शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपेक्षामा तनहुँको सहिद गाउँ

मङ्गलबार, १७ माघ २०७९, ०८ : ३४
मङ्गलबार, १७ माघ २०७९

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा सहिद उद्यान छ । सो उद्यानका स्मारकमा सहिद भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको सालिक छन् । राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाए यी सबै सहिद पुलिमराङमा जन्मिएका थिए ।

विसं २००७ माघ १ गते बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वजले सहादत प्राप्त गर्नुभयो । विसं २०१८ मा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पुलिमराङका लालध्वज, सर्वसिंह  र हस्तवीरले कोत्रेमा सहादत प्राप्त गरे । शम्शेरबहादुर भरतपुरमा र भरत  पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँँमा पुलिमराङ गाउँका छ जना सहिद बने । 

व्यवस्था परिर्वतनको लडाइँमा होमिएर छ जना सहिद भए पनि पुलिमराङवासीले चाहेजस्तो गाउँ विकास हुनसकेको छैन । राजनीतिक खिचातानीले देशका लागि बलिदानी दिएका सहिदको उपेक्षा भएको स्थानीयवासीको गुनासो छ । 

गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुँदा गुज्लार गाउँ रित्तिएको छ । बूढापाकाले मात्र घर कुर्नुपर्ने बाध्यता छ । एउटै गाउँका छ जना सहिदले ज्यान गुमाएको गाउँमा विकास हुन नसकेको स्थानीयवासी टेकबहादुर गुरुङको गुनासो छ । 

सहिद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उहाँले बताउनुभयो । गाउँको विकासका लागि सरकारले अपहेलना गरेको जनाउँदै सहिद स्मारक बनाउन पनि आफूहरुले दुःख गर्नुपरेको उनी बताउछन् । सहिद पार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए । 
विसं २०६६ मा सहिद स्मारक बनाएर छ  सहिदको अर्धकदको सालिक राखियो । ती सालिकको एक दशकपछि अनावरण गरिएको थियो  विसं २०७५ मा सहिद दिवसका अवसरमा सालिक अनावरण गरिएको थियो । 

बयालीस रोपनी क्षेत्रफलमा फैलिएको सो उद्यानलाई आकर्षक बनाउन रु आठ करोड ६७ लाखको बृहत् गुरुयोजना तयार गरिएको छ । गुरुयोजनाअनुसार काम गर्न बजेटको अभाव भएको स्मारक समितिका अध्यक्ष एकबहादुर गुरुङले बताए ।

पुलिमराङको प्रवद्र्धनका लागि व्यास नगरपालिकाले बर्सेनि सहिद दिवसको अवसर पारेर मानुङकोटबाट अल्ट्रा म्याराथन गर्दै आएको छ । मानुङकोट र पुलिमराङलाई खेलकुदका माध्यमबाट जोड्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप