बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब वित्तीय स्रोत आवश्यक : निर्देशक सापकोटा

सोमबार, २३ माघ २०७९, १६ : ०३
सोमबार, २३ माघ २०७९

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन् ।

सोमवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय श्रोत आवश्यक देखिएको बताए ।

उनले काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत् लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको बताए । 

उनले भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा केही समस्या र चुनौतीहरू आएको बताए ।  

उनले नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत् लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको तथा पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपहरुबाट पानी चुहावट हुने गरेको पाइएको बताए । 

उनले त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको मर्मत कार्य सम्पन्न गर्न अतिरिक्त समय र श्रोत परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले मेलम्चीको पानी दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको जानकारी दिए । 

उनले यसमध्ये हालसम्म करिब ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको र बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याइ परीक्षण सुरु गर्ने लक्ष्य रहेको बताए । उनले अहिले सम्भव भएका स्थानहरूमा वितरण पाइपलाइनहरु सडक खन्नु नपर्ने प्रविधि (एचडिडि) बाट पाइपलाइन बिछ्याउने कार्य गरिराखेको बताए । 

उनले चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैंसेपाटी, वागडोल, सूर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटार लगायतका स्थानमा करिब १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको बताए ।  

पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले दोस्रो पटक मेलम्चीको पानी गत मंसिर २३ गते वितरण भएपछि लिमिटेडले राखेको रेकर्डअनुसार करिब ११ सय वटा चुहावट मर्मत गरेको बताए । 

उनले अहिले पनि पुरानो पाइपलाइनबाट नै पानी वितरण भइरहेको भन्दै पुरानो वितरण सञ्जाल तत्कालीन आवश्यक्तालाई ध्यानमा राखेर मात्रै सञ्चालन गरिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप