्या देखिएको हो । गत पुस २५ गते सरकारको मुख्यमन्त्रीमा दाबी गर्दा हाम्रो नेपाली पार्टी र नेकपा एकीकृत समाजवादीले समेत जम्कट्टेललाई समर्थन दिएका थिए । सोही अनुसार उनीहरुले माघ ३ गते मुख्यमन्त्री जम्कट्टेललाई संसदबाट विश्वासको मत समते दिएका थिए । हाम्रो नेपाली पार्टी सत्ता गठबन्धन दल अनुसार नै प्रदेशको सभामुख र उपसभामुखको निर्वाचनमा समेत गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गरेको थियो । मुख्यमन्त्री जम्कट्टेललाई  एकीकृत समाजवादीका ७ जना र हाम्रो नेपालीका २ सांसदले विश्वासको मत प्रदान गरेका थिए । 

बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले मन्त्रिपरिषद्मा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने दाबी गरे ।   दुवै दलहरू अहिले मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा नसमेटिने भएका छन् । सत्ता गठबन्धन मुख्य दलहरू बीच नै भागबन्डा नमिलेपछि दुवै दलहरू सत्ताको रेसबाट बाहिरिएका हुन् । दुवै दललाई सरकारमा समेट्ने मुख्यमन्त्री जम्कट्टेलको चाहनामा आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले आपत्ति जनाएका थिए । थपलियाले मुख्य ३ दल भए सरकार टिक्ने भएकाले अन्य दुई दललाई सरकारमा सहभागी गराउन नहुने तर्क गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप