शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

शुक्रबार, १३ माघ २०७९, १४ : ४८
शुक्रबार, १३ माघ २०७९

कास्की । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि  पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ ।  अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरि सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका  थिए । तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवं होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी  दिए ।  

“अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उनले भने । हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उहाँको भनाइ छ ।  यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् । होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या घटेको बताउँछन् । उनले भने, “विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उनका अनुसार होटल सरोवरमा  जनवरीमा ६० र फेबु्रअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउँछन् । उनले भने, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उनले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताए । 

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उनले भने । उनका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् । 

जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको  र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिइन् । उनले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवं अन्य पर्यटक पनि नआएको उनको भनाइ छ ।   

माघ १ मा काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप