शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन

सोमबार, १६ माघ २०७९, २० : ०८
सोमबार, १६ माघ २०७९

नुवाकोट । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । 

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए ।

“जातीय पहिचानका रूपमा विशेषगरी पहिरनलाई लिने गरिन्छ । चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोसाक लगाउने बानी बसिसकेको अवस्था छ । विद्यालय आउँदा विद्यालयको पोसाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो”, अध्यक्ष तामाङले भने, “मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय÷सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।”

गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो  । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् । 

शिक्षा ऐनअनुसार आंशिकरूपमा भए पनि हरेक हप्ताको बुधबार सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन हुने गरेको शिक्षा अधिकृत शेरसिंह रावतले बताए । “चालु शैक्षिक सत्रको सुरुआतदेखि नै हरेक हप्ताको बुधबार मौलिक पहिरनमा विद्यालय सञ्चालन गर्ने भन्ने शिक्षा ऐन लागू भएको हो । हालसम्म शतप्रतिशतमा लागू भइसकेको अवस्था भने होइन । यस अभियानलाई शतप्रतिशत पु¥याउन निरन्तर विद्यालयहरुलाई झक्झकाइरहेका छौँ”, रावतले भने, “प्रायः निजी विद्यालयहरूले हप्तामा एक दिन बाहिरी पोसाकमा विद्यालय सञ्चालन गरिरहेको हुन्छन् । त्यसलाई अनुसरण गर्दै बाहिरी पोसाकमा पनि मौलिकता झल्कने पोसाकमा जोड दिन सकियो भने परम्परागत संस्कृतिको जगेर्ना हुन्छ भनेर यो शिक्षा ऐन ल्याएका हौँ । विद्यार्थीहरू पनि फरक पहिरनमा खुसी हुन्छन् ।”

पाठ्यपुस्तकमा परम्परागत जातीय पहिरन, संस्कार, संस्कृतिका बारेमा प्रशस्त उल्लेख गरिएको हुन्छ । विद्यार्थीहरूले सैद्धान्तिकरूपमा त्यस विषयको ज्ञान लिइरहेको हुन्छ । हप्तामा एक दिन मौलिक पहिरनमा विद्यालय सञ्चालन हुँदा व्यावहारिक ज्ञान विद्यार्थीहरूले प्राप्त गरिरहेको म्यागङ गाउँपालिका–२ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिखर अधिकारीको बुझाइ छ । 

“भदौ महिनादेखि विद्यार्थीहरूलाई मौलिक पहिरनमा नै पढाउन थाल्यौँ । त्यस समयमा सबै विद्यार्थीसँग आफ्नो जातअनुसारको पहिरन उपलब्ध थिएन । दसैँपछि भने सबै विद्यार्थीले उत्साहका साथ मौलिक पहिरन लगाएर आउने गरेका छन्,” प्रधानाध्यापक अधिकारीले भने, “हाम्रो विद्यालयमा विशेषगरी तामाङ, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पढ्न आउँछन् । उनीहरूमा पहिरनको विविधता हुँदा एकअर्काबीच नै सिकाइ भइरहेको हुन्छ । व्यावहारिक शिक्षाका रूपमा पनि यसलाई लिने गरेको छु । अभिभावकबाट पनि सकारात्मक प्रतिक्रियाहरू आइरहेको हुन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप