शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुपोषित बालबालिकाको पहिचान गर्दै सिद्धार्थ नगरपालिका

आइतबार, २२ माघ २०७९, १२ : ०५
आइतबार, २२ माघ २०७९

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशङ्का ‘स्क्रिनिङ्ग’ (पहिचान) गर्न सुरु गरेको छ । नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रूपमा शिविर सञ्चालन गरी ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो ।

यी तीन वटै वडाले ६ महिना देखि २३ महिना सम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरूको पहिचान ९स्क्रिनिङ्ग० का लागि गत शुक्रवार देखि वडा नम्बर ३ बाट प्रोत्साहन सहितको नियमित वृद्धि अनुगमन शिविरको शुभारम्भ गरेका छन् । यी तीन वटै वडामा शिविर सञ्चालन हुनेछन् ।

‘केही शिशुहरु कुपोषणको सिकार भएको पाइएपछि हामी तीन वटा वडाका वडाअध्यक्षहरुले संयुक्त रूपमा शिविरको सुरुवात गरेका छौँ’ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले भने, ‘यो शिविरले तीन वटै वडाकावासीहरु लाभान्वित भई शिशुहरूको वृद्धि विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’ ‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारा सहित शुभारम्भ भएको शिविरमा यी वडा बाहेक नगरका अन्य वडावासीका बालबालिकाहरूमा कुपोषण सम्बन्धी आशङ्का भए शिविरको लाभ लिन सक्ने उनले बताए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले शिशुहरूलाई पोसिलो खाना खुवाउनुपर्ने निकै आवश्यक रहेको उल्लेख गर्दै बिरुवालाई दिनहुँ पानी दिएर हुर्काए झैँ शिशुहरूलाई पनि पोसिलो खाना खुवाउनेमा कमी नगर्न आग्रह गरे । उनले पोसिलो खानाले शिशु स्वास्थ्य रहने र औषधी उपचारमा आर्थिक भार पनि नपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले महिला गर्भवती अवस्थामा भएदेखि नै पोसिलो खानामा ख्याल राखे शिशु पनि स्वास्थ्य जन्मने र कुपोषणको सिकार हुनेबाट जोगिने बताइन् । शिविरमा आएका शिशुहरूको नियमित तौल गर्ने, चार सय ग्रामको सर्वोत्तम पिठो उपलब्ध गराउने र आवश्यक परेको अवस्थामा स्वास्थ्य उपचार समेत गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप