बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्लाही सब डिभिजन वन कार्यालयमा ५० वर्षपछि खानेपानीको व्यवस्था

सुविधा नहुँदा वन कर्मचारीहरू झोलामा कार्यालय राख्ने गर्दथे : डिभिजन वन अधिकृत
मङ्गलबार, १७ माघ २०७९, ०९ : १९
मङ्गलबार, १७ माघ २०७९

सर्लाही । सर्लाही सब डिभिजन वन कार्यालयका कर्मचारीहरूको दिनचर्या आजभोलि फेरिएका छ । हाजिर गरेर निजी काममा हिँड्ने वन अधिकृत, कर्मचारी र वन रक्षकहरू अहिले कार्यालयमा भेटिन थालेका छन् । 

५ दशकपछि सब डिभिजन वन कार्यालय बाँकेमा खानेपानीको व्यवस्था भएपछि कर्मचारीको दिनचर्या फेरिएको हो । विगतमा खानेपानीको अभाव हुँदा जङ्गल संरक्षणमा खटिएका कर्मचारी तथा वन रक्षकहरू कार्यालयमा हाजिर गरेर बजारमा डेरा लिएर बस्ने र दिनभर निजी काममा खट्ने गर्दथे । जसले गर्दा जङ्गलमा चोरी तस्करी तथा वन क्षेत्रको अतिक्रमण समेत समेत बढ्दै गएको थियो । तर, खानेपानीको व्यवस्था भएपछि आजभोलि कर्मचारी र वन रक्षकहरू वन जङ्गल संरक्षण र कार्यालयमै खट्ने गरेका छन् ।

सब डिभिजन वन कार्यालय बाँके, सर्लाहीका वन रक्षक शुभकर्ण रायले विगतमा पिउन, खाना पकाउन र नुहाईधुवाईका लागि पानीको नहुँदा १२ किलोमिटर पर जिल्ला वन कार्यालय पुगेर  पानी ओसार्नुपर्ने बाध्यता रहेको बताए । ‘५० वर्षदेखि जिल्ला वन कार्यालयबाट पानी ओसारेर यहाँका कर्मचारीले खाइरहेका थिए,पानीको समस्या धेरै थियो, तर अहिले धेरै सुविधा भएको छ’ वन रक्षक रायले भने ।

सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित सो सब डिभिजन वन कार्यालय आसपासको क्षेत्रमा  यसअघि पटक पटक बोरिङ खनेर पानी निकाल्ने प्रयास भए पनि सफल भने हुन सकेको थिएन । यस पटक  भने सर्लाही डिभिजन वन अधिकृत मन्जुर अहमदको पहलमा प्राविधिक टोलीको अध्ययनपछि ३ सय फिट तल खन्दा पानी भेटिएको र विद्युत् लाइन नभएका कारण हेभी जेनरेटरको प्रयोग गरेर बोरिङको माध्यमबाट पानी निकालिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

‘विगतमा पानी निकाल्ने मेशिन नै ल्याएर बोरिङ खन्दा पनि कसैले जिम्मा नलिने, पानी पनि नभेटिने समस्या थियो तर यस पटक पानी ननिकाले पैसा नदिने सर्तमा खन्दै जाँदा ३ सय फिट तल पानी भेटिएको छ’ वन रक्षक रायले भने ‘अहिले पानीको व्यवस्था भएपछि सबै कर्मचारी, वन रक्षकहरू कार्यालयकै आवास गृहमा बस्ने खाने र जङ्गलको संरक्षणमा पनि लागेका छन्’ । सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका आसपासको सो क्षेत्रमा यसअघि महेन्द्र राय यादव सिँचाइ मन्त्री हुँदा बोरिङ खनेर जमिनमुनिबाट पानी निकाल्ने प्रयास पनि भएको थियो ।  

विगतमा पटक पटकको प्रयासले पनि पानी नआएपछि स्थानीयहरूले अन्यत्रबाट टंयाकीमा पानी ओसारेर खाने गरेका थिए । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले पानी ल्याउन विगतमा धेरै प्रयास र खर्च  भए पनि सफल नभएको बताए । वन कार्यालयले प्राविधिक टोली ल्याएर अध्ययन गरेपछि डिप बोरिङमा लागेको ज्याला, हेभी जेनरेटर, सहित सम्पूर्ण सामग्री गरेर करिब १३ लाख खर्चेर यस पटक पानी निकाल्न सफल भएको अहमदले जनाए ।

‘हामीले बोरिङ खनेर पानी ल्याएपछि त्यो भेगमै पानी आउँदो रहेछ भन्ने सन्देश पनि गएको छ,अहिले नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र ठाउँ ठाउँमा बोरिङ खन्ने काम सुरु गरिरहेको छ’ सर्लाहीका डिभिजन वन अधिकृत अहमदले भने ‘विगतमा जोखिम किन लिने बोरिङ खनेर खर्च गरेर फेरि पानी आएन अपजस होला भनेर पनि काम नगरेको अवस्था थियो, तर हामीले प्रयास गर्दा पानी आएन भने लागेको खर्च सरकारी मापदण्ड अनुसार नै हुने गरी काम गर्‍यौ, त्यसले मलाई आँट दियो’ ।

झन्डै एक दर्जन कर्मचारी र वन रक्षक कार्यरत रहेको सब डिभिजन वन कार्यालयमा पानीको व्यवस्था भएपछि वन जङ्गल संरक्षणमा समेत मद्दत पुगेको छ । सर्लाही डिभिजन वन कार्यालय अन्तर्गत रहेका ६ वटा सब डिभिजन वन कार्यालयहरू मध्ये ५ वटा सब डिभिजन वन कार्यालयहरू जङ्गल क्षेत्रभित्र रहेका छन् । जङ्गलभित्र रहेका सब डिभिजन वन कार्यालयमा  खानेपानी, विद्युत् लगायत न्युनतम् सुविधा नहुँदा अधिकांश कर्मचारी कार्यालयमै नबस्ने गरेको वन कार्यालयले जनाएको छ । जसको प्रत्यक्ष असर वन जङ्गल संरक्षणमा परेको छ ।

वन कार्यालय अर्धन्यायिक निकाय भएकाले कर्मचारी तथा वन रक्षकहरू पुलिस प्रशासनले सहर २४ सै घण्टा  जङ्गल संरक्षणका लागि खट्नुपर्ने हुन्छ । कार्यालयमा सामान्य सुविधा समेत नहुँदा विगतमा कर्मचारीहरू  झोलामा कार्यालय राख्ने र बजारमा डेरा लिएर बस्ने गरेको डिभिजन वन अधिकृत अहमदले बताएका छन् । ‘अहिले हामीले सबै सब डिभिजन प्रमुखहरूलाई कार्यालयमै बस्ने वातावरण बनाएका छौ, पहिलो चरणमा हामी सुरक्षित हुनुपर्छ, वन कर्मचारीको बस्ने, खाने व्यवस्था राम्रो भएपछि मात्रै जङ्गलको संरक्षण हुन सक्छ’ डिभिजन वन अधिकृत अहमदले भने ‘अहिले जङ्गलमा गस्ती गर्ने, अतिक्रमण हटाउने, चोर, तस्करलाई समात्ने कुरामा पनि धेरै काम भएको छ ।’

khanapani

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप