शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गृहयुद्ध’ मा अड्किएको रविको वैकल्पिक राजनीति

शुक्रबार, २० माघ २०७९, १६ : २३
शुक्रबार, २० माघ २०७९

वैकल्पिक राजनीतिको नारा दिएर उदाएका पूर्वपत्रकार रवि  लामिछाने यतिबेला पनि चर्चाको शिखरमै छन् । उनी जसरी राजनीतिमा आएका थिए, अहिले त्यो परिवेश छैन । उनलाई मतदान गर्ने नागरिकले रविलाई सत्तामै जाने जनादेश भने दिएका थिएनन् । उनले चुनाव जिते भने संसदमा सरकारका गलत कामकारबाहीको कडा विरोध गर्लान् भन्ने थियो । 

टेलिभिजन कार्यक्रम चलाउँदा जसरी उनले सबैलाई खबरदारी गर्थे, त्यही अपेक्षाकासाथ मानिसहरूले उनलाई हेर्न चाहेका थिए । तर रवि जसरी पनि सत्तामा जान चाहन्थे । उनी शेरबहादुर देउवा, केपी ओली वा जोसित पनि सरकारमा जानेवाला थिए । यसका पछि केही खास कारणहरू थिए । 

उनीमाथि दोहोरो नागरिकता र राहदानीको मुद्दा थियो । पासपोर्टको विषय त प्रहरीले छानबिन गरिरहेको थियो । जब उनले सत्ता गठबन्धनमा सहभागी हुने निर्णय गरे उनको सत्तारोहणको चर्चा चल्न थाल्यो । उनी गृहमन्त्री बन्ने हल्ला चलिरहँदा पनि कतिपय मानिसहरूले पत्याएका थिएनन् । जोमाथि प्रहरीले छानबिन गरिरहेको छ त्यही व्यक्ति कसरी गृहमन्त्री बन्न सक्छ ? सबैको मनमा यही प्रश्न थियो । तर भयो त्यही । 

उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए । लोकतन्त्रको लामो लडाइँ लडेका केपी ओली र वर्तमान संविधानका निर्माता कहलिएका प्रचण्ड सजिलै एउटा फौजदारी अभियोगमा छानबिन भइरहेको व्यक्तिलाई गृह मन्त्रलाय सुम्पिन तयार भए । 

नागरिकता प्रकरणमा उनलाई सर्वोच्च अदालतले दोषी करार गर्‍यो । उनी सांसद र मन्त्रीबाट पदमुक्त भए । अदालतको फैसला अनुसार उनले नेपाली नागरिकता पुनः प्राप्त गरे  । त्यसपछि एकै दिनमा तीन वटा बैठक गरेर आफू पार्टीको सभापति पनि भए । अनि लागे गृहको लबिङमा । ‘मलाई त्यही केटी चाहिन्छ..’ शैलीमा गृह मन्त्रालय नै चाहिन्छ भन्ने जिद्दीमा लागे । गृह नपाए सरकार नै छोड्न धम्की दिन थाले । यी सबै क्रियाकलापले रवि कस्ता व्यक्ति हुन् र उनले वकालत गरेको वैकल्पिक राजनीतिभित्र लुकेको रहस्य के रहेछ भन्ने उजागर हुन थालेको छ । 

उनीमाथिको राहदानी मुद्दा त अहिले पनि चलिरहेको छ । उनले गृह नै खोज्नुको अर्थ बुझ्न कसैलाई गाह्रो छैन । कुरा प्रस्ट छ, गृह मन्त्रालय आफ्नो भागमा लिएर उनी आफ्नो अभियोग ढाकछोप गर्न चाहन्छन् । त्यही उद्देश्यले सरकारमा गए र अहिले पनि गृह नै मागिरहेका छन् । 

उनी साँच्चिकै नैतिकता र आदर्शको राजनीति गर्न चाहन्छन् भने यस्तो सिद्धी छाड्नुपर्छ र आफूलाई कानुनको परीक्षणमा ल्याउनुपर्छ । आफूमाथि लागेको अभियोगमा सफाइ पाएर मात्र उनले सत्ताको भर्याङ उक्लने रणनीति अख्तियार गर्दा उनको पार्टी र उनलाई पनि फाइदा हुनेछ । 

अन्यथा उनको दल पनि पुरानै दलहरूभन्दा फरक हुने छैन । मुद्दा किनारा नलागेसम्म आफ्ना दलका सांसदहरूलाई नै सरकारको जिम्मेवारी सुम्पेर पार्टी निर्माणमा लाग्दा उनी भविष्यमा ठुलो दलको नेता पनि हुन पाउलान् । हैन भने उनले आफ्नै दलको पनि विश्वास गुमाउने परिस्थिति नआउला भन्न सकिन्न । उनले पनि त आफ्ना नेताहरूलाई विश्वास गर्नुपर्‍यो नि । 

रविहरूको राजनीतिमा आगमनले जनतामा केही आशा नपलाएको होइन । ठुला र पुराना दलहरूलाई सुध्रन वा समाप्त हुन ठुलो दबाब सिर्जना भएको पनि हो । रवि जस्ता राजनीतिका नव प्रवेशीहरुले सत्तालाई निरन्तर खबरदारी गरिरहने छन् र जनताको सच्चा पहरेदारी गर्नेछन् भन्ने आकाङ्क्षामा अहिले निराशा छाउन थालेको छ । जनतामा रहेको यो आशालाई रविलाई मर्न दिनु हुँदैनथ्यो । अर्को निर्वाचनमा उनीहरु देशव्यापी रूपमा फैलिन सक्थे । उनीहरुले भने जस्तै वैकल्पिक राजनीतिको औचित्य पनि स्थापित हुन सक्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमलेश डी.सी.
कमलेश डी.सी.
लेखकबाट थप