बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नियुक्त भएको २८ दिनमा मधेस प्रदेशमा मुख्यमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता

मङ्गलबार, २४ माघ २०७९, २२ : ०७
मङ्गलबार, २४ माघ २०७९

जनकपुरधाम । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएको हो । 

प्रदेशमा नौ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भई पदभार ग्रहण गरिसकेपनि माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेर सरकारमा सहभागी नभएको हुँदा सरकारले पूर्णता पाएको थिएन । तर, बुधबार अन्ततः माओवादी केन्द्रले एकवटा मन्त्री र एकवटा राज्यमन्त्री लिएर मंगलबार सरकारमा सहभागी भएको हो । यससँगै मधेसमा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । 

माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीलाई नियुक्त गरेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले पूर्णता पाएको हो । उद्योगमन्त्री यादव समानुपातिक प्रणालीबाट धनुषाबाट निर्वाचित सहिद रामवृक्ष यादव समानुपातिक सांसद हुन् । माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेका जनयुद्धकालीन सहिद र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समकक्षी समेत रहेका सहिद रामवृक्ष यादव ‘मास्टर साहब’की कान्छी छोरी हुन् ।

मन्त्री यादवको परिवारमा दाजु शेखर यादव तथा श्रीमान् डम्बर यादवले पनि माओवादी जनयुद्धमा सहादत प्राप्त गरेका थिए । सहिद यादवको तीन छोरीमध्ये बोधमाया, कल्याणी र सुनिता हाल पनि माओवादीमा सक्रिय राजनीतिमा छिन्। 

त्यस्तै राज्यमन्त्री अन्सारी पर्सा १(१) बाट निर्वाचित सांसद हुन् । पार्टीका केन्द्रीय समदस्यसमेत रहेका उनी २०७० को संविधानसभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा २०७४ र २०७९ निर्वाचनमा पराजय बेहोरे पनि प्रदेश प्रतिनिधिसभाको निर्वाचन २०७९ मा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निर्वाचित भएर मन्त्री भएका हुन्। 

यसअघि माघ १३ गतेनै जसपाबाट अर्थमन्त्रीमा संजयकुमार यादव, भौतिक तथा पूर्वाधार मन्त्रीमा नेकपा एमालेबाट सरोजकुमार यादव र जनमत पार्टीबाट ई.बसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । 

त्यस्तै माघ २० गते मुख्यमन्त्री यादवको सिफारिसमा संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । यद्यपि मधेस सरकारले पूर्णता पाएको थिएन । अर्थमन्त्री यादव  सर्लाही ३(२), भौतिक तथा पूर्वाधार मन्त्री यादव महोत्तरी ४(१) र कृषिमन्त्री कुशवाहा रौतहटबाट समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । 

सरकारमा जनमत पार्टीबाट मधेस प्रदेश दलका नेता समेत महेश प्रसाद यादवलाई शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवलाई प्रदेश प्रमुख मिश्रले नियुक्त गरेको थियो । शिक्षा मन्त्री यादव सप्तरी २(२) र राज्यमन्त्री यादव सिराहा २(१) बाट निर्वाचित सांसद हुन् । 

प्रदेश प्रमुख मिश्रले जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास मन्त्री, सिंगासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्री र शेख अबुल कलाम आजालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका थिए । सामाजिक विकास मन्त्री साह महोत्तरी महोत्तरी २(२) बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएपनि हाल जसपा प्रवेश गरी सोही पार्टीबाट मन्त्री भएकी छिन् । र सामाजिक विकास राज्यमन्त्री कलाम रौतहट ४(२) बाट निर्वाचित सांसद हुन् । 

त्यसैगरी नेकपा एमालेबाट शत्रुधन प्रसाद साहलाई गृह तथा सञ्चार मन्त्री, राजकुमार लेखीलाई कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री, मोहम्मद जयद आलमलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री र केशव रायलाई गृह तथा सञ्चार राज्यमन्त्रीमा प्रदेश प्रमुख मिश्रले नियुक्त गरेका थिए । गृहमन्त्री साह सिराहा २(२), कानुन मन्त्री लेखी सप्तरी १(१), खेलकुद मन्त्री आलम रौतहट २(१) बाट निर्वाचित सांसद हुन् । उता खेलकुद राज्यमन्त्री राय नेकपा एमालेबाट विद्रोह गरेको प्रभु साहसहितको स्वतन्त्र समूहबाट रौतहट ३(१) बाट निर्वाचित भई हाल नेकपा एमालेमा प्रवेश गरेका सांसद हुन् ।

यता माओवादी केन्द्रलाई दिने भनिएको उद्योग, पर्यटन तथा वन मन्त्रालय उक्त पार्टीले नस्वीकारेपछि मुख्यमन्त्री यादवले आफै मातहत राखेका थिए । तर, सोमबार सरकारबीच सहमति भएपछि माओवादी केन्द्र पनि सरकारमा सहभागी भई शपथ ग्रहण गरेसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।

यसरी प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा १५ सदस्यीय मन्त्रीमण्डल विस्तार भएको हो । १ सय ७ सदस्य प्रदेशसभामा १० मन्त्री र ४ राज्यमन्त्री हुने व्यवस्था छ। 

सरकारमा नेकपा एमालेबाट चार मन्त्री र एक राज्यमन्त्री, जसपाबाट मुख्यमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री, जनमतबाट दुई मन्त्री र एक राज्यमन्त्री र जसपाबाट ३ मन्त्री र एक राज्यमन्त्री गरी सहभागी चारवटा दलबाट सांसदहरु नियुक्त भई पदभारसमेत ग्रहण गरी कार्यभार सम्हालेका हुन् ।

यसरी हेर्दा प्रदेशका आठ जिल्ला मध्ये रौतहटबाट सबैभन्दा बढी चारवटा सांसद मन्त्री भएका छन् । सिराहाले दुई, महोत्तरीले दुई, सप्तरीले दुई, धनुषाले एक, सर्लाहीले एक, पर्साले एक र बारा जिल्लाले एक वटा मन्त्री पाएका छन् ।

मुख्यमन्त्री यादव पुस २७ गते नियुक्त भएपनि उनको नेतृत्वको सरकारले २८ दिनमा पूर्णता पाएको हो ।  उनी ६३ जना सांसदको समर्थनमा मधेसका मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकारमा चारवटा दलमात्रै सहभागी भएपनि मुख्यमन्त्री यादवलाई माघ चार गते सिंगो प्रदेशसभाले नै विश्वासको मत दिएको थियो । 

१० दलको प्रतिनिधित्व रहेको मधेस प्रदेशमा सत्ता गठबन्धनमा एमालेका २४, जसपाका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, नेपाल संघीय समाजवादी पार्टी १ राप्रपाका १ सांसद छन् । प्रदेश सभामा नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी प्रमुख प्रतिपक्षको रुपमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप