बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शुल्क र आवेदन बुझाउने म्याद फरक हुँदा मारमा विद्यार्थी

मङ्गलबार, २४ माघ २०७९, १४ : ००
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तह पढ्नको लागि आवेदन दिने म्यान आज सकिँदै छ । बेलुका ५ बजेसम्मका लागि आवेदन दिन सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ । तर, आवेदन शुल्क बुझाउने म्याद भने २२ माघमै सकिएको छ । जसले गर्दा धेरै विद्यार्थीहरू एकीकृत प्रवेश परीक्षा आवेदन फाराम भर्नबाट वञ्चित भएका छन् । 

पुस १८ गते शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सूचना जारी गरेको थियो । जसअनुसार फाराम पेस गर्ने अन्तिम मिति आज बेलुका ५ बजेसम्म तोकिएको थियो । तर, बैंकमा आवेदन शुल्क दाखिला गर्ने अन्तिम मिति भने २२ माघ २०७९ बेलुका ५ बजेसम्मका लागि तोकिएको थियो । फाराम भर्ने र आवेदन शुल्क बुझाउने मिति फरक फरक हुँदा कैयौँ विद्यार्थी फाराम भर्नबाट वञ्चित भएका छन् । 

उनीहरूले आयोगको कार्यालय पुगेर आजसम्म नै आवेदन शुल्क बुझाउने समय दिन माग गरेका छन् । अनेरास्ववियु केन्द्रीय सदस्य गोरख केसीले पैसा बुझाउने र फाराम भर्ने मिति एकै दिन होला भन्ने सोचमा रहेका विद्यार्थीहरू अहिले फाराम भर्नबाट वञ्चित भएको बताए । 

उक्त सूचनालाई सच्याएर आजकै दिनसम्म पनि आवेदन शुल्क बुझिदिए फाराम भर्नबाट रोकिएका विद्यार्थीहरूलाई सहज हुने उनको भनाई छ । आयोगका अधिकारीहरूलाई यो विषयमा बुझ्दा निर्णय कुनै पनि हालतमा सच्याउन नसकिने जवाफ दिएको बताए । 

‘फाराम भर्ने दिनसम्म नै पैसा बुझाउने म्याद पनि होला भन्ने सोचेर धेरै विद्यार्थीहरू आजै बुझाउन आएका थिए । तर, २२ गतेसम्म पैसा नबुझाएको हकमा फाराम भर्न नमिल्ने भनेपछि धेरै विद्यार्थी फाराम भर्नबाट रोकिएका छन्,’ केसीले भने । 

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले परीक्षा निर्देशनालयबाट सूचना जारी भएकाले आफूलाई कुनै जानकारी नभएको बताए । ‘परीक्षा निर्देशनालयबाट हो सूचना जारी भएको हो । हामीलाई यो विषयमा जानकारी हुदैन । उतै सम्पर्क गर्दा हुन्छ,’ उनले रातोपाटीसँग भने । 

निर्देशनालयका निर्देशक प्रा.डा. संघरत्न बज्राचार्यसँग भने सम्पर्क हुन सकेन । आयोग परिसरमा भेला भएका दर्जनौँ संख्यामा रहेका विद्यार्थीहरूले परीक्षा शुल्क र आवेदन फाराम आज बुझिदिनुपर्ने बताएका छन् । 

आयोगले एकीकृत प्रवेश परीक्षाका लागि नेपाली आवेदनको हकमा ४ हजार र विदेशी आवेदकको हकमा ८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप