विहीबार, १६ चैत्र २०७९
ताजा लोकप्रिय

फागुन १८ देखि नवौँ सुन्दरबजार महोत्सव हुने

आइतबार, २२ माघ २०७९, ०७ : ५५
आइतबार, २२ माघ २०७९

लमजुङ । सुन्दरबजारमा आगामी फागुन १८ गते देखि २८ गते सम्म नवौँ सुन्दरबजार महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार इकाई समितिको आयोजनामा सुन्दरबजारमा यस अघि फागुन ५ गते देखि महोत्सव हुने भनिए पनि प्राविधिक कारणले महोत्सव केहि दिन पछाडि सरेको हो ।  

देशका विभिन्न स्थानमा आयोजना भएका महोत्सवमा प्रदर्शनी हुने बाल उद्यान र कलाकार समेत व्यस्त भएकोले सोही अनुसार समय मिलाउँदा महोत्सव फागुन १८ गतेबाट सुरु गर्न लागिएको जानकारी लमजुङ उद्योग वाणिज्य सङ्घ सुन्दर बजार इकाईका सचिव खेम गुरुङले दिएका छन् ।

उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण भन्ने नाराका साथ सञ्चालन हुने उक्त महोत्सव अघिल्ला वर्षहरूमा जस्तै सुन्दर बजारको कृषि क्याम्पसमा हुने बताइएको छ ।

लउवा सङ्घ सुन्दरबजार इकाईको आयोजनामा सुन्दरबजारमा बर्षेनी महोत्सवको आयोजना हुँदै आए पनि विगतका केहि वर्ष कोरोना महामारीका कारण महोत्सव सञ्चालन हुन सकेको थिएन । स्थानीय स्तरमा रहेका ऐतिहासिक, धार्मिक स्थानहरूको पहिचान र प्रचार प्रसार गर्दै परम्परागत कला र संस्कृतिको समेत जगेर्ना गर्ने महोत्सवको लक्ष्य रहेको आयोजकले बताएको छ ।

आयोजकका अनुसार व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, औद्योगिक क्षेत्रमा लगानीको वातावरण तयार गर्न महोत्सवले सहयोग पुग्ने गरी महोत्सव आयोजना गर्न लागिएको लउवासंघ सुन्दरबजार इकाईका अध्यक्ष डण्डबहादुर सुनारले बताए ।

व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा बाहिरका व्यापारीहरू आएर पैसा बाहिर लैजाने बताइरहेको समयमा महोत्सवमा हुने स्टलहरूमा स्थानीय व्यापारीहरूलाई नै प्राथमिकता र प्रोत्साहन गर्ने गरी महोत्सवको आयोजना गर्न लागिएको जनाइएको छ ।

महोत्सवमा स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गर्नको लागि विभिन्न राष्ट्रिय कलाकारहरूको समेत सांस्कृतिक कार्यक्रम राखिनेछ । महोत्सवको लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँग समन्वय गरी आर्थिक विकासमा टेवा पुर्याउने र महोत्सवबाट प्राप्त आम्दानीबाट इकाईको कार्यक्षेत्रमा व्यावसायिक हितका कार्य गर्ने साथै सचिवालयको व्यवस्थापन गर्ने लक्ष्य लिइएको आयोजकले बताएको छ ।

नेपाल भित्रका विभिन्न जिल्लाका औद्योगिक, व्यापारिक, सांस्कृतिक तथा कृषिसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरू लक्षित प्रवर्द्धक हुने अपेक्षा गरिएको सचिवालय संयोजक खेम गुरुङले जानकारी दिए । महोत्सवमा उद्योगी, व्यवसायी, कृषक, वित्तीय संघसंस्था, विद्यालय तथा क्याम्पसका विद्यार्थी, सोधकर्ता, प्राध्यापक, कर्मचारी, पत्रकार, व्यवसायी तथा सर्वसाधारण गरी १ लाख ५० हजार जनाले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, लोक दोहोरी गीत प्रतियोगिता, मावि स्तरीय लोक नृत्य प्रतियोगिता, जातीय तथा सांस्कृतिक झलकहरु, बाल उद्यान, सरकारी तथा गैर सरकारी संस्थाका गतिविधि प्रदर्शनी, खुल्ला लोकगीत प्रतियोगिता, होमस्टे सम्बन्धी प्रचार, कृषि, घरेलु तथा हस्तकला प्रदर्शनी, फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, शैक्षिक तथा विज्ञान प्रदर्शनी जस्ता कार्यक्रमहरू आयोजना गरिने बताइएको छ ।

महोत्सवलाई सुन्दरबजार लगायत छिमेकी नगरपालिका, वडाहरू, राष्ट्रिय औद्योगिक प्रतिष्ठान, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्थाहरू, सहकारी संस्थाहरू, उद्यमी व्यवसायी, युवा क्लब, सामुदायिक वन, आमा समूह लगायतले सहयोग गर्ने अपेक्षा गरिएको आयोजक लउबासंघ सुन्दरबजार इकाईका अध्यक्ष सुनारले बताए ।

महोत्सवलाई सफल बनाउनको लागि १ सय ५५ जनाको मूल समारोह समिति गठन गरिएको छ । जस अन्तर्गत ३८ बटा उपसमितिहरु गठन गरिने र ११ जनाको कार्यसम्पादन समिति गठन गर्ने बताइएको छ ।

महोत्सवमा ६३ लाख ६१ हजार आम्दानी गर्ने अनुमान गरिएको छ । जसबाट सबै किसिमका पुरस्कार र खर्च कटाएर बाँकी रहेको रकमले लउबा सङ्घ, इकाई कार्यालय व्यवस्थापन र केहि प्रतिशत सामाजिक सेवामा खर्च गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनको अवसरमा जानकारी दिइएको थियो ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप