बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सरकार जोगाउन दीर्घलाई लेखराजको फोन : साढे दुई वर्षपछि मुख्यमन्त्रीको प्रस्ताव

बिहीबार, २६ माघ २०७९, १५ : १७
बिहीबार, २६ माघ २०७९

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन् । बुधबार साँझ फोन गरेर भट्टले सोडारीलाई आधा कार्यकाल मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको थिए । कांग्रेस नेताहरुसँग छलफलमा रहेका सोडारीलाई भट्टको प्रस्ताव अस्वीकार गरेका छन् ।

एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । नाउपाले विश्वासको मत नदिने अडान लिएपछि रावल सरकार सङ्कटमा परेको छ । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ । रावललाई अहिले प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख सहित) ११, र राप्रपाका १ गरी २२ सांसदको माथ साथ छ । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवाद) का ४ र १ स्वतन्त्र सदस्य छन्। एकीकृत समाजवादी र स्वतन्त्र सांसदको साथ पाए नाउपा विनै रावल सरकारले विश्वासको मत पाउने देखिन्छ ।

त्यसैले एमाले प्रदेश इन्चार्ज भट्ट, प्रदेश अध्यक्ष तथा उद्योग मन्त्री दामोदर भण्डारीले रावलका लागि विश्वासको मत जुटाउन सक्रिय भएर लागेका छन् । तर बिहीबार मध्यान्ह १२ बजेसम्म रावलले विश्वासको मत पाउने परिस्थिति बनिसकेको छैन ।

एकीकृत समाजवादीका एक नेताले भने, ‘लेखराजीले फोन गरेर आधा–आधा सरकारको नेतृत्व गर्न गरी सत्ता सहकार्यको प्रस्ताव गर्नुभयो । एमालेको सरकारमा जाने नीति छैन भनेर जवाफ दियौं ।’ एमाले र माओवादीबीच आधा–आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ । पहिलो साढे २ वर्ष राजेन्द्र रावल र बाँकी २ वर्ष माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने सहमति छ ।

यस्तो अवस्थामा एमाले सत्ता जोगाउन साढे २ वर्षपछि मुख्यमन्त्री बनाउने ललिपप मात्र देखाएको एकीकृत समाजवादीका ती नेताको भनाइ छ । मुख्यमन्त्रीको विश्वासको मतका लागि आजै १ बजे प्रदेशसभा बैठक बस्दै छ ।  आजको बैठकमा विश्वासको मत प्राप्त गर्न नसके रावल नेतृत्वको सरकार ढल्ने छ । त्यसपछि सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउन बाटो खुल्नेछ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।

एमालेका रावल उपधारा (२) ले व्यवस्था गरेको दुई वा दुईभन्दा बढी दलको समर्थनबाट मुख्यमन्त्री बनेका थिए । रावलले विश्वासको मत पाउन नसकेमा उपधारा ()० बमोजिम कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् ।

सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठुलो दल छ । कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । तर सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि देखिन्छ । माओवादी केन्द्रका नेता खगराज भट्टले अहिलेसम्म वर्तमान सरकारलाई विश्वासको मत पाउने वातावरण निर्माणका लागि जुटिरहेको बताए ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने उनले रातोपाटीलाई बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको छ । केन्द्रमा पनि पुराना सत्ता गठबन्धन ब्युँताउने प्रयास भइरहेका छ ।

कांग्रेसका नेताहरू सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँताउने अभियान सुरु हुने बताउँछन् । सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिमबाट काँग्रेसको सत्ता रोहण गराउन नेताहरू सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप