शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
तीन मित्रको कथा

दाइ प्रधानमन्त्री हुँदा भाइले पञ्चायतविरोधी गीत लेखे, आफ्नो पद नारायणगोपाललाई उपहार

बुधबार, २५ माघ २०७९, १६ : २०
बुधबार, २५ माघ २०७९

स्वरसम्राट नारायणगोपालले पहिलो भेटमा पेमला लामालाई गीत गाएर सुनाएका थिए:

‘चिनारी हाम्रो धेरै पुरानो रहेझैँ लाग्दछ ।

नदेखे पनि भेट सधैँ सधैँ भएझैँ लाग्दछ ।

कुनै समय थियो– नेपाली संगीत क्षेत्रमा यस गीतका गायक (नारायणगोपाल), संगीतकार (गोपाल योञ्जन) र गीतकार (नगेन्द्र थापा) त्रिवेणी वा तीनताराजस्तै थिए । यिनीहरूबीचको मित्रता पनि उदाहरणीय थियो । 

माथिका पंक्तिजस्तै यिनीहरूको चिनारी धेरै पुरानो रहेझैँ लाग्दछ र नेपाली गीतसंगीत बाँच्दासम्म यी तीनताराको चमक रहिरहनेछ, चर्चा चलिरहनेछ । 

गीतकार नगेन्द्र थापालाई मिडियाले प्रायः तब सोधखोज गर्छ, जब नारायणगोपालको स्मृति दिवस (१९ मंसिर) आउँछ । हुन पनि नगेन्द्रले नारायणगोपाल र गोपाल योञ्जनका सम्झनाहरू साँचेर बाँचेका छन् । १७ माघमा रातोपाटी टिम नगेन्द्र निवास मालीगाउँ पुगेको थियो । हामी चाहन्थ्यौँ– नगेन्द्रका काम, निजी जीवन वा पारिवारिक पृष्ठभूमिको चर्चा गरौँ । जताबाट कुरा गरे पनि उनको नदीरूपी जीवनमा नारायण र गोपाल नै मिसिन आउँदा रहेछन् । 

धनकुटामा जन्मेका नगेन्द्र, काठमाडौंका नारायणगोपाल र दार्जिलिङका गोपाल योञ्जनको भेट हुनुको मूल कडी र कारण गीतसंगीत नै थियो । नारायणलाई भने पेमला लामाको प्रेमको गुरुत्वले दार्जिलिङ पु¥यायो । नेपालमै एउटा कविता संग्रह निकालेर दार्जिलिङ पढ्न गएका कवि नगेन्द्र र दार्जिलिङमा संगीतको साधना गर्दै गरेका गोपाल भेट हुनासाथै साथी बन्न पुगेका थिए । यता नेपाली संगीत क्षेत्रमा आधुनिक गायनमार्फत नारायणले हस्तक्षेपकारी पाइला राख्दै थिए । नगेन्द्र, गोपाल र पेमलाहरू रेडियोमार्फत नारायणको स्वरसँग परिचित भइसकेका थिए । ‘नारायण, प्रेमध्वज र बच्चु कैलाशलाई हामीले नेपालका रत्न, स्वरका धनी मानिसकेका थियौँ,’ नगेन्द्र भन्छन्, ‘हामीले दार्जिलिङमा यी तीन गायकको चर्चा गथ्र्यौं ।’ 

पेमला त पत्राचारमार्फत नारायणसँग नजिकिएकी थिइन् । उनैलाई भेट्न जाँदा नारायणले मीत र साथी पनि पाए ।  

Nagendra Thapa (4)

दार्जिलिङ स्टेसन

नगेन्द्रका हजुरबुवा नसिप सिं थापा नेपाली सेनाका कप्तान थिए, बुवा टेकबहादुर थापा लेफ्टिनेन्ट भए । पुख्र्यौली थातथलो धनकुटाको मुगा भएकाले काठमाडौंमा दरबारियामाझ उनीहरू मुगाली थापाका रूपमा चिनिन्थे । यी थापा खलकले धरान, विराटनगर हुँदै काठमाडौंसम्म घरजग्गा जोडे, नगेन्द्रका दाइ सूर्यबहादुर थापा पाँचपटकसम्म प्रधानमन्त्री बने । 

नगेन्द्र पाँच वर्षको हुँदा (२००७ सालमा) उनका बुवाको निधन भयो । त्यसको केही समयमै उनलाई दाइ (सूर्यबहादुर)ले काठमाडौं ल्याए । केही वर्ष काठमाडौंमा बसेपछि उनको स्वास्थ्य अलि ठीक भएन र उनलाई विराटनगर लगियो । 

नगेन्द्रका दुईवटी आमाबाट जन्मेका नौ सन्तानमध्ये नगेन्द्र आठौँ हुन्, कान्छीपट्टिका । जेठीपट्टिका सूर्यबहादुरसँग नगेन्द्र हुर्किए । कहिले दाइसँग काठमाडौं त कहिले विराटनगरमा आमासँग बस्दै पढेका नगेन्द्रले २०१८ सालमा काठमाडौंको जुद्धोदय स्कुलबाट एसएसली गरे । 

सूर्यबहादुरको इच्छा थियो, नगेन्द्रलाई डाक्टर बनाउने । अस्कल क्याम्पसका प्रमुख अमृतप्रसाद प्रधानलाई घरमै बोलाएर सूर्यबहादुरले नगेन्द्रको भर्ना गरिदिए । उनले भाइलाई भनेका थिए– तँ पास मात्रै गर, थर्ड डिभिजन आए पनि हुन्छ, तँ जुन देश भन्छस्, त्यहीँ डाक्टर पढ्न पठाउँछु । त्यो बेला अधिकांश देशले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने गर्थे ।

अमेरिका जाने लोभले पनि नगेन्द्रले साइन्स पढ्दै थिए । पढ्दै जाँदा प्राक्टिकल क्लासमा भ्यागुता छुनुपर्ने भयो, यस्ता जीव छुँदा उनलाई सानैदेखि दिगमिग लाग्थ्यो । प्राक्टिकल क्लासमा भ्यागुता चिरेको दुई–चार दिन उनले खाना खानै सक्दैनथे । यस कारण पढाइप्रति उनको रुचि घट्दै गइरहेको थियो । अर्कोतिर सानैदेखि कविता र लोकसंस्कृतितिर उनको अभिरुचि जाग्दो थियो । १६ वर्षकै उमेर (२०१८ साल) मा रूपरेखा विशेषांकमा पहिलो कविता छापेर उनले साहित्यमा औपचारिक पाइला राखे । 

२०१४ सालमा लोकगीत र लोकनाचको प्रवद्र्धनका लागि विराटनगरमा अनौपचारिक रूपमा ‘भानु मोरङ सांस्कृतिक समिति’ खोलिएको थियो । साथी चतुर्भज आशावादी (पौडेल)को सक्रियतामा खोलिएको यस समितिमा नगेन्द्र पनि थिए । काठमाडौं र विराटनगर आऊजाऊ गर्ने नगेन्द्र समितिको सांस्कृतिक गतिविधिमा सहभागिता जनाइरहन्थे । 

त्यतिबेला दार्जिलिङ पढ्न जानेलाई इज्जतका साथ हेरिन्थ्यो । तत्कालीन शाहज्यादा वीरेन्द्र र ज्ञानेन्द्रले त्यहीँ पढेका थिए । साइन्समा एक वर्ष पढ्दानपढ्दै नगेन्द्रलाई दार्जिलिङ जाने रहर भयो । जाने कसरी ? उनले उपाय अपनाए । २५–३० वटा कविता तयार गरी कविता संग्रह ‘प्रतिमा’ छापे, खान्दानी परिवार भएकाले पुस्तक छाप्ने खर्चको दुःख भएन । आमासँग केहीबेर रोइकराइ गरे पुग्यो । केही प्रति पुस्तक देखाएर उनले दाइलाई भने, ‘दाइ ! मैले गर्न सक्ने यही हो, म दार्जिलिङ पढ्न जान्छु, यहाँ मेडिसिन पढ्न सक्दिनँ ।’ 

अर्कैतिर रुचि देखाएको भाइलाई सूर्यबहादुरले रोकेनन् । सन् १९६३ मा उनी दार्जिलिङ हानिए, र सेन्ट जोसेफ कलेजमा भर्ना भए, त्यहीँ उनको भेट गोपाल योञ्जनसँग भयो । 

नगेन्द्र दार्जिलिङका साहित्यिक र सांगीतिक माहोलमा हराउन चाहन्थे । त्यतिबेला दार्जिलिङमा साहित्यतिर ईश्वरवल्लभ, वैरागी काइँला, इन्द्रबहादुर राई लगायत सक्रिय थिए । संगीततर्फ अम्बर गुरुङ, शरण प्रधान, रञ्जित गजमेर, गोपाल र कर्म योञ्जन थिए । खासगरी त्यहाँ ‘कला मन्दिर’ (एक संस्था) मार्फत साहित्यिक र सांगीतिक गतिविधि भइरहन्थ्यो । सेन्ट जोसेफमा पढ्दा मनलागी हिँडडुल गर्न कडाइ थियो । फिलोसफी पढ्ने नाममा गोपाल र नगेन्द्र सरकारी कलेजमा ट्रान्सफर भए । त्यसपछि उनीहरूको सक्रियता बढ्न थाल्यो । 

नेपालबाट पढ्न गएका विद्यार्थीको समूह ‘नेपाल विद्यार्थी परिषद्’ गठन गरे पनि नगेन्द्र सक्रिय रहे । उनीहरूले भानु जयन्ती, देवकोटा जयन्ती विशेष रूपले मनाउँथे । 

त्यतिबेला सायद उमेर अनुसार नगेन्द्रले प्रेमिल कविता बढी लेख्थे । एक दिन गोपालले नगेन्द्रलाई भने– तपाईं यति राम्रा कविता लेख्नुहुन्छ, गीत लेख्नुस् न, तपाईंमा राम्रो गीत लेख्न सक्नुहुन्छ । 

गोपालले कर गरिरहेपछि उनले गीत लेख्न थाले । दार्जिलिङको ‘गोरखा दुःख निवारक’ हलमा सांगीतिक कार्यक्रम थियो । नगेन्द्रले लेखेको पहिलो गीत (नशामा तिमीले के के पिलायौ) नै गोपालले धुनबद्ध गरेर त्यस कार्यक्रम सुनाए । ‘गज्जब मिठो सुनियो । त्यतिबेला मलाई लाग्यो– गीतकार हुनुको मजा अलि बेग्लै रहेछ,’ नगेन्द्र भन्छन्, ‘यो छिटो धेरै श्रोतामा पुग्दो रहेछ । मान्छेले कवितालाई भन्दा गीतलाई अलि बढी चासो दिँदा रहेछन् ।’ 

सन् १९६४–६५ तिर नारायणगोपालले भारतको बरोडामा संगीत पढ्दै थिए । छुट्टीका बेला उनी दार्जिलिङ घुम्न पुगे, खासमा उनी पेमलालाई भेट्न चाहन्थे । दार्जिलिङमा उनी आफ्नो चिनजानका ईश्वर वल्लभकहाँ बसे । ईश्वरले नारायणको भेट नगेन्द्र र गोपाल योञ्जनसँग गराइदिए । यसरी नगेन्द्र, नारायण र गोपालको भेट भयो । 

यसपछि यी चार मित्र नारायणको खास उद्देश्य पूरा गर्न अर्थात् पेमलालाई भेट्न गए । पेमलाले त्यतिबेला कलेजको पढाइ सिध्याएर आफ्नो घर (माइत) सुकियापोखरीमा पढाउन थालेकी थिइन् । नगेन्द्र, नारायण, गोपाल, कर्म योञ्जन भएर पेमलाले पढाउने स्कुलसम्म पुगे । स्कुलको पालेमार्फत खबर पठाएको केहीबेरमै पेमला आइन् । कर्म र नारायण अलि परै बसेका थिए । गोपाल र नगेन्द्र सँगै थिए । गोपालले पेमलालाई भने– नारायणगोपाल तपाईंलाई भेट्न आउनुभएको छ । उनले हातका औँलाले नारायणगोपाल भएतिर देखाउने चेष्टा गरेका थिए, तर उनका औँला नगेन्द्रतिर सोझिए, पेमलाले नगेन्द्रलाई नै नारायण सम्झिइन् । ‘एक त पेमलाको गोरो अनुहार, एकैचोटि रातो भएर आयो । मैले अन्दाज गरिहालेँ र भनेँ– नारायणगोपाल उहाँ पर बस्नुभएको छ, म होइन,’ साथीले पहिलोपटक प्रेमिका भेटेको घटना भएर होला प्रायः कुराकानीका क्रममा नगेन्द्र सुनाउँछन्, ‘यही भेटमा नारायणले पेमलालाई चिनारी हाम्रो धेरै पुरानो बोलको गीत सुनाएका थिए ।’ 

गीत लेख्ने क्रममा नगेन्द्रलाई लाग्यो– एउटा यस्तो गीत लेखौँ, जसलाई मान्छेको आ–आफ्नो बौद्धिकताले अर्थाओस् । अर्थात् एउटै गीत बहुअर्थीय होस् । 

‘मैले दुई–तीनवटा प्रतीक लिएँ– सबैभन्दा पहिले आमालाई लिएँ, आमाकै नजिकको अर्को चिज प्रकृतिलाई लिएँ र अध्यात्मलाई पनि लिएँ,’ उनी भन्छन्, ‘आमा, प्रकृति र अध्यात्मसँग हाम्रो चिनारी यस्तै हुन्छ । यो गीत मैले गम्भीर भएर लेखेको हुँ ।’

शीतल दिन्छौ पवन भएर मिर्मिर याममा,

मायालु न्यानो स्पर्श दिन्छौँ किरणको रूपमा ।

झनझनाइ बग्छ संगीत तिम्रो हरेक तन्तुमा, 

आशाको दियो आफैँ नै बल्छ अँध्यारो कुनामा ।

चिनारी हाम्रो... ।

ईश्वर वल्लभलाई कताकता लागेछ– नारायण र गोपाललाई मीत लगाइदिने हो भने नेपाली संगीतमा श्रीवृद्धि होला । उनले नगेन्द्रसँग कुरा गरे । नगेन्द्र भन्छन्, ‘म, ईश्वरवल्लभ भएर आगोलाई साक्षी राखेर उनीहरूको मीत लगाइयो ।’

सन् १९६५ तिर रत्न रेकर्डिङ संस्थानले नारायणगोपालसँग आठवटा गीत रेकर्ड गर्न करार ग¥यो । अनि नगेन्द्र र गोपालसँग गीत लिन नारायण दार्जिलिङ पुगे । त्यतिबेला गोपालसँग ३०–४० वटाजति गीत तयारी अवस्थामा थिए । ती सबै गीतमध्ये नारायणगोपालले आठवटा छाने । जसमा नगेन्द्रको चिनारी हाम्रो धेरै पुरानौसँगै अर्को गीत प¥यो :

संगाल घुम्टोहरू, सजाऊ केशहरू ।

म आएँ आँधी बोकेर सम्हाल वेगहरू । 

Nagendra Thapa (1)

 साथी

बिएको जाँच दिएपछि नगेन्द्र काठमाडौं आए । एमए उनले त्रिभुवन विश्वविद्यालयबाट गरे, अंग्रेजी विषय लिएर । 

एक डेढ महिना काठमाडौं बसेपछि नगेन्द्रलाई गोपाल योञ्जनबिनाको जिन्दगी अधुरोजस्तो लाग्न थाल्यो । गोपाल योञ्जनको घरनेरै ब्रिटिसहरूको सेमेट्री (चिहानस्थल) थियो । ‘छुट्टिने बेला त्यहाँ बसेर हामी निकैबेर रोएका थियौँ,’ नगेन्द्र भन्छन्, ‘त्यतिबेला मैले गोपाललाई भनेको थिएँ– मौका प¥यो भने म तपाईंलाई बोलाउँछु ।’ गोपालले भनेका थिए– बोलाउनुस्, तर आमाले मलाई जान दिनुहुन्न । 

साथीबिना काठमाडौं बस्न मन नभएपछि उनी गोपाललाई लिन दार्जिलिङ गए । गोपाल पनि काठमाडौं आउने कुरामा दोधारमै थिए । गोपाल सानै हुँदा उनका बुवा खसेका, दुःखसुखले हुर्काएको एउटा छोरोलाई आमाले आफ्ना नजरभन्दा पर राख्न चाहन्नथिन् । गोपाल पनि आमाको मन दुखाउन चाहन्नथे । 

नगेन्द्रले गोपाललाई सम्झाए– काठमाडौं गएर नेपाली गीत–संगीतमा धेरै गर्न सकिन्छ । गोपाल त तयार भए, आमालाई मनाउन बाँकी रह्यो । गोपालकी आमाले नगेन्द्रलाई छोरा भन्थिन्, छोरा मान्थिन् । उनले नगेन्द्रको कुरा काट्न सकिनन् र यी दुई साथी काठमाडौं आए । 

त्यतिबेला सूर्यबहादुर प्रधानमन्त्री थिए । गोपाललाई एमएको छात्रवृत्ति मिलाउन नगेन्द्रलाई समस्या भएन । नगेन्द्रको अर्को चाहना थियो– नारायण र गोपाल दुवैलाई रेडियो नेपालमा जागिर खुवाउने । रेडियोमा जागिर भए यी दुवै मीतले आफ्नो प्रतिभा बढीभन्दा बढी प्रस्फुटन गर्न सक्छन् भन्ने नगेन्द्रलाई विश्वास थियो । तर त्यतिबेलाको रेडियो नेपाल सीधै दरबारबाट चल्थ्यो । दरबारको स्वीकृति बेगर कसैले जागिर पाउन सम्भव थिएन । ‘दरबारको निगाहमा जागिर खाएका सबैलाई यी मीत जोडीको प्रतिभा थाहा थियो । यिनीहरूलाई ल्याए प्रतिभाका हिसाबले आफूहरू पछाडि पर्छौं भन्ने उनीहरूले ठाने,’ नगेन्द्र भन्छन्, ‘यी मीत जोडीलाई रेडियोमा जागिर खुवाउन सकिएन ।’

पेमलासँग विवाह गरेपछि नारायणगोपाल पोखरा गए र भूपि शेरचनको घरमा बसेर स्कुल पढाउन थाले । ‘नारायणका बुवाआमाले पनि बुहारीलाई पूर्ण रूपमा स्वीकार गर्नुभएन, अर्कै जातको भनेर । यद्यपि उनीहरू बसेको भए, बुवाआमाले घरबाट निकाल्नुहुन्थेन होला । घरबाट निकाल्न मैले पनि दिन्नथेँ, किनभने नारायणका बुवाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो,’ नगेन्द्र भन्छन्, ‘नारायण हठी किसिमको, श्रीमतीलाई घरमा राख्न चाहेनन् ।’ 

नारायण पोखरामै हुँदा (२०२७ भदौमा) नगेन्द्रले ‘धूपी’ पत्रिकामा ‘प्रोमिथियसको आगो ः अराकनीको धागो’ शीर्षकको आलेख लेखेका छन्, ‘धेरै वादविवादपछि तिमीलाई तीन सय रुपियाँमा किन्ने अभिप्राय देखाए, अस्थायी तीन सय रुपियाँमा तिमीलाई बेच्न म तयार थिइनँ । तैपति एउटा सर्त राखेँ— गोपाल योञ्जनलाई पनि रेडियो नेपालमा लिने हो भने मलाई मञ्जुर छ । रेडियोभित्र ठूलो चक्रव्यूह रचिएको छ, तिमी दुई मीत रेडियो जाँदा धेरैको अस्तित्व खलबलिन्छ । नभन्दै बजेट नभएकाले गोपाललाई कुनै अवथामा लिन नसक्ने कुरा व्यक्त गरे । गोपाल ! मलाई साथी सम्झेर माफ गर । तिमीलाई मैले काठमाडौं लिएर आएँ दार्जिलिङबाट तर अहिलेसम्म केही गर्नै सकिनँ ।’

यही लेखमार्फत नगेन्द्रले नारायणलाई स्वरसम्राट घोषणा गरेका हुन्– ‘तिमीलाई प्रथम श्रेणीको कलाकार मान्न उनीहरू अनकनाइरहेका थिए, होइन पनि भने, जब कि तिमी नेपालीको एक मात्र साँचो गायक हौ– स्वर सम्राट् ।’ 

यी तीन साथीको प्रेम र विवाहको कथा पनि रमाइलो छ । गोपाल र नारायण दुवैको बिहेमा नगेन्द्रको भूमिका विशेष रह्यो । गोपालको बिहेमा उनले दौडधूप नै गर्नुप¥यो । किनभने गोपाल योञ्जनलाई बिहे गर्नैपर्ने बाध्यता आइलाग्यो । खासमा के भयो त्यस्तो ? ‘यति भनिहालेँ, भन्नु उचित होइन । जेहोस्, गोपालको बिहेमा आमालाई मनाउन म दार्जिलिङ जानुप¥यो,’ नगेन्द्र भन्छन्, ‘आमा र दिदीसँग मैले झगडै गर्नुप¥यो, दुई–चार दिन त्यहाँ बसेर कुरो मिलाएँ । अन्ततः आमाले गोपालका बुढाबुढीलाई दार्जिलिङ बोलाउनुभयो ।’

यता, नगेन्द्रको विवाहमा गोपालको विशेष भूमिका छ । नेपालीमा एमए गरेपछि गोपालले पद्मकन्या क्याम्पसमा पढाउँदै थिए । त्यहीँ मञ्जु थापाले नृत्य लिएर पढ्दै थिइन् । गोपालले दरबारलाई देखाउन डाँफेचरी शीर्षकको एउटा अपेरा नाच तयार गरेका थिए । त्यसमा मञ्जु प्रमुख भूमिकामा थिइन् । 

यही मौकामा मञ्जुलाई हेर्न गोपालले नारायणलाई बोलाए । नाचको तयारीकै बेला समीक्षा गर्ने गरी नगेन्द्रलाई बोलाइएको थियो । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ नगेन्द्र थापा गोपाल योञ्जनमार्फत केटी हेर्न आउँदै छन् भन्ने हल्ला कताकताबाट चलिहालेछ । केटी मन परेपछि उनले दाइसँग कुरा गरे । दाइबाट स्वीकृति मात्रै मिलेन, कुरा अगाडि बढिहाल्यो । मञ्जु भेषबहादुर थापाकी भतिजी पर्ने हुन् । मञ्जुका बुवा कृषि मन्त्रालय अन्तर्गत सहसचिव थिए । उनलाई बोलाएर सूर्यबहादुरले आफ्ना भाइका लागि मञ्जुको हात मागे, पूर्वप्रधानमन्त्रीले भनेपछि नाइँनास्ती हुने कुरै भएन । बिहेको मिति भने तोकिइसकिएको थिएन । यहीबेला यता हल्ला चल्यो– दार्जिलिङबाट नगेन्द्रकी प्रेमिका काठमाडौं आएकी छन् । 

हल्लाका कारण मञ्जुका बुवाले तत्कालै छोरी दिन मानेनन्, केही समय बुझ्छौँ भने, यसले बिहेमा डेढ वर्षजति ढिला भयो ।

एकजना तिब्बती मूलकी रिञ्जी वाङ्दीले नगेन्द्रलाई खुबै मन पराउँथिन् । उनी नेपाली विषय पढ्न नेपाल आएकी थिइन् । 

दार्जिलिङमा रिञ्जीले लोरेटो कलेजमा पढ्थिन् । नेपाली व्याकरणमा कमजोर उनलाई कसैले भनेछ– तिमीले नगेन्द्र थापालाई भेट, उनले नेपाली सिकाउँछन् । दार्जिलिङमा नगेन्द्रको केही नाम चलेको थियो । त्यहाँका कलेजहरुमा कहिलेकाहीँ नेपाली पढाउन उनलाई निम्तो आउँथ्यो ।

जाँच हुन एक–डेढ घन्टाअघि उनी रुँदै नगेन्द्रलाई भेट्न आइन् । परीक्षाको मुखमा के पढाउने ? नगेन्द्रले केही चिट लेखिदिए, संयोगवश उनले दिएकै चिट बमोजिमको प्रश्न आयो र उनी पास भइन् । त्यसपछि रिञ्जीले नगेन्द्रलाई देउतै मान्न थालिन् । नगेन्द्र भन्छन्, ‘उनले प्रपोज पनि गरिन् । मैले सोझै भनेँ– मेरी आमा कन्जर्भेटिभ हुनुहुन्छ । म आमाको चित्त दुखाएर तिमीलाई ल्याउन सक्दिनँ । तिमी मबिना बाँच्नै सक्दिनौँ भने म बिहे गर्छु । तर आमाको चित्त दुखाएकाले हामी खुसी हुन भने सक्नेछैनौँ । गुड फ्रेन्ड त हामी यसै छँदैछौँ । मैले यति भनेपछि रिञ्जीले चित्त बुझाइन् ।’ भएको यही थियो । सबै स्पष्ट भएपछि मञ्जु र नगेन्द्रको विवाह भयो ।

यता, पोखराबाट फर्केर नारायण हेटौँडा जान चाहे । त्यहाँ उनको बुवाको जग्गा थियो । त्यही जग्गा हेरेर उतै बस्ने सोचमा नारायण थिए । त्यहाँ जाँदा गायन प्रतिभा ध्वस्त हुने डरले नगेन्द्रले उनलाई रोके ।

दाइ प्रधानमन्त्री भएका बेला नगेन्द्रलाई नाचघरको महाप्रबन्धक बनाइने कुरा भयो । नगेन्द्रले नारायणगोपालको नाम सिफारिस गरे । नाचघरको जिम्मा पाएका मन्त्री केबी शाहीले नारायणलाई महाप्रबन्धक बनाउन चाहेनन् । तैपनि उनले एकपटक दरबारमा जाहेर गर्ने बताए । दरबारले सकारात्मक संकेत गरेपछि नारायणले जिएमको नियुक्ति पाए । नियुक्ति दिने बेला केबीले भनेका थिए– नगेन्द्र त तपाईंको गज्जबको साथी रहेछ । यो नियुक्ति नगेन्द्रका लागि थियो, तर उसले तपाईंको नाम सिफारिस ग¥यो । अब तपाईंले त्यहाँ केही तल–माथि गर्नुभयो, वा कुनै नराम्रो घटना घट्यो भने म तपाईंलाई होइन नगेन्द्रलाई समाउँछु नि ! नगेन्द्र भन्छन्, ‘त्यो नियुक्तिपत्र मेरै हो । त्यहाँ नारायणगोपाललाई पठाउन पाए ऊ आफू पनि स्थापित हुन्थ्यो र त्यहीँको मान्छे पदोन्नति हुने परम्परा बस्थ्यो । नभन्दै पछि हरिहर शर्मा, गणेश रसिक जिएम भए । नारायणगोपाल जुन दिन नाचघरमा महाप्रबन्धक भए, ऊ त्यहाँ हुन्जेल मैले नाचघरमै खुट्टा टेकिनँ । म चाहन्थेँ– उसको डिमोर्लाइज नहोस्, उसले स्वतन्त्र रूपमा काम गरोस् ।’

नगेन्द्रका यी व्यवहार नियाल्दा लाग्छ, साथी हुन पनि ठूलो छाती चाहिन्छ । वास्तवमा साथी के हो ? ‘मन मिल्ने साथी भनेको अर्को मन हो,’ उनले एकछिन गमेर भने, ‘जीवनको गोरेटोमा मलाई साथीप्रतिको मोहले अत्यन्तै छोयो । मेरा थुप्रै साथी छन् तर मनभित्र पसेका साथी नारायण र गोपाल नै हुन् ।’ 

जीवनको उत्तराद्र्धमा नारायणगोपाल र गोपाल योञ्जनमा केही मनमुटाव देखियो, तर बोलचालै बन्द भएको थिएन । यी मीत जोडीले सहकार्यमा जुन किसिमले गीतहरू गर्नुपथ्र्यो, त्यो हुन सकेन । ‘यो किन भयो भन्ने मलाई थाहा छैन । यसमा उनीहरूका श्रीमतीको हात कति छ भन्ने पनि मलाई थाहा छैन । निश्चय नै नारायण र गोपालबीच पहिलेजस्तो काम नहुनुमा श्रीमतीहरू पनि संलग्न छन् भन्ने लाग्छ,’ नगेन्द्र भन्छन्, ‘नारायण आफैँ पनि संगीतकार हुन् । अलिकति इगो भयो कि भन्ने पनि लाग्छ । यद्यपि उनीहरूले मलाई यति माया गर्थे कि आफूहरूका कारण मेरो चित्त नदुखोस् भन्ने हिसाबले मेरो अगाडि उनीहरू हामीबीच केही पनि छैनजस्तो गरी कुरा गर्थे, ठट्टा गर्थे ।’

Nagendra Thapa (6)

 मेरो गीत म उभेको धुलोले सुनोस्

नगेन्द्रले जीवनमा ५० वटाजति गीत लेखेका छन्, प्रायः सबै गोपाल योञ्जनको अनुरोधमा । गोपालले नगेन्द्रलाई गीतकारका रूपमा अगाडि ल्याउन चाहन्थे, गोपाल आफैँ लेखोस् भन्ने नगेन्द्र चाहन्थे । ‘गोपाल आफैँमा राम्रो गीतकार हो । त्यतिबेला माध्यम रेडियो नेपाल मात्रै थियो । त्यसमा पनि कोटा सिस्टम थियो । वर्षमा दुई–चारवटा गीत रेकर्ड गर्न पाइन्थ्यो,’ नगेन्द्र भन्छन्, ‘मलाई थाहा थियो– मैले गीत लेखेँ भने गोपालले पहिले मेरै गीत दिन्थ्यो । म चाहन्थेँ– ऊ आफैँ गीत लेखोस् । त्यसैले मैले सोचेँ– मैले मभित्रको गीतकारलाई दबाएर राख्नुपर्छ ।’ 

पञ्चायतकालमा गीतमाथि निकै सेन्सर हुन्थ्यो । यही घानमा नगेन्द्रका शब्द पनि परे । ‘मेरो गीत म उभेको धुलोले सुनोस्’ बोलको गीतलाई सत्ताले जनताको आवाज नसुनेको रूपमा अथ्र्याइयो, व्यवस्थाविरोधी ठानियो । 

यो गीत नारायणगोपाललाई असाध्यै मनपरेको थियो, उनी जसरी पनि यो गीत गाउन चाहन्थे । उनी नगेन्द्रलाई भन्थे– होइन, सोम म यो गीत गाउँछु । नारायणले नगेन्द्रलाई सोम भन्थे । ‘यो गीत व्यवस्थाविरोधी गीत नै हो, यसमा अझ कडा केही शब्द थिए । निर्देशक भोग्यप्रसादले शब्द फेर्न लगाए, म उठेर हिँडेको थिएँ, नारायणले कर गरे– शब्द फेरिदिनुस्, म यो गीत गाएर मात्रै जान्छु,’ नगेन्द्र भन्छन्, ‘नारायणले नगाइ नछाड्ने भएपछि यसको शब्द केही मथ्थर पारिदिएँ मैले ।’

पञ्चायतकालमा पञ्चायतकै मुखआवाज बनेको रेडियोले विरोधको आभास गराउने विम्बलाई पनि बुझ्थ्यो । 

आँसुका ध्वनि कानले हैन, 

छातीका थुप्रै व्यथाले सुनोस् ।

सहरमा गीत कहालिन्छ भने 

डाँडा–काँडा गोरेटोले सुनोस् ।

मेरो गीत म उभेको धुलोले सुनोस्

मेरो गीत यहीँको चुपचापले सुनोस् ।

मेरो गीत कोही सुन्दैन भने 

आकाश बतासले सुनोस् । 

यो गीत कवितात्मक र गीतात्मक शैलीमा लेखिएको नगेन्द्र बताउँछन् । के उनले यी शब्दमार्फत तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गरेका हुन् ? ‘त्यसबेलाको समय र व्यवस्थाप्रतिको आक्रोश नै हुन् यी शब्द,’ नगेन्द्र भन्छन्, ‘म धुलोको मान्छे, माटोको मान्छे, त्यसकारण मेरो गीत वा मेरो आवाज कसैले सुन्दैन भने ठीकै छ, यस धर्तीले सुन्छ, आकाशले सुन्छ भन्ने हिसाबले यी शब्द लेखेको हुँ ।’

उनको राजनीतिक आस्था वा विचारधारा के हो त ? ‘म प्रजातन्त्रवादी हुँ । म कांग्रेस पनि होइन, पञ्चायती त झन् हुँदैन होइन,’ उनी स्पष्ट भन्छन् । 

दार्जिलिङमा गठन गरिएको ‘नेपाल विद्यार्थी परिषद्’मा नगेन्द्र अध्यक्ष थिए । बिपी कोइरालालाई सुन्दरीजल जेलमा राखिएका बेला नगेन्द्रले रिहाइको माग गरेका थिए । बिपीको रिहाइको माग गरिएको पर्चा छर्न उनी स्वयं दार्जिलिङबाट झापा आए । पर्चा काठमाडौंमा प्रधानमन्त्री समक्ष आइपुगेछ । नगेन्द्र विद्यार्थी संगठनको अध्यक्ष भएकाले पर्चामा उनकै नाम थियो । उनलाई लिन सरकारका मान्छे दार्जिलिङ पुगे । उनलाई काठमाडौं ल्याइयो । प्रधानमन्त्री सूर्यबहादुरले उनलाई भने– तैँले राजनीति गर्ने हो ? गर्ने हो भने त्यहाँको पढाइ छाडेर यतै राजनीति गर्न आइज । होइन भने यो बन्द गर् । के गर्छस् ? 

नगेन्द्रले भने– होइन दाइ, म राजनीति गर्दिनँ, पढ्छु । त्यसपछि उनले पढ्नमै ध्यान दिए । नगेन्द्रले समाजको परिवर्त चाहने गीत पनि लेखेका छन् । चलचित्र ‘बदलिँदो आकाश’को शीर्ष गीतमा उनका शब्द छन् : 

रगत रातो सबैको हुन्छ न जात न पात

हाँसो र आँसु एउटै हुन्छ न छुवा न अछुत

आकाश धर्ती सबैको लागि बनेको बराबर

तैपनि किन बाँडिनुपर्ने लगाई छेकबार

मुटुको भाका एउटै भए फिजिन्छ सुवास

गुराँस बिहान देखाई भन्छ– बदलिँदो आकाश ।

यस फिल्ममा आफूले लेखेको अर्को गीतमा नयाँ प्रयोग गरेको उनी बताउँछन् । ‘मैले पहिलोचोटि स्त्रीको आँखालाई बदामी आँखा भनेँ । आँखाको आकृतिजस्तै हुन्छ,’ उनी भन्छन्, ‘ओठलाई मैले सुन्तलेओठ भने । केटीहरूको ओठको रङ प्रायः सुन्तलाकै हुन्छ । हिँडाइलाई मैले नागबेली भनेको छु ।’ 

325972038_701064595093927_6442390530634311914_n

‘नारायणले ट्वाँट भत्काए’

चलचित्र बदलिँदो आकाशमा गीत लेख्दा पैसाको कुरा उठ्यो । गोपाल योञ्जनले नै उनलाई गीत लेख्न भनेका थिए । त्यतिबेला उनलाई सोधिएको थियो– कति पैसा लिनुहुन्छ ? 

नगेन्द्र आफ्नो भाउ सुनाउँछन्, ‘त्यतिबेला मलाई पैसा थाहा छैन, चल्तीको सबैभन्दा ठूलो गीतकारले कति पैसा लिन्छ भन्ने, तैपनि मैले भनेँ– सबैभन्दा बढी लिनेलाई भन्दा मलाई एक मोहर बढी दिनू ।’ 

रेडियोमा गीतकारलाई एउटा गीतको २५ रूपैयाँ मात्रै दिइन्थ्यो । त्यसैले नगेन्द्र कहिल्यै पनि आफ्नो गीतको पैसा लिन रेडियो नेपालमा गएनन् । 

८–१० वटा गीत भएपछि एकपटक नारायणगोपालले भने– ए सोम ! त्यो रेडियो नेपाललाई पैसा किन छाड्ने ? तपाईं एउटा चिठी लेख्नुस्, तपाईंको गीतको पैसा बुझेर मैले ‘ट्वाँट’ भत्काउँछु (रक्सी खान्छु भन्ने अर्थमा) खान्छु ।

नगेन्द्र हाँस्दै भन्छन्, ‘मैले चिठी लेखिदिएँ । नारायणले पैसा ल्याएर ट्वाँट भत्काए ।’

सुरुवाती दिनमा, गोपाल, नारायण र नगेन्द्र काठमाडौंमा प्रायः त्यत्तिकै हिँडिरहन्थे । डबलीमा नाचगान चलेको हुन्थ्यो, त्यहाँ पुग्थे । मन्दिरहरूमा रागमा भजन गाउन पुग्थे । पशुपतिमा एउटा जोगी थिए, नारायणलाई खुब माया गर्ने, गाँजा खान दिने । त्यहाँ गाँजा खाएर नारायणले भजन गाउँथे । 

‘हाम्रो जिन्दगी त्यस्तै थियो,’ नगेन्द्र पुराना दिन सम्झन्छन्, ‘दार्जिलिङमा पढ्दै गर्दा (२०२४ सालमा) मैले काठमाडौंमा होन्डाको मोटरसाइकल किनेको थिएँ । २०२७ सालमा अर्को फेरि किनेँ । गोपाल र नारायणलाई मैले नै बाइक सिकाएको हुँ ।’ 

नारायणलाई नगेन्द्रकी श्रीमतीले बनाएको खुर्सानीको अचार असाध्यै मनपथ्र्यो । कहिलेकाहीँ मोटरसाइकलमा अचार लिएर नगेन्द्र नारायणकहाँ पुग्थे । यही बीचमा दाइले नगेन्द्रलाई कुनै सरकारी जागिर खाओस् भन्ने चाहन्थे । तर स्थायी प्रकृतिको जागिरमा नगेन्द्रको उत्रो रुचि थिएन । उनले करारमा जागिर खाने सोच बनाए । 

२०३३ सालतिर धानचामल कम्पनी खुल्यो, नगेन्द्र मेचीमा जिएम भएर गए । त्यसपछि पाटन औद्योगिक क्षेत्रको जिएम, उच्च माध्यमिक शिक्षा परिषद् प्रमुख समेत भए । 

यो बीचमा सन् १९८० तिर उनले क्रास म्यानेजमेन्टमा डिप्लोमा गरे, अमेरिकाबाट । यो एक वर्षे कोर्स थियो । 

७७ वर्षे उमेरमा नगेन्द्र योग, व्यायाम र आध्यात्मिक चिन्तनतिर लहसिएका छन् । बिहान साढे ४ बजे नै उठेर प्राणायम, ध्यान र व्यायाम गर्छन् । कतै जानुपरे आफैँ गाडी हाँक्छन् । अहिलेसम्म चारवटा कृति निकालेका उनी गीत लेख्ने सोचमा छैनन् । लेखे हुने ! उनी भन्छन्, ‘अब नलेख्ने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप