शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बागमती प्रदेशसभाको ५ औँ वार्षिकोत्सव : सांसदको भूमिकामाथि किन उठाइयो प्रश्न ?

बुधबार, १८ माघ २०७९, २१ : ३९
बुधबार, १८ माघ २०७९

मकवानपुर । बागमती प्रदेशसभा स्थापनाको ५ औँ वार्षिकोत्सव मनाइएको । बुधवार प्रदेशसभा सचिवालयको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायतको उपस्थिति रहेको थियो । सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरूको भने उपस्थिति न्यून रहेको थियो । प्रदेशमा कुल ११० सांसद भएपनि कलले प्रदेश सरकारका मन्त्रीहरूसहित ३० जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, पूर्व सभामुख र विपक्षी दलका नेताले संसदमा आफ्नो भूमिकाका विषयमा सांसदहरू नै अनविज्ञ रहेको टिप्पणी गरे । सबैभन्दा सुरुमा सम्बोधन गरेका प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता बहादुरसिंह लामाले प्रदेशसभाका सदस्यहरूमा आफ्नो भूमिकाबारे प्रस्ट जानकारी नहुँदा समस्या भइरहेको बताए । उनले संसद् र सरकारका विषयमा सांसदहरू नै अनविज्ञ रहेको बताए । सांसदहरूले आफ्नो भूमिका जिम्मेवार ढङ्गबाट निर्वाह गर्न नसक्दा प्रदेशको औचित्यमाथि नै प्रश्न उठिरहेको बताए ।

यसैगरी पूर्व सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका सांसदहरूले आफ्नो भूमिका बुझ्न नसकेको टिप्पणी गरे । उनले प्रदेशका सांसदहरूले आफ्नो दायित्व बुझ्न जरुरी रहेको भन्दै प्रदेशसभा सचिवालयले आगामी दिनमा कानुन निर्माणमा जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने बताए ।

1b

उनले सांसदहरूको भूमिका कानुन निर्माणमा भन्दा विकाश निर्माणमा केन्द्रित हुने गरेको उनको भनाइ छ । सांसदहरू कानुन निर्माणको प्रक्रियामा भन्दा पनि राजनीतिक भाषणमा मात्र केन्द्रित हुने गरेको उनको भनाइ छ । सांसदहरूको कानुन निर्माणमा ध्यान कम हुँदा समस्या भइरहेको र विधेयक तथा अध्यादेशहरु अध्ययनको कमीका कारण कानुनी त्रुटि हुने गरेकाले समस्या भइरहेको उनले बताए ।

‘प्रदेशसभाका सदस्यहरूले आफ्नो दायित्व बुझ्न सकेका छैनन् । सबै सदस्यहरूले आफ्नो दायित्व बुझ्नु पर्छ,’ उनले भने, ‘सांसदहरूको ध्यान कानुन निर्माण प्रक्रियामा भन्दा पनि विकास निर्माणतर्फ बढी छ । राजनीतिक भाषणमा केन्द्रित बढी हुँदा कानुन निर्माण प्रक्रियामा ध्यान जान सकेको छैन । सांसदहरुमा विधेयक र अध्यादेशहरूको अध्ययन नहुँदा कानुन निर्माण प्रक्रियामा समस्या छ । जसले गर्दा कानुनमा बढी त्रुटि हुने गरेको छ । यो विश्वव्यापी समस्या हो ।’

यता प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सांसदहरू संसद् र सरकारमा आफ्नो भूमिका खोज्नमा व्यस्त रहेको टिप्पणी गरे । उनले प्रदेश सांसद निर्वाचित हुनु नै महत्त्वपूर्ण जिम्मेवारी भएकाले सरकार र सदनमा अन्य पदको भूमिका खोज्न जरुरी नरहेको बताए ।

कुनै सांसदलाई आफ्नो भूमिकाका विषयमा प्रस्ट हुन इच्छा भए प्रदेशसभा नियमावली अध्ययन गर्न उनले आग्रह गरे । उनले ५–१० लाख रुपैयाँको योजना फाइल बोक्दै मन्त्रालयको ढोका ढोका पुग्नु प्रदेश सांसदको भूमिका नभएको बताए । उनले सांसदको भूमिका योजनाको फाइल बोक्ने भन्दा पनि कानुन निर्माणमा सहभागी रहनु भएको बताए ।

2b

‘प्रदेश सांसद निर्वाचित हुनु नै महत्त्वपूर्ण भूमिका हो । संसदमा र सरकारमा आफ्नो भूमिका खोज्न जरुरी छैन । आफ्नो भूमिकाका विषयमा प्रस्ट हुन इच्छा भए नियमावली अध्ययन गरे हुन्छ,’ उनले भने, ‘सांसदको भूमिका ५/१० लाखको योजनाको फाइल बोकेर मन्त्रालयको ढोका ढोका पुग्नु होइन । कानुन निर्माण प्रक्रियामा सहभागी हुनु सांसदको भूमिका हो ।’

सांसदहरूलाई विधेयक र अध्यादेश अध्ययन गर्न भन्दा पनि प्रदेशसभामा आउने बित्तिकै फर्कन हतार हुने गरेको उनले बताए । प्रदेश सांसदहरूको भूमिकाको कारणले नै पछिल्लो समय प्रदेश संरचनाको औचित्यको विषयमा प्रश्न उठिरहेको उनले बताए ।

यस्तै मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले सांसदहरूलाई प्रदेश राजधानीमा टिकाउन नै समस्या हुने गरेको बताए । सबै प्रक्रिया पुरा गरेर संसद् बसेको बखत हेटौँडा आएको २ दिनमा नै सांसदहरूलाई आ–आफ्नो क्षेत्र फर्किन हतार हुने गरेको उनले बताए ।  

‘कानुन बनाउन सकै प्रक्रिया पुरा गर्दा केही दिन लाग्छ । संसद् बसेको भोलिपल्ट नै सांसदहरूलाई फर्किन हतार हुन्छ । उनले सांसदहरूको मूल भूमिका भनेको सरकार गठन र कानुन निर्माण भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप