शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुकुम्बासीका नाममा जग्गा लिन खोजेको आरोप लागेपछि बोले अजेयराज सुमार्गी

आइतबार, २२ माघ २०७९, २२ : ३३
आइतबार, २२ माघ २०७९

काठमाडौंँ । ‘राष्ट्रिय भूमि आयोग, जिल्ला समिति मकवानपुरले व्यवसायी अजेयराज सुमार्गीकी आमा विश्वाकान्ती कलावती सुमार्गी र उनका परिवारलाई सुकुम्बासीका नाममा जग्गा उपलब्ध गराउन खोजेको’ भनी केही सञ्चारमा आएका समाचारप्रति व्यवसायी सुमार्गीले आपत्ति जनाएका छन्। 

समाचारको खण्डन गर्दै सुमार्गीले आफ्नो परिवारले सुकुम्बासीका नाममा जग्गा लिन खोजेको नभइ पाँच दशकदेखि आफ्नो पितापुर्खाले भोगचलन गर्दै आएको उक्त जमिनमाथि ‘पैतृक सम्पत्तिमाथि हकभोग कायम रहने’ नेपाली नागरिकको नैसर्गिक अधिकारअनुरुप मागदाबी मात्रै गरिएको बताए।

उनले भने, ‘हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा रहेको उक्त जमिन मेरो हजुरबुबाको पालादेखि हाम्रो परिवारले भोगचलन गर्दै आएका हौं। मेरो बुबाको निधनपछि उक्त जग्गा मेरी आमा विश्वकान्ति कलावती सुमार्गी र मेरा काकाहरूले भोगचलन गर्दै आउनुभएको हो।’

सुमार्गीले आफ्नो परिवारसँग उक्त जग्गाको तिरो तिरेको प्रमाण समेत सुरक्षित रहेको बताए। ‘मेरो ठूलोबुबाले उक्त जग्गाको तिरो तिर्नुभएको विसं २०३३ सालको प्रमाण उपलब्ध छ। विसं २०३८ मा उक्त जग्गाको चारकिल्ला निर्धारण भएको कागजपत्रहरू छन्। पुराना प्रमाणहरूलाई बेवास्ता गरी नयाँ विषयजसरी प्रस्तुत गरी बदनाम गर्न खोजिएकोमा मेरो आपत्ति छ’, उनले भने।

सुमार्गीले आफू र आफ्नो परिवार सुकुम्बासी नभएको र सुकुम्बासीका नाममा जग्गा हडप्न पनि नखोजिएको बताए। दशकौंदेखि पुर्जा नबनेको पैतृक सम्पत्तिको पुर्जा प्राप्तिमा निम्ति मात्रै भूमि आयोग जानुपरेको उनको भनाइ छ। पैतृक जग्गाको पुर्जा लिन खोज्दा अनर्गल प्रचार गर्ने सञ्चारमाध्यमलाई पैतृक जग्गाको पुर्जा दिने अर्को कुनै निकाय भए देखाइदिन पनि उनले चुनौती दिए। 

दशकौंदेखि भोगचलनमा रहेको, भोगचलन पुष्टि गर्ने दर्जनौं प्रमाण पनि भएको, तर लालपुर्जा प्राप्त नभएको पैतृक सम्पत्तिको पुर्जा लिन खोज्दा विषयवस्तुलाई बङ्ग्याएर बदनाम गर्न खोजिएको सुमार्गीको भनाइ छ। 
२०४१ सालमै जिल्ला मालपोत कार्यालय मकवानपुरले पनि भोगचलनको प्रमाणपत्र जारी गरेको उनले बताए। ‘त्यसबेला मालपोत कार्यालय अर्थ मन्त्रालय अन्तर्गत रहन्थ्यो। जिल्ला मालपोतले २०४१ सालमै स्पष्टसँग कार्यालयको साविक श्रेस्ता र स्थानीयको सर्जमिनका आधारमा उक्त जमिनमाथि पराजुली परिवारको भोगचलन प्रमाणित गरिदिएको छ’, सुमार्गीले भने।


हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरका प्रदीप पराजुली व्यवसायी सुमार्गीका ठूलोबुबा खेमनाथका छोरा हुन्। सुकुम्बासी आयोगले पराजुली परिवारको भोगचलन पुष्टि हुने पुराना कागजात र स्थानीयको सर्जमिनका आधारमा पशुपतिनगरको उक्त जग्गामध्ये १ बिघा १ कठ्ठा १५ धुर जमिन खेमनाथले भोगचलन गर्दै आएको ठहर गरेको थियो। 

‘तर पुर्जा दिने काम भने भएन’, प्रदीप भन्छन्, ‘बुवाका पालादेखि नै पैतृक जमिनको पुर्जा प्राप्तिका निम्ति संघर्षरत् छौं। प्रमाण पनि छन्, तर सरकारी समिति र आयोगहरू बन्ने र विघटन हुने क्रमले गर्दा मर्कामा पर्दै आएका छौं।’ भूमि आयोगको स्थानीय जिल्ला समितिले केही दिनअघि उजुरबाजुर सम्बन्धी ३५ दिने सूचना जारी गरेपछि केही सञ्चारमाध्यमले आफूलाई सम्पर्क गरे पनि भोगचलन पुष्टि गर्ने कागजपत्रलाई वेवास्ता गरिएको प्रदीपले बताए। 

‘सञ्चारमाध्यमले मेरो भनाइलाई उचित स्थान दिएनन्। मैले पेश गरेका प्रमाणहरूलाई बेवास्ता गरे’, प्रदीप भन्छन्, ‘मेरो बुवाको नाममा जग्गा पास भइआएको २०३३ सालको कागज, मालपोत कार्यालयले २०४१ सालमा प्रमाणित गरी दिएको भोगचलनको निस्सा र २०३८ सालको तिरोको रसिद समेत देखाएँ, तैपनि सुकुम्बासीका नाममा जग्गा हडप्न लागेको हल्ला चलाइयो।’

अरु त अरु २०४१ र २०५८ सालमा भएका सर्जमिनमा हस्ताक्षर गरी उक्त जमिनमा मेरो परिवारको भोगचलनलाई प्रमाणित गर्ने स्थानीयले समेत अहिले आएर सुकुम्बासीका नाममा जग्गा लिन खोजे भनेको सुन्दा दुस्ख लागेको छ’, उनले भने।

यस विषयलाई मसिनोसँग केलाएका अधिवक्ता मुकुन्द न्यौपाने उक्त जमिनमा पराजुली परिवारको भोगचलन खुल्ने प्रशस्त प्रमाण देखिएको बताउँछन्। ‘मौजाबाट रैकर हुँदै कित्ता नम्बर समेत खुल्ने प्रमाण उहाँहरूसँग छन्’, न्यौपाने भन्छन्, ‘पर्तिजग्गा कसरी व्यक्तिको हुन सक्छ भन्ने प्रश्न हुन सक्छ, तर चारकिल्ला खुल्ने प्रमाणमा जमिनको किसिम पर्ति जनाइएको भए पनि व्यक्तिका नाममा रहेका यस किसिमका जमिनलाई सर्वोच्च अदालत समेतले व्यक्तिकै ठहर गरेको प्रशस्त नजिर उपलब्ध छन्।’
दर्तामा छुटेका कारण उक्त जमिनको पुर्जा नबनेको न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप