बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘घर भाडामा लिएर मन्त्रालयका काम गर्छौँ, तर जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउँछौँ’

आइतबार, १५ माघ २०७९, १२ : २५
आइतबार, १५ माघ २०७९

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । गत पुस २९ गते मुख्यमन्त्रीसँगै बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका उनले माघ १२ गते भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका हुन् । महोत्तरी ४(१) बाट निर्वाचित मन्त्री यादवले नेकपा (एमाले)का तर्फबाट उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी नेकपा (एमाले) मधेश प्रदेशका दलका नेता पनि हुन् । 
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका यादवको मधेश प्रदेशलाई समृद्ध बनाउने योजना के छ ? अगामी दिनमा कस्तो मधेश प्रदेशको परिकल्पना गर्न सकिएला ? मधेश प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले)ले मधेशका मुद्दालाई कसरी सम्बोधन गर्छ ? लगायत प्रश्नमा केन्द्रित रहेर मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवसँग रातोपाटीका लागि अमरेन्द्रकुमार यादवले गरेको कुराकानी :

अबको मधेश प्रदेश कस्तो बन्छ ? के परिकल्पना गर्नुभएको छ ?
प्रत्येक जिल्लामा एउटा एउटा प्रदेशस्तरीय गौरवको योजना सञ्चालन गर्नुपर्छ । त्यसका लागि मन्त्रालयका विभिन्न खुद्रे योजना रोक्नुपर्छ । त्यस्तो योजना सञ्चालन गर्दा प्रदेश सरकारको वा भौतिक पूर्वाधार विकास मन्त्रालय वा अन्य कुनै मन्त्रालयको लगानीमा परिणाम देखिने खालको योजना सुरु गर्नुपर्छ । यो कार्य मबाटै सुरु हुन्छ । 

अझै पनि सङ्घीयता परिपक्व र दर्बिलो भइसकेको छैन । सङ्घीयतालाई मजबुत बनाउन प्रदेशको मन्त्रिपरिषद्का सदस्यहरूले निष्ठापूर्वक काम गर्नुपर्छ । त्यसो नभए जनमानसमा वितृष्णा पैदा हुन्छ । प्रदेश सरकार बेकारमा गठन भएजस्तो आभास हुन्छ । प्रदेश सरकार अनियमितता, स्वेच्छाचारिता र कार्यकर्ता पालनपोषण गर्ने केन्द्रजस्तो मात्र भयो भने जनता खुसी हुँदैनन् । तर त्यो अवस्था पनि छैन । यही कारण सरकारको मन्त्री भएपछि सरकारकै नजरबाट हेर्छु । 
त्यसैले म अहिले धेरै बोल्नेभन्दा काम गरेर देखाउने मनस्थितिमा छु । मैले आजै भनेँ, सप्तरी र पर्साका बीचमा लोकमार्ग बनाउनुपर्छ । अबको एक, दुई दिनभित्रै सर्भेका लागि सम्झौता हुन्छ । सर्भे हुनेवित्तिकै काम पनि सुरु गरिहाल्छौँ । असन विस्तारै सङ्घीयताको औचित्य पुष्टि हुँदै जानेछ । 

विभिन्न विचारधारा बोकेका दललगायत सङ्घीयता अस्वीकार गर्नेहरूसमेत यो सरकारमा सहभागी छन्, यस्तो अवस्थामा सरकारले कसरी स्थायित्व पाउला ?

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनिसकेको छ । ऐन, कानुनअनुसार सबै खालका विचारधारा भएका व्यक्ति तथा पार्टीलाई जनताले निर्वाचित गराएर पठाएका छन् । अहिले कुनै पनि प्रदेशमा कुनै पनि दलसँग बहुमत छैन । यसको अर्थ सबै दल मिलेर प्रदेश बनाऔँ भन्ने सन्देश जनताले दिएका हुन् । एउटा उन्नत र राम्रो विचारको प्रतिपादन गर्न र राम्रो कार्यक्रम ल्याऊन् भन्ने सन्देश जनताले दिएका हुन् । यस्तो अवस्थामा सङ्घीयताको विषयमा कसैले फरक विचार राखे भने पनि केही खराब हुँदैन । 
सङ्घीयतालाई जनताले गम्भीरताका साथ लिएका भए यो अवस्था आउँदैन थियो । तर पनि जनताले ९० प्रतिशतभन्दा बढी मत सङ्घीयता पक्षघरकै पार्टीलाई दिएका छन् । 
त्यसैले सङ्घीयता कार्यान्वयन गर्न धेरै कठिन छैन । अब सबै दललाई मिलाएर सरकार वा सदनमा ‘लाइक माइन्डेड’ (विचार मिल्ने) कार्यक्रम र केही नमिले सकेसम्म न्यूनतम साझा कार्यक्रम बनाएर दलहरूबीच एकरूपता हुन्छ । सङ्घ र प्रदेशहरूमा पनि यसरी नै सरकार बनेका छन् । 

सत्ता समीकरणकै लागि मात्र दलहरूबीच सहमति भयो कि मधेश प्रदेशमा केही गर्ने ठोस मुद्दामाथि पनि सहमति भयो ? 
अहिले दलहरूको नेतृत्व मधेश प्रदेशका सदनमा छ । उहाँहरूको इमानदारिता र विशेषज्ञतामापथि शङ्का गर्नुपने अवस्था छैन । सबै जना सिङ्गो प्रदेश कसरी सबल र समृद्ध हुन्छ भन्नेमा केन्द्रित हुनुहुन्छ । यसमा केही कम वा केही बेसी छैन ।  
अर्को विषय, जहाँ हामी अहिले बसिरहेका छौँ, यो जनकपुर चुरोट कारखाना लिमिटेडको क्वाटर थियो अर्थात् सिगरेट कारखाना थियो । यो क्षेत्र हामीले अविलम्ब छोड्नुपर्छ भनेर मैले अस्ति नै प्रस्ताव राखेको थिएँ । 
यहाँ उद्योग नै स्थापना गर्नुपर्छ । हाम्रो सदन वा क्वार्टर अरू नै ठाउँमा बनाऔँ । यहाँ त उद्योग नै सञ्चालन गर्नुपर्छ । यसबाट मधेशका अधिकांश बेरोजगार जनताले रोजगार र सेवा पाएर लाभान्वित हुनेछन् । 
बन्द उद्योग खुलुन्, बन्द भएका कलकारखाना खुलुन् भन्ने विषयमा सबै  एकमत हुनुहुन्छ । यस विषयमा सङ्कल्प प्रस्ताव पनि पारित गर्ने तयारीमा छु । त्यसैले केही दिन भाडामै बसेर, घरबाटै मन्त्रालय आउजाउ गरेर भए पनि उद्योग सञ्चालन वा चुरोट कारखाना पुनः सञ्चालना ल्याउने छौँ । 

हामीले के योगदान गर्नुपर्छ, तयार छौँ । अहिले त बाध्यतावश सरकारले हस्तक्षेप गरेर यो ठाउँमा बसिरहेको छ । किनभने सरकारसँग अहिले त्यस्तो कुनै संरचना पनि छैन । अघिल्लो सरकारले पनि मन्त्रालयको व्यवस्थापन पनि गर्न सकेन । यसमा मेरो पूर्णयता प्रतिबद्धता छ । मेरै मन्त्रालयको नेतृत्वमा प्रदेश सभाका भवन, सचिवालयका भवन, संसद् भवन, प्रदेश सभाका मन्त्रीहरूको प्रशासनिक भवन वा प्रदेश सभाको मन्त्रीहरूका लागि आवासीय भवन निर्माणको परियोजना लिएर सङ्घीय सरकारसमक्ष धाइरहेको छु । 
यो उद्योग प्रदेश सरकारले नै आफ्नो मातहतमा सञ्चालनमा ल्याउँछ । सञ्चालनमा आएपछि सामाजिक उत्तरदायित्वलाई असर पार्ने पनि प्रश्न आउन सक्छन् । तर यसलाई पूर्ण व्यावसायीकरण गरी देशमा मात्र होइन विदेशसमेत निर्यात हुन्छ । यसले बेरोजगारी घटाउने र मुलुक पनि समृद्ध हुन्छ भन्ने मैले विश्वास लिएको छु । 
सरकारले सुर्तीजन्य पदार्थ सेवन नगरौँ भनेर जनचेतना फैलाउने काम गर्छ । यसतर्फ सरकार विशेष केन्द्रित हुन्छ । सामाजिक उत्तरदायित्वलाई प्रदेश सरकारले भुल्दैन भन्नेमा म ढुक्क छु । 

गत निर्वाचनपछि मधेशमा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ, अब मधेशका मुद्दालाई तपाईंको पार्टीले कसरी सम्बोधन गर्छ ? 

मधेशका मुद्दा मलाई धेरै भिराह (भारी) लागिरहेको छ । यो राष्ट्रको मुद्दा हो, मधेशको मात्र होइन र मधेशको मात्र नभनौँ । मधेश नेपालको एउटा प्रदेश हो । यहाँका जनताको कुनै पीडादायी विषय होला, त्यो मधेशका जनताको मात्रै होइन राष्ट्रिय नागरिकको पीडा हो । यो त राष्ट्रको विषय बन्नुपर्ने हो । त्यसैले मधेशको एजेन्डा राष्ट्रिय एजेन्डा नबनेसम्म थपडी बजाएर बस्दिनँ । मधेशको एजेन्डा देशको एजेन्डा बनेपछि मात्रै समस्याको समाधान हुन्छ । यसका लागि हामी अन्त्यसम्म पुग्छौँ । त्यसका लागि म नेतृत्व गर्छु, आन्दोलन थाल्छु । 
मधेशी जनताले मधेश प्रदेशमा नेकपा एमालेलाई सबैभन्दा ठूलो दलको रूपमा स्थापित गरिदियो । अब हामी त्यो आवाजलाई सम्बोधन गर्छौं । मधेशी जनताको मुद्दा सम्बोधन हुन्छ । पछिल्ला दिनमा नेकपा एमालेबाट प्रदेशको नेतृत्व गरिरहनुभएका नेताहरूले केन्द्रीय नेतृत्वलाई कन्भिन्स गर्नसक्नुभएन होला । 

तपाईं नेतृत्वको मन्त्रालयले अगामी दिनमा सडक निर्माणको मात्र काम गर्छ कि अन्य विकासका कार्य पनि गर्छ ? एकथरी जमात त सडक निर्माणलाई मात्र विकास ठान्छन् नि ? 

प्रदेशको समग्र विकासका लागि यो मन्त्रालयको हात अवश्य हुन्छ, जसको सदस्य म छु । यसमा मुख्यमन्त्री अध्यक्ष र सबै मन्त्रीहरू यसका सदस्य हुन्छन् । मधेश सरकारको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाएर हामीले गर्न सक्ने गर्छौं, हामीले नसक्ने सङ्घबाट सम्बोधन गराउँछौँ । 

ठूलो दल भएर पनि पदीय बाँडफाँटमा कहिल्यै विवाद भएको देखिएन, किन होला ?

सबैभन्दा गम्भीरता हामीले प्रस्तुत गरेको छौँ । हामीले २३ वटा सिट जितेका थियौँ । अहिले प्रदेशमा नेकपा (एमाले)बाट नेतृत्व गर्ने २५ जना सांसद छन् । म त्यो दलको दलको नेता छु । त्यसैले मलाई कतिपय सञ्चारकर्मीहरूले तपाईंहरूको दाबी के छ भनेर पनि सोध्नुभयो । मैले दाबी के गर्ने ? मैले त व्यवस्थापन गर्ने हो नि । 

मेरो नेतृत्वमा सरकार बनेको छ तर मैले नेतृत्व गरेको छैन । गठबन्धनको नेतृत्व सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले गरेको छ । केन्द्रमा पनि एमालेले नै नेतृत्व गरेको छ । हामीले जे पायौँ त्यसमा राम्रो गर्छु । मन्त्रालय लिएर मात्रै हुँदैन, समग्रतामा सरकारले कसरी काम गर्छ त्यसले  फरक पर्छ । त्यसमा ध्यान दिनुपर्छ । 

व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । हाम्रो स्वार्थ केही छैन, । प्रदेशमा ठूलो दल भए पनि अहिले मुख्यमन्त्री जसपालाई दिएका छौँ, अढाई वर्षपछि जनमत पार्टीको हुनेछ । यो हाम्रो सहमतिमा भएको हो । त्यसै राम्रो काम गरेर, राम्रो छाप छोडेर एमाले जान्छ । सम्बन्धित मन्त्रालयमा आफ्नो प्रभाव छोडेर जान्छ । योभन्दा अगाडिका  अनियमिततालाई समाप्त र राम्रो कामलाई स्थायित्व एमालेले दिन्छ ।

महोत्तरीवासीलाई के सन्देश दिन चाहनुहुन्छ ?

महोत्तरीवासीलाई हृदयबाट धन्यवाद दिन चाहन्छु । तपाईंहरूले जुन नेतालाई भोट दिनुभयो उसले पहिलो पटक मधेश प्रदेशको समग्र भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गरिहरको छ । तपाईंहरूको भोट कामयाब रह्यो । तपाईंहरू प्रतिनिधिलाई सदनमा पठाउनुभयो । अहिले म सदनबाट सरकारमा गएको छु । 
सरकारमा गएपछि आफ्नो क्षेत्रको, जिल्लाका जनताको भावनाको प्रतिनिधित्व गर्छु नै । तर पनि समग्र प्रदेशको जनताको प्रतिधित्व गर्ने काबिल बनाइदिएकोमा मुरीमुरी धन्यवाद भन्दै नमन गर्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप