शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा चन्दा आतंक मच्चाउने ४ जना पक्राउ

सोमबार, १६ माघ २०७९, १५ : ४८
सोमबार, १६ माघ २०७९

कपिलबस्तु । चन्दा आतंक मच्चाएको आरोपमा कपिलवस्तुबाट चारजना पक्राउ परेका छन् । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको जनाइएको हो । 

प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन् ।

गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलावद्ध आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विक्रान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्दलगायतका विभिन्न ७ बुँदे मागसहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।

त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । २६ पुर र २ माघमा कृष्णनगर नगरपालिका वडा नं. ८ मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ ।

माघको २ देखि १३ गतेसम्म शिवराज नगरपालिका वडा नं. ७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए । मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा १३ माघमा बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरूको सूचनाको आधारमा प्रहरीले विक्रान्तभन्ने जग्गु तेली र जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज बताउने विपिन विक पनि पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप