बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

मलेसियाका गृहमन्त्री नेपाल आउनुका दुई उद्देश्य

बिहीबार, १९ माघ २०७९, २२ : १२
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल बिहीबार नेपाल आएका छन । गृह मन्त्रालयको निमन्त्रणमा उनी नेपाल आएका हुन् । नेपाल भ्रमणको क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल लगायतसँग भेट गर्नेछन् । 

उनको नेपालमा भ्रमणमा के कस्ता विषयमा छलफल हुने भनेर तय भइसकेको छ । नेपाल भ्रमणको क्रममा श्रम सम्झौताका विषयमा समेत छलफल हुनेछ । नपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो । सरकारले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू पुनरावलोकन गर्दै लैजाने नीति ल्याएको छ । सोही आधारमा मलेसियासँग पनि समयसापेक्ष परिमार्जनको विषय उठ्नेछ । 

नेपाल भ्रमणको उद्देश्य

नेपाल भ्रमणमा आउनुमा मलेसियाको पनि छुट्टै स्वार्थ छ । मलेसियाले पछिल्लो समय कामदारको अभाव खेप्दै आएको छ । कोरोना महामारीपछि मलेसियाको अर्थतन्त्र सुधारतर्फ गइरहेको छ । विगतमा बन्द रहेका उद्योगधन्दा खुल्न थालेका छन् । नयाँ नयाँ उद्योगभन्दा पनि खुल्ने क्रम जारी छ । यस्तो अवस्थामा मलेसियामा तत्काल ५ लाखभन्दा बढी कामदार चाहिन्छ । 

मलेसिया पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक बन्दैछ । मलेसियामा रोजगारीका पर्याप्त अवसर पाउनुका साथै तलब भत्ता समेत बढी पाउने भएपछि नेपालीहरूको रोजाइमा पर्न थालेको हो । 

मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेलका अनुसार यो भ्रमण श्रम मन्त्रालय र गृह मन्त्रालयको संयुक्त भ्रमण हो । यसमा गृहमन्त्री इजमायलले नेतृत्व गर्न लागेका हुन् । 

भोलि (शुक्रबार) दिनभर औपचारिक कार्यक्रम र भेटघाटका कार्यक्रम तय भएका छन् । त्यसपछि उनी पर्सी (शनिबार) स्वदेश फर्किनेछन् । मलेसियाले हाल ‘रिक्यालिब्रेशन प्रोग्राम’ ल्याएको छ । यस प्रोग्राम अन्तर्गत मलेसियामा अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आममाफी दिने रहेको छ । 

‘कोही विदेशी कामदार अवैधानिक रूपमा बसेका छन् भने उनीहरूलाई आम माफी दिएर कानुनको मूल धारमा ल्याउने उनीहरूलाई वैधानिक हुन अवसर दिने कार्यक्रममा मूल आशय हो,’ राजदूत पौडेलले भने । 

मलेसियाले पछिल्लो समय आफ्नो देशमा काम गर्न बसेका विदेशी कामदारहरूलाई बढी प्राथमिकतामा दिएको छ र उनीहरूको हकहितका लागि विभिन्न कार्यक्रम ल्याएको छ । 

आममाफी दिनको लागि मलेसिया सरकारले कानुनी मापदण्ड समेत तय गरेको छ । उक्त मापदण्ड अनुसार परेका सबै विदेशी कामदारले आममाफी पाउनेछन् । र वैधानिक भएर घर फर्किनुको साटो त्यही काम गर्न पाउनेछन् । 

‘सामान्यतया परिस्थितिले बाध्य भएर परिबन्धमा परेर गैरकानुनी भएकाहरूलाई वैधानिक बनाउने उनीहरूको मापदण्ड छ । त्यही आधारमा त्यो मापदण्ड पुरा गर्नेले उक्त प्रोग्राममा सहभागी हुन पाउँछन् । यो कामदार केन्द्रित उनीहरूको फाइदाको लागि हो,’ राजदूत पौडेलले भने ।  

मलेसियाको अर्को ‘लेबर रिल्याक्सेसन प्लान’ छ । त्यो भनेको ठुलो सङ्ख्यामा विदेशी कामदार ल्याउने हो । मलेसियाले तत्काल ५ लाख थप कामदारको माग गरेको छ । त्यो नेपालसहित विभिन्न १५ देशबाट ठुलो मात्रामा कामदार माग गर्दै आएको छ । मलेसियाले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका मुलुकबाट बढी सङ्ख्यामा कामदार लैजाने गरेको छ । 

मलेसियाले नेपालबाट पनि ठुलो सङ्ख्यामा कामदार पाउने अपेक्षा राखेको छ । सोही आधारमा मलेसियाका गृहमन्त्रीको टोली नेपाल भ्रमणमा आएको हो । 

‘कोरोना महामारीपछि मलेसियाको अर्थतन्त्र बिस्तारै खुल्दैछ । बन्द भएका उद्योगधन्दाहरू खुल्दैछन् । नयाँ कम्पनीहरू पनि थपिँदैछन् । यो अर्थमा उनीहरूलाई ठुलो सङ्ख्यामा कामदार चाहिएको छ । अर्थात् सामान्य तरिकाभन्दा अलि विशिष्टीकृत तरिकाले ठुलो सङ्ख्यामा चाहिएको छ । ठुलो सङ्ख्यामा लैजाने कार्यक्रम छ,’ उनले भने । 

नेपाल भ्रमणको क्रममा उनीहरूले आफ्नो प्रोग्रामको बारेमा नेपालका सरोकारवालासँग जानकारी गराउने, छलफल गर्ने र कसरी अगाडि बढ्न सकिन्छ भनेर कार्यक्रम तय गर्ने भ्रमणको प्रमुख उद्देश्य रहेको उनको भनाई छ । 

त्यो बाहेक प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत गृहमन्त्रीसँगको भेटका लागि तयारी थालेको छ । उनीसँगको भेटको क्रममा नेपालले नेपाली कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको व्यवस्था लगायतका विषय उठान गर्ने मन्त्रालयले जनाएको छ । 

मलेसियामा ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छ । मलेसियाले घरेलु कामदार समेत माग गर्ने जनाएको छ । उक्त विषयमा नेपाली अधिकारीहरूसँग छलफल गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप