शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल

बुधबार, १८ माघ २०७९, २२ : १९
बुधबार, १८ माघ २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराइन् ।

सो अवसरमा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले मन्त्री पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्ने जानकारी गराए ।  

उनी आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुन भोलि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन् । परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उनी माघ २१ गते ७५ औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् । परराष्ट्रमन्त्री डा.पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको सहसचिव सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप