शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रविधि

सरकारी वेभसाइटमा ‘डीडीओएस अट्याक’ : सबै सर्भर पूर्ण नियन्त्रणमा

आइतबार, १५ माघ २०७९, १८ : ०९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । विदेशबाट सरकारी वेभसाइटमा ‘डिस्ट्रिब्युट डिनाइल अफ सर्भिस अट्याक’ (डीडीओएस) हुँदा घन्टौँसम्म अवरुद्ध बनेको ‘जीओभी डट एनपी’ सर्भर पूर्णरुपमा नियन्त्रणमा आएको छ । शनिबार एकै पटक विदेशबाट डीडीओएस अट्याक हुँदा ५ घण्टासम्म सरकारी वेभसाइट डाउन भएका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले घन्टौँको प्रयासपछि विदेशी मुलुकबाट आएको आक्रमण रोकेर सर्भरलाई नियन्त्रणमा लिइएको बताए । उनले शनिबार नेपाल सरकारको आधिकारिक सर्भर जीओभी डट एनपीमा फ्रान्स, जर्मनी र इजरायल लगायतका मुलुकबाट आक्रमण भएको बताए ।

केन्द्रका अनुसार नेपाली सर्भर ह्याक गर्ने लक्ष्य नदेखिए पनि दुःख दिने चाहना देखिएको पाइएको छ । शनिबार ५ घण्टासम्म डाउन भएको सर्भर केन्द्रका प्राविधिकले नियन्त्रणमा लिएका थिए । तर, आइतबार बिहान पुनः करिब १ देखि डेढ घण्टासम्मको अवधिमा सर्भर डाउन भएको थियो । जुन, यतिबेला पूर्णरुपमा सरकारी नियन्त्रणमा आइसकेको छ ।

जीओभी डट एनपी वेभसाइटमा समस्या आउँदा शनिबार सबै काम प्रभावित बनेका थिए । सबैभन्दा धेरै प्रभावित नागरिक उड्डय क्षेत्र बनेको थियो । अध्यागमनको वेभसाइट डाउन हुँदा अन्तर्राष्ट्रिय उडानहरु घन्टौंसम्म रोकिएका थिए । फ्लाइट कन्ट्रोल गर्ने सिस्टम नचल्दा हवाई उडानको क्षेत्र प्रभावित बनेको थियो ।

केन्द्रका प्रवक्ता पोखरेलले कम्प्यूटरमार्फत जीओभी डट एनपीमा एकै पटक लाखौं रिक्वेस्ट पठाउँदा ट्राफिक बढेर सर्भर डाउन भएको बताए । नेपालमा वेभसाइटको क्षमताभन्दा बढी क्लिक पठाउँदा सर्भरमा समस्या आएको उनको भनाइ छ ।  सबै वेभसाइटहरु प्रतिमिनेट वा प्रतिसेकेन्ड आउने अधिकतम क्लिकको प्रक्षेपण गरेर डिजाइन गरिएको हुन्छ । तर, एकैपटक लाखौं क्लिक पठाउँदा सर्भर नै डाउन हुने समस्या हुन्छ ।

शनिबार साढे १२ देखि नियन्त्रणबाहिर गएको सर्भर बेलुका ५ बजे नियन्त्रणमा लिइएको थियो । तर, आइतबार बिहानै पुनः डीडीओएस अट्याक आउँदा सर्भर डाउन भएको थियो ।

सम्भावित साइबल आक्रमण रोक्न यतिबेला केन्द्रले २४ घन्टा नै प्राविधिक तैनाथ गरेको छ । प्राविधिकले विदेशबाट आउने अप्रत्यासित अट्याकलाई नियन्त्रण गरिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप