शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महिलाको आमा बन्ने उमेरमाथि प्रश्न तर पुरुषबारे किन हुँदैन कुराकानी ?

मङ्गलबार, १७ माघ २०७९, १५ : ४७
मङ्गलबार, १७ माघ २०७९

एक पुरुष कुन उमेरमा पिता बन्नुपर्छ त ? यो प्रश्न तपाईँले कहिले सुन्नुभएको छ ? सायद छैन होला ।

तर एक महिला कुन उमेरमा आमा बन्नुपर्छ, यो प्रश्न तपाईँले कुनै न कुनै बेला, कतै न कतै पक्कै सुन्नुभएको होला ।

यो प्रश्न फेरि चर्चामा छ र यसको कारण हो भारतको आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भनाइ, जसमा उनले महिलाका लागि २२ देखि ३० वर्षको उमेर नै आमा बन्ने सही समय भएको बताएका छन् ।

गुवाहाटीमा भएको एक कार्यक्रममा उनले भने, ‘महिला बन्नको लागि सबैभन्दा राम्रो उमेर २२ देखि ३० वर्षको बीचमा हुन्छ । महिलाले यसलाई पालन गरेमा आमा र बच्चा दुवैका लागि राम्रो हुन्छ ।’

प्रदेशमा मातृ तथा बाल मृत्युदर घटाउने प्रयास सम्बन्धी कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले यसतर्फ सरकारको प्रयासबारे जानकारी दिँदै थिए ।

उनका अनुसार कम उमेरमा विवाह र गर्भावस्था मातृ तथा बाल मृत्युदर बढ्नुको प्रमुख कारण हो ।

उनले भने, ‘हामी नाबालिग बालिकाको जबरजस्ती विवाह र उनीहरूको प्रारम्भिक मातृत्वको कुरा गरिरहेका छौँ तर यसका साथै यो पनि आवश्यक छ कि महिलाले विवाह गर्न धेरै ढिला पनि गर्नु हुँदैन । ईश्वरले हाम्रो शरीरलाई भिन्न भिन्न उमेरमा भिन्न भिन्न चिज गर्नका लागि बनाएका छन् ।’

३० वर्ष पुगेका महिलाले जतिसक्दो चाँडो विवाह गर्नुपर्ने पनि शर्माले बताए ।

त्यति बेलादेखि भारतमा यसबारे बहस नै सुरु भएको छ । यो बहस नेपालमा पनि यत्तिकै सान्दर्भिक छ ।

babiesबहसको सुरुवात

एक पक्ष भन्छन्, ‘महिलाको आफ्नो शरीरमा अधिकार छ र त्यो निर्णय लिने अधिकार उनलाई मात्रै छ अर्थात् कहिले आमा बन्ने र कहिलेसम्म बन्ने भनेर उनी आफैँले निश्चित गर्नेछिन् ।’

महिलाको सवालमा काम गर्ने कार्यकर्ताले हिमन्त विश्व शर्माको यो भनाइको आलोचना गर्दै जुनसुकै पदमा किन नहोस्, महिलाले कुन उमेरमा आमा बन्ने भन्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

तर, कतिपय डाक्टरहरूका अनुसार महिलाको आमा बन्नको लागि उपयुक्त उमेर २० देखि ३० वर्षसम्म हुन्छ र उनीहरुले यसको  मेडिकल कारण पनि बताउँछन् ।

भारतकी स्त्री रोग विशेषज्ञ शालिनी अग्रवालले महिलाले एक निश्चित उमेरमा आमा बन्ने हो भने यो उनीहरूको स्वास्थ्यका लागि राम्रो हुने बताएकी छिन् किनभने उनका अनुसार एक उमेरपछि महिलाको शरीरमा अण्डाको उत्पादन घट्छ ।

उनी भन्छिन्, ‘३० वर्षकी एक महिलामा अण्डाको सङ्ख्या ठिक–ठाक हुन्छ र उनी गर्भधारण गर्न सक्षम हुन्छिन्, तर ३० वर्षको उमेरपछि महिलामा अण्डाको मात्रा कम हुन थाल्छ र ३५ वर्षपछि त्यसको सङ्ख्या घट्नुका साथै गुणस्तरमा पनि कमी आउँछ र  यसबाट जन्मिने बच्चामा कुनै विकारको सम्भावना बढ्छ ।’

यस्तो अवस्थामा यदि कुनै महिला आमा बन्ने सोचमा छिन् भने अधिकतम ३५ वर्षको उमेरमा नै आमा बन्नु पर्छ किनभने त्यसपछि बाँझोपनको समस्या आउन सक्छ ।

शालिनी अग्रवाल करियरलाई पनि महत्त्व दिनुपर्ने तर मातृत्व र करियरबीच सन्तुलन मिलाउन जरुरी भएको बताउँछिन् ।

motherhoodमातृत्व र करियरको द्वन्द्व

सेन्टर फर सोसल रिसर्चकी निर्देशक तथा महिला अधिकारकी अभियन्ता रञ्जना कुमारी यस विषयमा कुनै पनि चिकित्सक वा विज्ञले सुझाव दिन सक्ने तर राजनीतिज्ञले यस विषयमा बोल्नु हास्यास्पद भएको र यसको आलोचना हुनुपर्ने बताइन् ।

उनी भन्छिन्, ‘हामीले आइटी, बैङ्किङ र ट्राभल टुरिजमको क्षेत्रमा काम गर्ने महिलामाथि अनुसन्धान गरेका थियौँ । हामीले देखेका थियौँ कि ती महिलाहरूलाई ठुला–ठुला पदहरू प्रस्ताव गरिएको थियो तर उनीहरुले यसलाई स्वीकार गरेनन्, किनभने उनीहरूको ट्रान्सफर भइरहेको थियो वा उनीहरूलाई घर र अफिसबीच सन्तुलन मिलाउन गाह्रो भइरहेको थियो ।’

त्यसो भए प्रश्न उठ्छ कि महिलाका लागि पारिवारिक र सामाजिक जिम्मेवारी सर्वोपरि हुन्छ त ?

नेपाललगायत भारतमा, बच्चाको पालनपोषण र  हुर्काउने जिम्मेवारी मुख्यतया महिलाकै हो भनेर मानिन्छ र समाजमा संयुक्त अभिभावक जसमा आमाबुवा दुवैले पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने अवधारणा विकास भइसकेको छैन ।

रञ्जना कुमारी भन्छिन्, ‘अहिले कतिपय महिलाले बच्चा नै जन्माउन चाहँदैनन् वा ढिलो बिहे गर्न चाहन्छन्, जसलाई समाजले सम्मान गर्नुपर्छ ।’

अर्कोतर्फ, प्रविधिको यति धेरै विकास भइसकेको छ कि उनीहरूले चाहेको बेला सन्तान जन्माउन सक्छन्, तर किन स्वतन्त्र रूपमा निर्णय गर्न सक्दैनन् ?

अर्कोतर्फ जलवायु परिवर्तन, कर्पोरेट क्षेत्र र महिलाको दृष्टिकोणबाट विकास जस्ता विषयलाई समेट्ने पत्रकार अदिती कपुरले एक महिलामाथि बच्चा जन्माउने र करियर बनाउने बोझ सँगसँगै आउने बताएकी छिन् । उनका अनुसार यस्तो अवस्थामा यस्ता सुविधा दिनुपर्छ जसले उनलाई सहयोग गर्न सकोस् ।  

उनी भन्छिन्, ‘महिलामा बच्चा जन्माउन जैविक दबाब हुन्छ । पुरुषका लागि पितृत्व बिदाको प्रावधान वर्षौँ पछि आयो । सरकारी जागिरमा १५ दिनको भए पनि निजीमा यो कम छ वा छँदै छैन । यस्तो अवस्थामा महिलाको सहयोगका लागि यस्ता सुविधालाई थप बलियो बनाउनु पर्छ र त्यसमा राज्य सरकार र केन्द्र सरकार अघि बढ्नु पर्छ । आखिर उनीहरुले पनि जिडिपीमा योगदान दिइरहेका छन् ।’

यही कुरालाई अगाडि बढाउँदै डा. सुचित्रा दलवी भन्छिन्, ‘एउटी आमा चाहे सङ्गठित वा असङ्गठित क्षेत्रमा काम गर्छिन्, उनीहरूको बच्चाको स्याहारसुसारको व्यवस्था हुनुपर्छ । यस्तै महिलाको रोजगारीको सुरक्षा हुनुपर्छ । घरमा पुरुषले पनि पूरा जिम्मेवारी निभाउनुपर्छ किनभने उक्त बच्चा आमाको मात्रै होइन । पितृत्व बिदाको अवधि सकिएपछि पनि बच्चाको जिम्मेवारी रहन्छ ।’

सुचित्रा एक स्त्री रोग विशेषज्ञ र एसिया सेफ एबोर्शन पार्टनरसिप नामक नेटवर्कको संयोजक हुन्।

working momसमाजमा परिवर्तन

डा. सुचित्रा दलवीका अनुसार समाजमा अहिले महिलाले विवाह र सन्तान जन्माउनु अनिवार्य मानिन्छ तर यो छनोटको विषय हुनुपर्छ ।

उनी भन्छिन्, ‘महिलासँग पाठेघर छ भन्दैमा यसको अर्थ यो बुझ्नु हुँदैन कि उनी आमा नै बन्न चाहन्छिन् वा बन्नुपर्छ । उनलाई आफ्नो शरीर र जीवनको अधिकार दिनुपर्छ ।’

हो, जैविक हिसाबले यो सही हो किनभने २० देखि ३० वर्षको उमेरमा केटीको प्रजनन क्षमता राम्रो हुन्छ र स्वास्थ्य राम्रो हुन्छ । बिपी वा सुगरको खतराको कुरा गर्ने हो भने ४० वर्षको उमेरपछि बढी हुन्छ ।

विज्ञ भन्छन्, ‘यो समाजको विडम्बना हो कि २१औँ शताब्दीमा पनि महिलालाई आमा, छोरी, श्रीमतीको रूपमा मात्रै हेरिन्छ जसलाई जिम्मेवारीको बन्धनमा जकड्ने काम गरिन्छ तर उनीहरूलाई 'तिमी चाहिँ के चाहन्छौ ?' भनेर कसैले सोध्दैनन् ।’

तर, समय परिवर्तनसँगै समाजमा फस्टाउँदै गएको यो सोचलाई परिवर्तन गरी महिलाको चाहनालाई महत्त्व दिन जरुरी छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप