बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

च्याटजिपिटी के हो र यसलाई किन गुगलको लागि खतरा भनिन्छ ?

बुधबार, १८ माघ २०७९, १५ : ४३
बुधबार, १८ माघ २०७९

३० नोभेम्बरमा जब विश्व कतारमा भइरहेको फुटबल विश्व कपको आनन्द लिइरहेको थियो तब विश्वमा च्याटजिपिटी नामको एउटा आर्टिफिसियल टुलले डेब्यु गर्‍यो ।

यो नयाँ सिस्टमले यस्तो सामग्री लेख्न सक्छ जुन निकै सटिक हुन्छ र मानिसले लेखेको झैँ भान हुन्छ । यो नयाँ टुल गुगलका लागि खतरा बनेर उदाइरहेको छ र स्थिति यस्तो निम्तिसकेको छ कि जिमेलका संस्थापक पलसम्मले केही समय अघि दुई वर्षमा यो टुलले गुगललाई बरबाद गर्न सक्छ भनेका थिए ।

हाल यस कार्यक्रममा केही कमीकमजोरीहरू देख्न सकिन्छ तर समयसँगै यो उपकरण अझ स्मार्ट हुँदै जानेछ । यसलाई मन पराउनेहरूले यसको प्रशंसाको पुल बाँधिरहेका छन्, तर केही मानिसहरूलाई यो नयाँ उपकरणको डर पनि छ ।

यदि तपाईँले इन्टरनेटमा च्याटजिपिटीको समीक्षाहरू पढ्नुभयो भने, तपाईँले ‘खतरा’ शब्द बारम्बार उल्लेख गरिएको पाउनुहुनेछ । धेरै मानिसहरू विश्वास गर्छन् कि यो प्रोग्रामले मानव मस्तिष्कको द्रुत रूपमा कपी गरिरहेको छ ।

अमेरिकी अखबार न्युयोर्क टाइम्समा हालै प्रकाशित एउटा लेखमा यस कार्यक्रमले सिकाइ, शिक्षा, डिजिटल सुरक्षा, काम र लोकतन्त्रमासमेत यसले प्रभाव पार्ने सम्भावना व्यक्त गरिएको छ ।

अखबारले लेखेको छ – पहिला कुनै पनि धारणा एक व्यक्तिको हुन्थ्यो त्यो अब एक आर्टिफिसियल रोबोटद्वारा लेखिएको तर्क हुनसक्छ ।

chat1च्याटजिपिटी भनेको के हो ?

च्याटजिपिटी वास्तवमा एक च्याटबट हो जसले तपाईँलाई धेरै प्रकारका प्रश्नहरूको लिखित र लगभग सही जवाफ दिन सक्छ । यो च्याटबटले तपाईंको व्यक्तिगत समस्याहरूमा पनि सल्लाह दिनसक्छ ।

यसमार्फत सामग्री सिर्जना गर्ने सम्भावनाहरू अपार छन् ।

उदाहरणका लागि, यसले तपाईँलाई एउटा जटिल तर स्वादिष्ट रेसिपीको व्याख्या गर्न सक्छ र तुरुन्तै त्यही रेसिपीको नयाँ संस्करण पनि सिर्जना गर्न सक्छ । यसले तपाईँलाई जागिर खोज्न मद्दत गर्न सक्छ । तपाईँलाई कविता, शैक्षिक कागजपत्र र विशेष साथीका लागि पत्र लेख्न पनि मद्दत गर्न सक्छ ।

च्याटजिपिटीलेतपाईंका सबै प्रश्नहरूको सेकेन्ड भरमा जवाफ दिने गर्छ । उदाहरणका लागि, तपाईँले यो च्याटबोटलाई आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा सेक्सपियरको शैलीमा कविता लेख्न भन्नुहुन्छ ।

केही पलमै तपाईँले यो कविता तयार पाउनुहुनेछ । कविताको स्तरमा बहस हुन सक्ला तर त्यो लेख्ने गतिमा हुन सक्दैन ।

च्याटजिपिटी लगभग १०० भाषामा उपलब्ध छ तर यो अङ्ग्रेजीमा सबैभन्दा सटीक छ ।

यो प्रणालीलाई ओपनएआई नामको कम्पनीले सन् २०१५ मा साम अल्टम्यान र एलन मस्कले विकसित गरेका थिए । एलोन मस्क सन् २०१८ मा यसबाट अलग भएका थिए ।

लन्च भएको पाँच दिनभित्रै च्याटजिपिटीको एक मिलियन प्रयोगकर्ताहरू भएका थिए । प्रयोगकर्ताहरूसँग च्याटबटको प्रश्न र उत्तरको प्रयोग, यो प्रोग्रामलाई उत्कृष्ट बनाउनका लागि गरिन्छ ।

ओपनएआईले यो च्याटबटको प्रयोग सबैका लागि निःशुल्क हुने र परीक्षण र अनुसन्धानका क्रममा सबैका लागि उपलब्ध हुने बताएको छ ।

कम्पनीको यो बयानसँगै मानिसहरूले भविष्यमा ओपनएआईले च्याटजिपिटी प्रयोग गर्दा पैसा लिन थाल्ने अनुमान गर्न थालेका छन् ।

परीक्षण र अनुसन्धानका क्रममा सफ्टवेयरले कहिलेकाहीँ गलत र भ्रामक सूचना दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले च्याटबटको डाटा हिस्ट्री २०२१ सम्म मात्र सीमित रहेको बताएको छ ।

chat2गुगलको एकाधिकारलाई चुनौती ?

धेरैले यसलाई इन्टरनेटमा जानकारी सङ्कलन गर्ने गुगलको एकाधिकारका लागि चुनौती भनेका छन्, तर यो प्रणालीले अझै गम्भीर गल्ती गरिरहेको छ ।

यस्तै च्याटबोटलाई सोधिएको थियो कि अहिलेसम्म कति भारतीयले ओस्कर अवार्ड जितेका छन् ? यसको जवाफमा च्याटबटले लेख्यो –सन् २०२१ सम्म भानु अथय्या ओस्कार जित्ने एक मात्र भारतीय हुन् ।

तर धेरै भारतीयहरूले ओस्कर अवार्ड जितेका छन् ।

यस्ता एआई प्रोग्रामहरूले धेरै डाटा भण्डारण गर्छन् । च्याटजिपिटीको फोकस शब्दहरू र संवादात्मक शैलीमा प्रतिक्रिया दिनेमा छ । यो च्याटबटले वाक्य लेख्ने उत्तम तरिका अनुमान गर्न एल्गोरिदमहरू प्रयोग गर्दछ ।

यसलाई लार्ज ल्याङ्गुएज मोडेल (एलएएम) पनि भनिन्छ ।

साओ पाउलो युनिभर्सिटीका प्रोफेसर अल्भारो मचाडो डायस एक न्युरो वैज्ञानिक हुन् । यस्तो च्याटबट निर्माण गर्दा धेरै साधारण प्रश्न सोधिने उनीहरू बताउँछन् । कतिले सिलिन्डर के हो भनेर सोधिरहेका हुन्छन् ।

त्यसपछि प्राविधिकले यस प्रश्नको विस्तृत जवाफ दिन्छन् ।

‘त्यसपछि पनि, यदि च्याटबटको जवाफले अर्थ राख्दैन भने, सही जवाफ प्रणालीमा फिड गरिन्छ । यो धेरै प्रश्नहरू सँग गरिन्छ ।’

च्याटजिपिटीले हुबहु मानिसजस्तै बोल्न सिक्छ ।

मचाडो डायस भन्छन् – यो भाषाहरू बुझ्नमा निपुण भएकाले यसलाई विशेष बनाएको छ ।

इन्जिनियरहरूले यसलाई स्मार्ट बनाउन दिनरात काम गरिरहेका छन् ।

प्रोफेसर डायस भन्छन्, ‘वास्तवमा इन्जिनियरहरूले एल्गोरिदमले दिएका जवाफहरू परीक्षण गर्छन् र प्रोग्रामलाई फिडब्याक दिँदै यसलाई सुधार गर्ने प्रयास गर्छन् । तपाईंको प्रश्नको जवाफ एउटा टेक्स्ट फर्मेटमा हुन्छ र ती निकै गम्भीर हुन्छन् ।’

च्याटजिपिटीलाई गल्तीहरू स्वीकार गर्न पनि तालिम दिइएको छ । यो प्रोग्रामले गलत धारणा सच्याउँछ र अप्रासङ्गिक प्रश्नहरूलाई अस्वीकार गर्दछ ।

chat3के यो रचनात्मकताको लागि खतरा हो ?

शब्द र वाक्यमा भर पर्ने कामहरूमा खतराको घण्टी बज्न थालेको छ ।

जस्तै पत्रकारिता । यदि प्रणालीमा अझै सुधार भयो भने पत्रकारको जागिर कम हुनेछ र सम्भवतः एउटा यस्तो समय आउन सक्छ जब उनीहरूलाई कामदारको आवश्यकता नै पर्नेछैन किनभने हरेक लेख च्याटबटले लेखिदिनेछ ।

च्याटजिपिटीको कोड लेख्ने क्षमताले अर्को क्षेत्रमा प्रश्न खडा गर्न सक्छ । र त्यो क्षेत्र हो – कम्प्युटर प्रोग्रामिङ ।

तर सबैभन्दा बढी चिन्ताको विषय भनेको शिक्षा हो ।

न्यु योर्कका विद्यार्थीहरूलाई च्याटजिपिटीमार्फत आफ्नो असाइनमेन्टहरू गर्न यति लालायित थिए सहर भरिका सबै विद्यालयहरू र सार्वजनिक उपकरणहरूमा तुरुन्तै यसमाथि प्रतिबन्ध लगाइयो ।

ओपनएआईले आफ्नो च्याटबट मार्फत् उत्पन्न हुने सामग्रीलाई फरक पहिचान दिने प्रयास पनि गरिरहेको छ । यस्ता एल्गोरिदमहरु छन् जसले सटिक तरिकाले भन्न सक्छन् कि टेक्स्ट च्याटबटले लेखेका हो कि कुनै व्यक्तिले ।

च्याटबटबाट कपी गर्ने, आफ्नो गृहकार्य र असाइनमेन्टमा पोस्ट गर्नेबाहेक पनि यस्ता थुप्रै डर छन् जसका कारण शिक्षा क्षेत्रमा डर छ ।  

उदाहरणका लागि, यदि एक विद्यार्थीलाई एक जटिल निबन्ध लेख्न दिइएको छ भने ?

साओ पाउलो युनिभर्सिटीका प्रोफेसर डायस भन्छन्, ‘विचारहरूको यान्त्रीकरणको बारेमा म चिन्तित छु । यो विश्वलाई बुझ्ने तरिकालाई उल्ट्याउने जस्तै हो ।’

‘यो आधुनिक इतिहासमा माइन्डसेटको परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण घटना हुनेछ । यहाँ के कुरा पनि याद गर्नुपर्छ कि मानव मस्तिष्क तीव्र रूपमा खुम्चिरहेको छ । यसको एउटा प्रमुख कारण प्रविधिको विकास हो ।’

chat4आधा मानिस र आधा मेसिन

आर्टिफिसियल इन्टेलिजेन्स ः फ्रम जिरो टु मेटाभर्स पुस्तककी लेखिका र पोन्टिफिकल क्याथोलिक युनिभर्सिटी अफ रियो ग्रान्डे डो सुलकी प्राध्यापक मार्था गेब्रिएलले परिवर्तनशील समयसँगै हामीले छिटो छिटो परिवर्तन हुर्नुपर्ने धारणा राख्छिन् ।

मार्था गेब्रियल भन्छिन्, ‘मुख्य भिन्नता यो हो कि अब उत्तरले फरक पर्दैन, प्रश्नहरू महत्त्वपूर्ण भइसकेका छन् । तपाईँले सही प्रश्नहरू कसरी सोध्ने भनेर जान्नुपर्छ र यसका लागि तपाईंको दिमागले सोच्न र मेहनत गर्नुपर्छ ।’

फेडरल युनिभर्सिटी अफ ब्राजिलका अनुसन्धानकर्ता युरी लिमा भन्छन् कि नयाँ प्रविधिले विद्यार्थीहरूलाई साइबोर्ग (आधा मानव र आधा मेसिन) बनाउनेछ ।

युरी लिमा भन्छिन्, ‘यो नयाँ प्रविधिले शिक्षकहरूलाई पनि यसको सही प्रयोग गर्न सिकाउनु पर्छ ।’

यो त भयो शिक्षा र विद्यार्थीको कुरा । तर यहाँ अर्को ठुलो चिन्ता छ । त्यो हो मानिसको रचनात्मकता र सामग्री बनाउने कुरा ।

यो सिस्टम उपलब्ध भएको दस दिन भित्र, सान फ्रान्सिस्को डिजाइनरले दुई दिनमा बच्चाहरूको सचित्र पुस्तक तयार गरेका थिए ।

डिजाइनरले च्याटजिपिटीबाहेक, मीडजर्नी नामक कार्यक्रमबाट पनि मद्दत लिएका थिए जसमार्फत फोटोहरू सङ्कलन गरिएको थियो ।

प्रोफेसर मचाडो डायस भन्छन् कि रचनात्मकताका लागि असाधारण प्रतिभा चाहिन्छ, तर एल्गोरिदमको मद्दतले सिर्जना गरिएका चीजहरूले मानिसको रचनात्मक हुने प्रवृत्तिलाई कम गर्नेछ ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप