बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ : मन्त्री खाँण

शनिबार, २१ माघ २०७९, २२ : ४५
शनिबार, २१ माघ २०७९

मेलम्ची । खानेपानीमन्त्री अब्दुल खाँणले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खाँणले नीतिगत समस्यालाई हल गर्दै कर्मचारीको समस्यालाई पनि सम्बोधन गरिने बताए । सोही क्रममा उनले स्थनीयवासीले उठाएका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनामा हालसम्म भएको लगानी, विसं २०७८ असारमा गएको बाढीले पुर्याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि गर्नुपर्ने कामका विषयमा समेत विस्तृत जानकारी दिएका थिए । उनले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए ।

बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब रु दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहानस्थलमा निर्माण भएकोे पक्की संरचना बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोलहाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरण र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो । आयोजना निरीक्षणका क्रममा मन्त्री खानसहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलीलगायत मुहानस्थल पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप