बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाँध कमजोर हुँदा बर्खायाममा पानीको विकल्प खोज्नुपर्ने बाध्यता

शनिबार, १४ माघ २०७९, ०९ : ३०
शनिबार, १४ माघ २०७९

नुवाकोटको विदुर नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन व्यवस्थित पाइपलाइन र ट्याङ्की निर्माण भएपनि बाँध जीर्ण बनेको छ । निर्माणको चरणमा क्षति पुगेको बाँध अहिले उपभोक्ताले माटोको चपरीलाई ढुङ्गा र प्लास्टिकले थुनेर पानी नियमित सञ्चालन गराएका छन् । ‘विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’ मार्फत सञ्चालन हुने सो योजना मर्मतसम्भारको लागि करिब एक अर्ब लगानी भएपनि जीर्ण बाँध व्यवस्थित नहुँदा बर्खायामको पाँच महिना मुहानको विकल्प खोज्नुपर्ने भएको हो । संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठका अनुसार ‘तेस्रो साना सहरी खानेपानी आयोजना’ मार्फत लगाइएको ठेक्काको जिम्मेवारी पाएको कम्पनीले प्रभावकारी काम नगर्दा आयोजनाको बाँध कमजोर बनेको छ । 

उनका अनुसार विदुर नगरपालिकाभित्रको अधिकांश घरमा पानी पुर्याउने उद्देश्यले उपभोक्ताको साझेदारीमा कार्यान्वयनमा ल्याइएको योजनाको पाइपलाइन र ट्याङ्की व्यवस्थित भएपनि बाँध कमजोर हुदाँ आयोजनाले हरेक वर्षको बर्खायाममा पानीको विकल्प खोज्नुपर्ने बाध्यता बनाएको छ ।

“फलाखु खोलामा माटोलाई ढुङ्गा र प्लास्टिकले थुनेर पानी ल्याउन परेको छ”, समितिका अध्यक्ष श्रेष्ठले भने, “निर्माण व्यवसायीले बनाएको बाँध काम पूरा नहुँदै क्षति पुग्यो । उसले मर्मत नगर्दा प्लास्टिकले थुनेर काम चलाएका छौँ । खोलामा बाढी आउने बित्तिकै बगाउँछ । पाँच हजार घरधुरीमा ल्याएको पानी बन्द हुन्छ ।”

नगरपालिकाभित्र बसोबास गर्ने बासिन्दालाई अबको ५० वर्षसम्म चौबीसैँ घण्टा पानी उपलब्ध गराउने लक्ष्यले सञ्चालनमा ल्याइएको उक्त योजनामार्फत हाल चार हजार दुईसय घरधुरी उपभोक्ता लाभान्वित छन् । 

आयोजनाको बाँध र उपभोक्ताको घरमा वितरण गरिएको पाइपलाइनमा समस्या हुँदा अहिले नै एक हजार घरधुरीमा पाइप पुगेपनि पानी पुर्याउन नसकेको उपभोक्ता संस्थाका उपाध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार मूल पाइप लाइन व्यवस्थित भएपनि उपभोक्ताको घरघरमा वितरण गरिएको पाइपलाइनको ग्रेडिङ (लेभल) नमिल्दा पाइप पुग्यो पानी पुगेन । 

“बाँध (बेत्रावतीस्थित फलाखुखोला)बाट बट्टारस्थित दिवाकर डाँडासम्म (१४ दशमलव पाँच किमि दूरी) पानी ल्याएको पाइपमा प्रतिसेकेण्ड ८० लिटरको दरले पानी आए पनि कोलनीस्थित एक हजार उपभोक्ताको घरमा पानी पुर्याउन सकिएको छैन”, उपाध्यक्ष न्यौपानेले भने, “निर्माण पक्षको ढिलासुस्ती र प्रभावकारी काम नहुँदा विदुर ८ र ९ का एक हजार घरमा पानी नचढ्दा आयोजनाको सफलतामा प्रश्न उठेको छ ।”

नगर विकास कोषको सहुलियतपूर्ण ऋण सहयोगमा उपभोक्ताको समेत २५ प्रतिशत लगानीमा ‘तेस्रो साना सहरी खानेपानी आयोजना’को अनुदानमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । उक्त योजनामा उपभोक्ताको लगानीअन्तर्गत हरेक वर्ष संस्थाले रु एक करोड ५० लाखको दरले अब रु २४ करोड ७३ लाख तिर्न बाँकी छ ।

निर्माण व्यावसायीले आयोजनाको निर्माणको काम पूरा भएको भन्दै जिम्मेवारीबाट पन्छिएको छ ।  निर्माण व्यवसायीसँगको सम्झौता अनुसार मर्मतसम्भारको अवधि पनि आगामी वैशाख ५ मा सम्पन्न हुँदैछ । योजना पूरा भएपनि काम प्रभावकारी नहुनुलाई निर्माणको जिम्मा लिएको व्यवसायीको लापर्बाही भएको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीले बताए। 

उनका अनुसार ‘तेस्रो साना सहरी खानेपानी आयोजना’ले नै निर्माणको ठेक्का लगाएको कारण उपभोक्ता संस्थालाई कारबाही अधिकार नहुँदा निर्माण व्यवसायीको लापर्बाहीमा मौन बस्न उपभोक्ता संस्था र उपभोक्ता बाध्य छन् । “परामर्शदाता कम्पनीले औँल्याएका त्रुटि पूरा गर्न आयोजना पक्षले निर्माण व्यवसायीलाई गर्नुपर्ने ताकेतादेखि बजेट रोक्नुपर्नेमा त्यसो गरेको पाइएन”, अध्यक्ष त्रिपाठीले भने, “करिब रु एक अर्ब लगानी गरिएको आयोजनाको बाँध खेतबारीमा पानी ल्याउन थुनेको सिँचाइ कुलोको भन्दा कमजोर छ । ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप