शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा नयाँलाई मात्र अवसर !

बिहीबार, २६ माघ २०७९, १२ : ४१
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रदेखि प्रदेशसम्म नयाँ नयाँ नेतालाई अवसर दिएका छन् । उनले संसदीय दलको नेता बनाउनेदेखि लिएर मन्त्रीलगायत पदहरूमा नयाँलाई अनुहारलाई प्राथमिकता दिएका छन् । 

पुराना अनुहार कहीँ दोहोराएका छैनन् । मधेस प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व गरेको जसपाले कुनै पुराना अनुहार दोहोराएका छैनन् । पार्टीले मुख्यमन्त्रीदेखि लिएर मन्त्रीलगायत सबैमा नयाँलाई अवसरलाई दिएको छ ।

यहाँसम्म कि अध्यक्ष यादवले प्रमुख न्यायधिवक्तामा पनि नयाँलाई अवसर दिएका छन् । यसअघि प्रमुख न्यायधिवक्तामा दीपेन्द्र झा थिए । उनले पुनः दोहोरिने इच्छा देखाएका थिए, तर अध्यक्ष यादवले अधिवक्ता वीरेन्द्र ठाकुरलाई प्रमुख न्यायधिवक्तामा पठाएका छन् । यसपटक पनि मुख्यमन्त्रीमा लालबाबु राउत दोहोरिन चाहेका थिए । उनले त्यसका लागि प्रयास पनि गरेका थिए, तर अध्यक्ष यादवले सरोज यादवलाई मुख्यमन्त्री बनाए । मन्त्रीमा पनि कुनै पुराना अनुहारलाई ठाउँ दिएका छैन ।

यहाँसम्म मुख्यमन्त्री, मन्त्रीहरूको सचिवालयमा पनि नयाँ नयाँलाई ल्याउने तयारी भइरहेको छ । 

केन्द्रमा पनि अध्यक्ष यादवले मन्त्रीलगायत अन्य पदमा नयाँलाई अवसर दिने तयारीमा छन् । संसदीय दलको नेता रामसहाय यादवलाई बनाएका छन् । सरकारमा जाने कि नजाने त्यसको टुगों अहिलेसम्म लागेको छैन । 

यस्तो गर्नुको मुख्य कारण यसअघिका जसपा नेतृत्वका सरकार काम गर्न नसकेको कारण बदनाम हुनु नै हो । सरकारमा सहभागी भएकाहरूले राम्रो काम गर्न नसकेकै कारण चुनावमा जसपा कमजोर भएको ठहर अध्यक्ष उपेन्द्र यादवको छ । त्यस कारणले नयाँ नयाँलाई अवसर दिएर अध्यक्षले  सरकारलाई गतिलो बनाउन चाहेको सो पार्टीका नेताहरू बताउँछन् । 

जसपाका नेता वीरेन्द्र यादव भन्छन्, ‘अघिल्लो सरकारमा रहेका मन्त्रीले नराम्रो काम गरेको कारण अहिले सबै नयाँ अनुहार ल्याएको कुरालाई म मान्दिन, अघिल्लो मन्त्रीहरूले पनि राम्रा काम गरेका छन् अहिलेको सरकारमा नयाँ अवसर दिएको मात्र हो अध्यक्षजीको यो निर्णय स्वागतयोग्य छ ।’ एकचोटी काम गर्ने मौका सबैलाई दिनुपर्छ एउटै व्यक्तिलाई पटक पटक दोहोर्‍याउनु हुँदैन, सबैलाई अवसर दियो भने पार्टीप्रति सबैको आकर्षण बढ्ने उनको विश्लेषण छ ।

जसपा नेपाल मधेस प्रदेश समितिका सदस्य विष्णु साहले पनि पार्टीमा नयाँ अनुहारले पनि अवसर पाउँदो रहेछ भनेर पार्टीप्रति आकर्षण बढ्ने बताए । प्रतिनिधि सभाको चुनावपछि संसदीय दलको नेतामा सो पार्टीका वरिष्ठ नेता अशोक राई संसदीय दलको नेता बनाउँछन् भनी धेरैको अनुमान थियो, तर बाराबाट चुनाव जितेका रामसहाय यादवलाई संसदीय दलको नेता बनाइएका छ । एक नेताले भने, ‘सायद मन्त्री पठाउँदा पनि नयाँ अनुहारलाई नै पठाउने अवस्था देखिएको छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप