बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इरान र साउदी अरेबियाले छिट्टै वार्ता गर्ने

सोमबार, १६ माघ २०७९, १३ : ५८
सोमबार, १६ माघ २०७९

तेहरान । इरान र साउदी अरेबियाले आफ्नो द्धिपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् ।  सो जानकारी इरानका विदेशमन्त्रीले दिएका हुन् । इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दुई देशबीचमा आगामी केही समयमा नै वार्ताको तयारी भएको जानकारी दिनुभएको इरानी समाचार समिति इर्नाले सोमबार जनाएको छ । 
उनले इरानको राजधानी तेहरानमा आइतबार आफ्ना कतारका समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी दिएको इर्ना समाचार समितिको समाचारमा जनाइएको छ । दुई देशका बीचमा केही असहज हुन पुगेको सम्बन्धलाई सहज बनाउने गरी सो वार्ता हुन लागेको उनले जानकारी दिएको बताइएको छ । हाल इरानको भ्रमणमा रहेका कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लारहमान अल थानी र इरानका विदेशमन्त्रीका बीचमा आइतबार तेहरानमा द्धिपक्षीय वार्ता भएको थियो ।

सो वार्तापछि आइतबार नै राजधानी तेहरानमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो पत्रकार सम्मेलनमा इरानका विदेशमन्त्री अब्दोल्लाहिनले इरानले आफ्ना छिमेकी देशहरु संयुक्त अरब इमिरेट्स र कुवेतसँगको सम्बन्धमा सुधार ल्याएको र ती देशमा इरानले राजदूत पनि पठाइसकेको भन्दै अब साउदी अरबसँग पनि आपसी वार्ता हुने र सम्बन्धमा सहजीकरण आउने जानकारी दिएका थिए ।

सन् २०१६ मा इरानमा रहेको साउदी अरेबियाको कूटनीतिक नियोगमा आक्रमण भएपछि साउदी अरेबियाले इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप