शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निगमद्वारा कर्णालीमा अनलाइन टिकट सुरु

शुक्रबार, २० माघ २०७९, २० : ४३
शुक्रबार, २० माघ २०७९

सुर्खेत । नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ ।

निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो । नेपालगञ्जबाट हवाई यातायात जोडिएका जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला, रुकुमपश्चिम र बाजुरामा ई–टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । हिजोदेखि अनलाइन टिकट सेवा सुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक कार्यान्वयनमा आएको उनले बताए ।

नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद छिरिङल्यामु लामा ९तामाङ० ले कर्णाली र सुदूरपश्चिमका दुर्गममा जिल्लामा शक्ति र पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै यही माघ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई मागपत्र बुझाएका थिए । 

४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी जुम्ला विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिइएको बताए । “स्थल यातायातलाई पनि सहज र सुरक्षित बनाउन कर्णाली राजमार्गको समस्याका विषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखिएको छ”, सांसद लामाले भने, “ हेरौँ यसबाट नियमित स्थल र हवाई यातायात हुनुका साथै नागरिक सेवामा केही सहजता आउला ।” 

पर्यटन मन्त्री किरातीले टिकटमा नागरिकले भोग्नु परेको सास्ती अन्त्य गर्न तत्काल ई–टिकट लागू गरिएको बताए । मन्त्री किरातीले यो कामका लागि सांसद लामाको पहलले सार्थकता पाउने बताए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले ई–टिकट लागू हुँदा अब सधैँ एयरपोर्ट धाउनुपर्ने अवस्था अन्त्य भएको र यसले नागरिकलाई सजिलो हुने बताए । निगम जुम्लाका प्रतिनिधि डम्बर खत्रीले जुम्लामा अनलाइन टिकट कार्यान्वयन भएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप