मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
संगीत

गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !

मङ्गलबार, २४ माघ २०७९, २२ : १०
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । ‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ । कतिपय भिडियोमा त स्टेजमा गायिकाले यो गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घबाट युवाहरूले मरिहत्ते गर्दै कराउँदै गाएको देख्न सकिन्छ ।  उक्त गीत गायिका एलिना चौहानको  हो ।

जुनीभरिलाई रुवाई गयौ तिमी 

अझै पनि यो मनमा छौ तिमी

धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी 

धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी 

गीतको पहिलो स्थायी अन्तरा हो यो । यही गीतमा पछिल्लो समय रुँदै, चिच्याउँदै भिडियो पोस्ट गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । 

करिब डेढ वर्ष अगाडि नमस्ते प्लस युट्युबबाट सार्वजनिक गीत पछिल्लो समय भाइरल भएको छ । किशोरदेखि युवासम्मको अहिले रोजाइको गीत बन्न सफल यो गीतमा प्रेम पीडा झल्किन्छ । 

यो समाचार तयार गर्दासम्म २ करोड ६० लाख भन्दा बढी पटक हेरिएको गीतको टिकटक भिडियो पनि प्रशस्तै छ । सुवास कार्की ‘कार्की जी’ को शब्द तथा सङ्गीतमा तयार गीतका एरेन्जर विशाल निरौला हुन् ।

गीतको भिडियोमा भने गायिका एलिनाले बादल सिंह ठकुरीसँग अभिनय गरेकी छन् । 

164166378_2589235651378464_3452715543365487511_n

टिनयजर्स प्रेमकथा देखाइएको भिडियोमा गायिका चौहानको मन छुने अभिनय छ । भिडियोमा उनी रोएको ‘रियल’ लाग्छ र दर्शकलाई भित्रैदेखि दुःखको अनुभूति गराउँछ । 

भिडियोमा आफू काल्पनिक भन्दा पनि ‘रियल’ रोएको गायिका चौहानले बताइन् । ‘गीतका शब्द शब्द फिल गर्दै अभिनय गर्दा मेरो आँसुको धारा आफै चुहियो’, चौहानले भनिन्, ‘भिडियोमा देखिएको मेरो आँसु रियल हो ।’

धनगढीकी बालिकाका कारण गीत फेरि हिट

हिट हुन्छ, नाम र दाम कमाउँला भनेर उनले यो गीत गाएकी थिइनन् । न त अहिले जस्तो चर्चा हुन्छ भनेरै उनले सोचेकी थिइन् । उनी आधुनिक गीतमा बिस्तारै चिनिन थालिसकेकी थिइन् । ‘धोकेबाज हौ तिमी’ गीत रेकर्ड अगाडि उनले करिब ३ सय गीत गाइसकेकी थिइन् ।

‘यो गीत हिट होला, अहिले यति चर्चा पाउला भनेर अलिकति पनि सोचेको थिइनँ’, एलिनाले विगत सुनाइन्, ‘कार्की जीले अफर गरेपछि शब्द मन परेर आफूले सामान्य ढङ्गले यो गीत गाएँ ।’

‘कुन गीत कतिखेर हिट हुन्छ भन्न सकिन्न । गीतको अफर आउँदा मैले पारिश्रमिकका लागि गाएको थिएँ,’ चौहानले भनिन्, ‘चल्छ, चल्दैन त्यतातिर ध्यानै थिएन ।’ 

चौहानको यो गीतको चर्चा अहिले दोस्रो चरण हो । डेढ वर्ष अगाडि जब पहिलो पटक यो गीत युट्युबमा आएको थियो, त्यो समयमा पनि यसले युट्युबको ट्रेन्डिङको शीर्ष स्थानसमेत कब्जा गरेको थियो । 

तर, अहिलेको चर्चा भने त्यो भन्दा बढी छ । अहिले गीतको चर्चा सामाजिक सञ्जाल, मेला महोत्सव देश विदेश सबैतिर छ ।

पछिल्लो समय यो गीत धनगढीको एक बालिकाको कारण चर्चामा आएको हो । ती बालिकाले केही महिना पहिले यो गीतमा एउटा टिकटक भिडियो पोस्ट गरेकी थिइन् । 

उक्त टिकटकमा गायिका एलिनाले डोयट गरेकी थिइन्, जुन भिडियोका कारण उनको टिकटकमा दैनिक १५ हजार फलोअर्स बढ्न थालेको थियो भने अनौठा भाषामा म्यासेज आउन थालेका थिए । 

पछि बुझ्दा उनले थाहा पाइन् कि बालिकाको टिकटक भिडियो त इन्डोनशियामासमेत भाइरल भैसकेको रहेछ । त्यही भिडियोको प्रभावले उनको दैनिक फलोअर्स १५ हजार बढ्दो रहेछ । 

‘तिनै बालिकाको कारण मेरो गीत फेरि हिट भयो । मेरो कारणले उनी हिट हुनुपर्ने हो । म उनको कारणले पो हिट भएँ,’ एलिनाले खुसी सुनाइन् ।

127809044_2509926582642705_1345104852137402797_n

प्रेम पीडा ओकल्छ

गायिका एलिनाको यो गीत पछिल्लो समय मेला–महोत्सवमा निकै प्राथमिकतामा परिरहेको छ । दर्शकमात्र होइन, आयोजक पनि यही गीतका कारण उनलाई रोज्ने थालेका छन् । 

कुनै महोत्सवमा उनले यो गीत गाउने भनियो भने विशेष गरी मावि तहका किशोर किशोरीको भीड लाग्ने र महोत्सव भरिभराउ हुने आयोजकहरू बताउँछन् ।  गीतले प्रेमकथा बोल्ने भएकोले पनि प्राथमिकतामा पर्ने गरेको उनले बताइन् ।

‘जहाँ जहाँ यो गीत गाएकी छु । त्यहाँ त्यहाँ बढी टिनयज, र युवा पुस्ता नै रमाएको र रोएको पाएकी छु’, उनले भनिन्, ‘एक ठाउँमा मेरो कार्यक्रम हुँदै थियो । २०÷२५ जना ९÷१० कक्षाका केटीहरूले पेट दुख्यो भनेर स्कुलबाट बिदा मागेछन् । विद्यालयले पनि उनीहरूको समस्या बुझेर स्कुलै बिदा गर्दिएछ ।’ तर उनीहरूको पेट दुख्ने बहाना त महोत्सवमा एलिनाको प्रस्तुतिमा रमाउने पो रहेछ । 

‘गीतको क्रेज देख्दा म जहिले पनि छक्क पर्छु,’ उनले थपिन्, ‘यो गीतमा भिडियो बनाउँदा भाइरल भइन्छ भन्ने लोभले पनि हुन सक्छ या साँच्चिकै प्रेम पीडा ओकल्न पनि हुन सक्छ । दर्शक औधी झुम्मिन्छन् ।’ 

श्याड भर्सनमा तयार पारिएको गीतको सङ्गीत एकदमै मोहक छ, गायन शैली भने सरल । त्यसैले पनि यो गीत सबैको रोजाइमा परेको हुनुपर्छ । सरल स्केलमा भएकाले घाँटी सुकेको बेला पनि यो गीत गाउन सकिने उनी बताउँछिन् ।

‘गीतको चर्चा मात्र होइन, अहिले त मेरो नाम धोकेबाज पो भएको छ’ एलिनाले थपिन् ‘मलाई पहिलेदेखि नै श्रोताहरूले ब्रेकअप भयो भने एलिनाको गीत सर्च गर्छु भनेर कमेन्ट गर्थे । अहिले भने साँच्चिकै ब्रेकअप भएजस्तो लाग्छ ।’ 

तर गीतको जस्तो ब्रेकअप रियल जीवनमा भने उनले भोगेकी छैनन् । भनिन्, ‘केही कुरो स्कुले जीवनसँग भने मिल्छ ।’ 

एलिनालाई आफ्नो गीतमा श्रोता, दर्शक रोएको देख्दा कहिले कहिले दुःख, कहिले हाँस उठ्छ रे । भनिन्, ‘गीतमा धेरैले व्यक्त गर्न नसकिरहेको प्रेमकथा छ । गीत सुनेर रुने र भिडियो बनाउने ट्रेन्डसमेत बढ्दै गएको छ ।’ 

भुईँमा टाउको ठोक्काएर रोएँ

देशका मेला–महोत्सव मात्र होइन, यो गीत विदेशका कार्यक्रममा पनि त्यतिकै प्राथमिकतामा पर्ने गरेको छ । 

पहिले त कतिपय ठाउँमा गीत प्रस्तुत गर्दा भुईँमा टाउको ठोक्काएर रोएको अनुभव पनि छ उनीसँग । 

गीतले मानिसको जीवनसँग मेल खाएको देख्दा खुसी लाग्ने उनी बताउँछिन् । ‘कहिलेकाहीँ दुर्घटना पनि घट्न सक्छ । त्यसैले अलिअलि डर लाग्न थालेको छ,’ उनले भनिन्, ‘भावुक भएर रुने, बार भत्काउनेलगायत घटना त सामान्य जस्तै हुन थालेको छ ।’

गीतको कारणले उनले अहिले दर्शकको धेरै माया पाएकी छन् । कार्यक्रमले पनि भ्याइ न नभ्याई छ । अहिले उनको सेड्युल अति नै व्यस्त भएको छ । कार्यक्रममा उपस्थित दर्शक देख्दा पनि चकित हुन्छिन् । ‘दर्शकको यो माया कहिले भुल्दिनँ,’ उनले सुनाइन् ।

एलिनाले अहिलेसम्म करिब ६ सय बढी गीत गाइसकेकी छन् । तर सबै गीत यसरी हिट भएको छैन । उनको सबैभन्दा हिट गीत ‘मिनिरल वाटर’ हो । त्यसपछि ‘के माया लाग्छ र ?’ तथा ‘धोकेबाज’ पर्छ । 

elina

गीतको कथा रियालिटी होइनः कार्की जी 

गीत जति सुने पनि सुनिरहन मन लाग्ने खालको छ । शब्दमा प्रेम र पीडाका गहिराइ पनि त्यतिकै छ । धेरैलाई लाग्न सक्छ गीत गीतकारको रियालिटी हो । तर गीत आफ्नो वा अन्य कसैको वास्तविक कथाबाट प्रेरित भएर नलेखेको गीतकार कार्की जी बताउँछन् । 

‘मैले ३ सय गीत र्‍याप बनाएको थिएँ । थोरै आफ्नो प्यार्टन केही चेन्ज गरौँ न भनेर यो गीत बनाइएको हो,’ कार्की जीले भने, ‘म भावनामा डुबेर गीत लेख्छु । यो पनि त्यसै गरेको हो । त्यसैले धेरैलाई रियालिटी लागेको हो ।’ गीत टिनयजलाई नै टार्गेट गरेर लेखेको कार्की जीले सुनाए । भने, ‘फोकस एउटा थियो । प्रिय सबैको भयो ।’

धेरैले यो गीत सबैको प्रिय हुनुको श्रेय शब्दको अलावा सङ्गीत पनि मानेका छन् । यसमा सङ्गीत पनि कार्की जीले नै भरेका हुन् । 

यसको सङ्गीतमा पनि उत्तिकै मिहिनेत भएको होला । गीत सुन्ने जो कोहीलाई लाग्ने कुरो हो यो । तर गीतको सङ्गीत भर्न धेरै समय नलागेको कार्की जीले बताए । 

‘र्‍यापमा रमाएको म । कस्तो हुन्छ भनेर यस्तो गीत गरेको थिएँ । त्यो समय चल्छ भन्ने लागेकै थिएन,’ कार्की जीले भने ‘लकको कुरो हो । आधुनिक टायपको पहिले सङ्गीत नै चल्यो ।’

कार्की जी अहिले यो गीतको अहिले तेस्रो भर्सन ल्याउने तरखरमा छन् । गीतको तीनै भर्सनमा महिलाको स्वर एलिनाले दिएकी छन् । पुरुष स्वर भने फरक फरक छ । पहिलो र तेस्रोमा शिव परियार तथा दोस्रोमा किरण गजमेरको स्वर छ । 

धोकेबाजको दोस्रो भर्सनको नाम ‘अभागी’ र तेस्रो भर्सनको नाम ‘सम्बन्ध सकियो’ राखिएको छ । यो गीतको र्‍याप पनि छिट्टै आउँदै छ । जसमा स्वर सङ्गीतकार कार्की जीले आफै दिँदै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप