बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
टिप्पणी

रविको अधैर्यताले ल्याउन सक्ने सङ्कट

बिहीबार, १९ माघ २०७९, १५ : १५
बिहीबार, १९ माघ २०७९

लोक प्रचलनमा एउटा भनाइ छ– ‘तिमी समयको अघि पनि छैनौँ, समयको पछि पनि छैनौँ, तिमी सधैँ समयको बीचमै छौ ।’ अर्थात् हरेक अवसरको समय हुन्छ तर त्यो सँगसँगै हुन्छ । जब समयभन्दा अघि जाने प्रयास गरियो वा समयभन्दा धेरैपछि पुगियो भने अनि बित्यास पर्छ । हो, अहिले रवि लामिछाने स्वयंले आफ्ना लागि बित्यास निम्त्याइरहेछन् । उनी फगत समयभन्दा अघि पुग्न खोजे । तर समयले उनका लागि रफ्तार बढाउने कुरै थिएन । ऊ आफ्नै गतिमा थियो । तर रवि समयको गति उछिन्न खोज्दै थिए । संसारमा समयलाई उछिन्न कुनै चमत्कारिक शक्ति देखिएको छैन । झन् रविले त यो सक्ने कुरै भएन । हो उनले राजनीतिमा समयसँगै फड्को मारेकै थिए । समयको वेगकै समानान्तरमा राजनीति गर्न सफल पनि भए । यहाँसम्म ठिकै छ । समय यही भनिरहेको थियो । 

यो गति राजनीतिकै रूपमा चल्नुपर्थ्यो तर उनी शासकको रफ्तारमा दौडन प्रयास थाले । तर समयले रविलाई त्यो काम पर्खन भनिरहेको थियो । रवि भने समय अगावै शासक बन्न खोज्दै थिए । समयले भने रविको तालमै रफ्तार बढाउने सम्भावना थिएन । किनभने समय एक अटल गतिशील क्रिया थियो । रवि समयलाई नै आफ्नो काबुमा राख्न कोसिस गर्दै थिए । न यो सम्भव थियो, न भविष्यको सम्भावना थियो । बरु भविष्यको राजनीति सङ्कटलाई निम्त्याइदियो । अब रविका लागि भविष्यमा समयको वेगसँगै गर्ने राजनीति मौका पनि गुम्ने सम्भावना बढ्दै गयो । समयले रविलाई भनिरहेको थियो, ‘अहिले तिमी राजनीतिकै दौडमा कुदिरहनु, भोलि तिमी शासकमा कुद्न पाउनेछौ ।’ तर रविले समयको कुरै सुनेनन् । उनी यतिबेला समयभन्दा पर हुत्तिसकेका छन् । अहिलेसम्म समयभन्दा अघि र समयभन्दा पछि कोही छैन । 

रविले ‘नो, नट अगेन’ भनेकै आधारमा भोट बटुलेका थिए । यो उनको नयाँपन थियो । यसमा पुराना दलका मतदातालाई पनि उत्साह भरेको थियो । स्वयं पुराना नेताहरू पनि तरङ्गित थिए । 

तत्कालीन शक्तिमा हुँदा जयप्रकाश गुप्तालाई अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो । उनको मुद्दा ०५९ सालमा दर्ता थियो । त्यतिबेला कांग्रेस शक्तिमा थियो । तर उनले सुख पाएनन् । उनको मुद्दा उल्टिएर ०६९ सालको चैतमा जेल चलान भए । 

ओजपूर्ण बोली, विश्वासिलो शैली र भरोसायोग्य वाचा रविमा देखेर जनताले भोट दिएका थिए । यसमा राजनीति गन्ध थिएन । मात्र रविको कञ्चन स्वरहरूले भोट तानिरहेको थियो । बालुवाटारदेखि बालकोटसम्म, धुम्बाराहीदेखि कोटेश्वरसम्म धाउनकै लागि ती लाखौँ नयनहरूले रविलाई भोट दिएका थिएनन् । बालकोट र बालुवाटारकै प्रतिनिधि बन्न रविलाई अनुमति थिएन । ती ठाउँमा धाउनेहरू त हजारौँ व्यक्तिहरू पहिल्यै तिनै पुराना दलहरूमै थिए । किन, यहाँ नयाँ रवि चाहियो ? पुराना रविहरूले जनतालाई धोका दिएर जनताले नयाँ रवि खोजेका थिए । तर यतिबेला नयाँ रवि पनि बालकोट र बालुवाटार धाउँदा देशभरका लाखौँ चेहराहरू घोर निराशमा छट्पटिएका छन् ।

रवि जब नागरिकताको सवालमा चुकेका थिए, तब उनी संयम हुन जरुरी थियो । सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आउन बाँकी नै थियो । सायद पूर्ण फैसलाले रविलाई सहज बनाउला वा झन् कठिन अवस्था सिर्जना गर्ला, त्यो त पर्खन सक्नुपथ्र्यो । 

अर्को कुरा प्रहरीमा राहदानीको अनुसन्धान चलेको छ । यसलाई सजिलै रविले नजरअन्दाज गर्न मिल्दैनथियो । उनले यसलाई बेवास्ता गर्दै पुनः मन्त्री बन्न प्रयास गर्नु आफैँमा गलत कदम थियो । रविलाई लागेको हुनसक्छ, मन्त्री भएपछि यी सबै तमाम आरोपहरू खारेज हुनेछन् वा आफ्नो पक्षमा यी मुद्दाहरू ल्याउन सकिन्छ । यो शतप्रतिशत भ्रम मात्र हो । यसका केही नजिरहरू छन् । विश्वका धेरै देशहरू र नेपालमै सबैभन्दा बढी भ्रष्टाचार वा फौजदारी अभियोगमा जेल चलान भएका मन्त्रीहरू नै छन् । उनीहरू मन्त्रीमा भए पनि न त्यो मन्त्री पदले काम गर्यो न त्यो शक्ति उपयोग भयो । त्यसैले आरोपहरूलाई खेलाँची गर्न हुँदैन । 

तत्कालीन शक्तिमा हुँदा जयप्रकाश गुप्तालाई अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो । उनको मुद्दा ०५९ सालमा दर्ता थियो । त्यतिबेला कांग्रेस शक्तिमा थियो । तर उनले सुख पाएनन् । उनको मुद्दा उल्टिएर ०६९ सालको चैतमा जेल चलान भए । 

उनले सफाइ नपाएपछि अहिले उनी तरकारी खेती गरेर बसेका छन् । गुप्ता देशकै शक्तिशाली सञ्चारमन्त्री भइसकेका भए । पूर्व पत्रकार पनि हुन् । बोली स्पष्ट थियो । देशकै ठूलो दलको नेता थिए । पछि एउटा फोरम दलको अध्यक्षसमेत भए । तर सारा शक्तिहरू कानुनका अगाडि निरिह साबित भए । 

यो नजिरबाट आरोपित राजनीतिज्ञले मनन गर्न सक्नुपर्छ । शक्ति र पदबाट आरोपहरू कहिल्यै खण्डन हुँदैनन् । बरु पद बाहिर बसेका कयौँ नेताहरू कानुनका नजरमा जोगिएका छन् । पदकै आडमा शक्ति उपयोग गर्न खोज्दा गोविन्दराज जोशीदेखि खुमबहादुर खड्काले जेल सजाय भोगे । दुवै गृहमन्त्री भइसकेका व्यक्ति हुन् । 

नेपालको कानुन अमेरिका, अलिखित बेलायत र भारतको समिश्रण छ । अर्थात् प्रजातान्त्रिक विधिमा आधारित कानुन छ । झन् अहिलेको संविधानले कानुनभन्दा माथि कोही छैन भन्ने सावित गरिदिएको छ । 

यसको एउटा उदाहरण कृष्णबहादुर महरासँग जोडिएको घटना ताजै छ । आफ्नै पार्टीको प्रधानमन्त्री, आफ्नै दलको झन्डै दुइ तिहाइ सरकार । आफैँ सर्वोच्च पदमा आसिन । तर यी तमाम शक्ति र पदहरू हुँदाहुँदै पनि १८ कात्तिक २०७६ मा पूर्व सभामुख महरा जेल चलान भए । भलै उनले अदालतबाट सफाइ पाएर अहिले राजनीतिमा सक्रिय छन् । तर कानुनका अगाडि त्यो शक्ति र पद फिक्का रहेछ भन्ने त प्रमाणित भयो नि त । त्यसैले पदमा भए मात्र आफूमाथि लगाइएका आरोपहरू खण्डित हुनेछन् भन्ने भ्रम सबैभन्दा बढी दृष्टिदोष मात्र हो । यसबाट मुक्त हुनैपर्छ । 

अब एकछिन लागौँ, रविको राजनीति दौडधुपबारे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले सत्तामा पठाएका होइनन् । सत्ताधारीलाई खबरदारी गर्न मात्र पठाएका हुन् । यो सामान्य तर अति संवेदनशील विषय बुझ्न रास्वपा चुकिसकेको छ । 

रविले अर्को महत्त्वपूर्ण विषय चटक्कै बिर्से । त्यो हो, पार्टी सभापतिमाथि नै अनेक आरोप लाग्दा त्यो दलका नेता, कार्यकर्ता र समर्थकमा कति पीडा हुन्छ भन्ने कुरा । अहिले रास्वपामा जोडिएका सबै नागरिकहरूलाई पीडा थपिएको छ ।

कुनै एक दलको बहुमत नआएकाले संयुक्त सरकार बन्नु स्वाभाविक हो । तर सरकार बन्न रास्वपाको आवश्यकता थिएन । यतिबेला सबैभन्दा बढी रास्वपा सत्तालोलुप देखिएको छ । यसले रास्वपाले हिजो जनतालाई देखाएको बाटो बिराएको छ । अरूतिर ठड्याएको एउटा औँलाभन्दा आफैँतिर फर्किएका चारवटा औँलाले रास्वपालाई गिज्याइरहेको छ । किन रास्वपाले बाटो बिरायो ? यसका केही कारण छन् । 

 १० पुस २०७९ सालमा सरकार निर्माणमा जब एमाले अध्यक्ष केपी ओलीले खेल खेल्न सुरु गरे अनि रास्वपा अध्यक्ष रवि लामिछाने जान–अन्जानमा रूपान्तरण भए । सत्ता, सरकार, मन्त्री, सुविधा, शक्ति आदि जस्ता मोहले रविलाई रूपान्तरण गरिदियो । अघिल्लो दिनसम्म रास्वपा सरकारमा जाने गाइँगुइँ थिएन । तर ओलीको एकछिनका प्रवचनले रवि भुलभुलयैमा परे । अनि सत्ताको चास्नीमा डुबुल्की मार्न पुगे । यहीँबाट रास्वपाले बाटो बिराएको थियो । जुन गलत बाटोमा चलेको रास्वपाको गति रफ्तारमा छ । फेरि पनि सम्झनुपर्ने कुरा के हो भने जनताले यो गलतबाटोमा हिँड्न रास्वपालाई भोट दिएका थिएनन् ।  

रविले अर्को महत्त्वपूर्ण विषय चटक्कै बिर्से । त्यो हो, पार्टी सभापतिमाथि नै अनेक आरोप लाग्दा त्यो दलका नेता, कार्यकर्ता र समर्थकमा कति पीडा हुन्छ भन्ने कुरा । अहिले रास्वपामा जोडिएका सबै नागरिकहरूलाई पीडा थपिएको छ । आफ्नै पार्टीको सभापतिमाथि लगाइएका तमाम आरोप झेल्न ती पार्टीका नेताहरूलाई कति लज्जित बनाएको होला ! यो पीडामा मलहम लगाउन रविले भेउ पाउनै सकेका छैनन् । झन् झन् बालुवाटार र बालकोट धाउन छोडेका छैनन् । 

रविले के बुझ्न पथ्र्यौ भने पदमा बसेर होइन, पदबाहिर बसेर आफूमाथि लगाइएका आरोप सल्ट्याउन सजिलो हुन्छ । जब कुनै व्यक्ति पदमा पुग्छ, अनि सम्पूर्ण नागरिकको तारो त्यो व्यक्ति हुन्छ । अहिले जुन आरोप तपाईंमाथि लगाइएका छन्, एउटा सामान्य नागरिकका लागि सामान्य तरिकाले हल हुने विषय हुन् । पदले मानिसलाई जिम्मेवारी बनाउँछ र त्यो व्यक्ति क्लिन हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहँदै आएको छ । 

रविको नियत गलत होइन, परिवेशले अन्जानवस भएका भवितव्य गल्ती र कमजोरीको रूपमा व्याख्या हुने हुन्थ्यो । जसले गर्दा अदालत, प्रशासनलगायतबाट रविलाई निकै सहज महसुस हुन्थ्यो । तर अहिले बालकोट, बालुवाटार रवि धाएको देखेर तमाम सरकारी अड्डाहरू चकित छन् ।

रविले बुझ्नपर्ने अर्को महत्त्वपूर्ण विषय छ, सल्लाहकार टिम । अब रास्वपा सामान्य पार्टी रहेन । यो एउटा राष्ट्रिय शक्ति हो । यो पार्टीको सभापतिले आफ्ना सल्लाहकारहरू विषयविज्ञ र परिपक्व व्यक्तिहरू राख्नुपर्छ । रविसँग अहिले कुनै त्यस्तो व्यक्ति साथमा छैन । 

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राज्यले तोकेका व्यक्तिका अतिरिक्त १२५ जना त आफूभन्दा सिनियर सल्लाहकार सदस्य राखेका थिए । फलस्वरूप उनी विश्वभरका मानिसहरूबीच हाई हाई बने । उता डोनाल्ड ट्रम्पले भने आफ्नो राष्ट्रपति कार्यकालमा सिनियरलाई सल्लाहकार राख्न मानेनन् । जसले गर्दा दोस्रो पटक राष्ट्रपति हुने बाटो ट्रम्पको बन्द भयो । नेतृत्वले गलत ठाउँमा टेक्न खोज्दा सही सल्लाहकारले बचाउँछ । 

नेपालमा किन अहिलेसम्मका नेताहरू र शासनसत्तामा गएका व्यक्ति असफल भए ? किनकि उनिहरूले सल्लाहकार अति जुनियर व्यक्ति राख्छन् । जसले दिने सल्लाहबाट नेताहरू सधैँ उल्टो बाटो हिँडिरहे । रास्वपाका सभापति पनि उही पुरानै दलकै नेताहरूको बाटोमा हिँडिरहेका छन् । सल्लाह दिने व्यक्ति त यसै त सिनियर हुनैपर्छ, त्यसमाथि विषय बुझेको हुन अनिवार्य छ । तर यहाँ निकट, आफन्त, पार्टीको सदस्य हेरेर मात्र सल्लाहकार राखिन्छ । यो सबैभन्दा गलत कदम हो । जुन कदम रविलेले पनि चालिरहेका छन् ।

अतः रास्वपाले लिएको सत्ता लिप्साको बाटो एक अनिष्टको साङ्केतिक चित्र हो । यो कालो छाया हो । संयुक्त सरकारमा गएर कुनै एक दलले नयाँ काम गर्न सक्छु भन्ने सबैभन्दा झुर भ्रम हो । सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा हुने हुँदा मन्त्री एक्लैले न कुनै निर्णय गर्न सक्छ न कुनै मनमौजी काम गर्न सक्छ । रास्वपाले यतिबेला खबरदारी मात्र गरिरहेको भए, पार्टीको लोकप्रियता मात्र बढ्ने थिएन, रविमाथि लगाइएका आरोपहरू बिस्तारै हल हुँदै जान्थे । भोलि सरकार चलाउने यही दल हो, भोलिको प्रधानमन्त्री रवि हो, त्यसैले यस्ता आरोपहरू चर्काउन हुँदैन भनेर अनुसन्धानमा खटिएका अधिकारीहरूले पनि विवेक प्रयोग गर्दै जान्थे । 

रविको नियत गलत होइन, परिवेशले अन्जानवस भएका भवितव्य गल्ती र कमजोरीको रूपमा व्याख्या हुने हुन्थ्यो । जसले गर्दा अदालत, प्रशासनलगायतबाट रविलाई निकै सहज महसुस हुन्थ्यो । तर अहिले बालकोट, बालुवाटार रवि धाएको देखेर तमाम सरकारी अड्डाहरू चकित छन् । देशभरका नागरिकहरू अचम्मित छन् । यसले रविमाथि विश्वासको सङ्कटको चुचुरो लागेको छ । फलस्वरूप रविमाथि लगाइएका आरोपहरूमा सहानुभूति र विवेकका निर्णयहरू सदाका लागि बन्द भएका छन् । 

अब कानुनले जे गर्छ, त्यही सबैले गर्दै जानेछन् । यसले रास्वपा र स्वयं रविका लागि सबैभन्दा अनिष्टको सङ्केत चित्रण गर्छ । जुन रास्वपा र रविलाई भोट दिएका ती लाखौँ अनुहारहरू फेरि अभागीकै धरातलमा पछारिएका छन् । यो सबैभन्दा दुर्भाग्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप