सेवाग्राही नहुँदा कार्यालय कुर्ने मात्रै काम

मनाङ । मनाङमा बुधबारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेंसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिलागरी परे पनि यहाँका कार्यालयका कर्मचारी जिल्लामा नै बस्नुपरेको छ ।
सेवाग्राही जिल्लामा नहुँदा यहाँका कर्मचारीलाई कार्यालय कुर्ने मात्रै काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए । “यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर गएका छन्, त्यसैले अधिकांश कार्यालयमा सेवाग्राही आउने कुरा भएन”, विष्टले भने, “कार्यालय कुर्ने मात्रै काम भएको छ ।”
चिसोले गर्दा यहाँका विकास योजनाका काम सबै ठप्प छन् । केही स्थानमा विकास निर्माणका काम आंशिकरुपमा भइरहेकाले अनुगमनलगायतका कार्य भने गरिरहेको उनले बताए । मनाङमा हिउँ पर्नुपर्ने भए पनि अहिलेसम्म पर्याप्त मात्रामा परेको छैन । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्लापास गर्न यहाँ बाह्य पर्यटक आउनेक्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताए।
“हिउँ पर्दा आन्तरिक पर्यटक बढ्थे, हिउँ नपरे पनि यहाँ दैनिकजसो बाह्य पर्यटक आइरहेका छन्, जसले गर्दा यहाँ बसेर सेवा दिइरहेका छौँ”, उनले भने । सेवाग्राहीको भिडभाड नभए पनि सेवा दिइरहेको गौतमले बताए ।
सेवाग्राही नहुँदा अहिले यहाँ कुनै कार्यक्रम भएका छैनन् । विकास निर्माण ठप्प छ । काम नभएपछि भुक्तानीका काम पनि ठप्प जस्तै रहेको यहाँका कर्मचारी बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले कामको चाप नभए पनि सेवाग्राहीबाहेक अन्य प्रशासनिक कार्य गरिरहेको बताए।
बुधबार मात्रै आंशिकरुपमा माथिल्लो मनाङमा हिमपात भएको उनले बताए । हालसम्म आवश्यकमात्रामा जिल्लामा हिमपात भने भएको छैन । यस वर्ष हिउँ ढिला गरी पर्ने देखिएको छ । हिउँ ढिला पर्दा मनाङवासी ढिला गरी जिल्ला फर्किने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
-
सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष