शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेसी मोर्चा बनाउन लोसपाले थाल्यो पहल

बिहीबार, २६ माघ २०७९, १४ : ४७
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले मधेस केन्द्रित दलहरूको बीचमा सहकार्य गर्न मधेसी मोर्चा बनाउनका लागि पहल थालेको छ ।

सडक र सदनमा संगठित रुमपा मधेसको पक्षमा आवाज उठाउनका लागि मोर्चाको आवश्यकता महसुस गर्दै लोसपाले त्यसको पहल थालिएको बताइएको छ । लोसपाको पदाधिकारी बैठकले गठबन्धन वा मोर्चा बनाउने जिम्मेवारी पार्टी अध्यक्ष ठाकुरलाई दिएको हो । 

लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले यसअघि मधेस आन्दोलनलगायत विभिन्न संघर्षका लागि मधेसी मोर्चाले काम गरेकाले पुनः त्यस्तै मोर्चाको आवश्यकता आएको बताए ।

उनले मधेसवादी शक्तिहरू संगठित नभएको कारणले मधेसका मुद्दाहरू कमजोर हुँदै गइरहेको बताए । मधेसका मुद्दालाई व्यवस्थित ढंगबाट उठाउन गर्न दलहरू संगठित हुनुपर्ने र त्यसको पहलकदमी आफ्नो पार्टीले लिने उनले बताए ।

उनले भने, ‘मधेसमा अहिले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी क्रियाशील छन् । यी चारै दललाई एक ठाउँमा ल्याउने हाम्रो प्रयास हुनेछ ।’ जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग प्रारम्भिक छलफल भएको र जसपासँग अध्यक्ष ठाकुरलाई कुरा गर्ने जिम्मेवारी दिएको उनले बताए । उनले यसमा जनमत र उन्मुक्ति पार्टी सकारात्मक रहेको पनि बताए ।

विगतमा मधेसवादी दलहरू मिल्नाले परिणाम सकारात्मक आएको भन्दै उनले अहिले अलग हुँदा मधेसका मुद्दा पनि कमजोर हुँदै गएको बताए । उनले चुनाव अघि पनि मधेसवादी दलबीच गठबन्धन बनाउने प्रयास आफूहरूबाट भएपनि अन्य दलहरुले कुनै ध्यान नदिएका कारण सम्भव नभएको बताए । लोसपाले गठबन्धनका लागि पहल थालेको बताउँदै उनले तत्कालै एकताको कुरा भने नहुने बताए । उनले सुरुमा सहकार्य गरेर सँगै काम गर्ने र वातावरण, तालमेल मिल्दै गएपछि एकताको लागि पनि सोच्न सकिने बताए ।  

जसपा, लोसपा, जनमत र उन्मुक्ति पार्टी प्रदेशदेखि संघसम्म संसदमा छन् । त्यसमध्ये लोसपा राष्ट्रिय पार्टी बन्न सकेको छैन । बाँकी तीनवटै दल राष्ट्रिय पार्टी हुन् । तीनटै दलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएका छन् । त्यसमध्ये जनमत पार्टी सरकारमै सहभागी भएको छ । मधेस प्रदेशमा जसपाले सरकारको नेतृत्व गरेको छ भने त्यसमा जनमत पार्टी पनि सहभागी भएको छ । अर्थात जनमत संघ र प्रदेश दुईवटै सरकारमा सहभागी भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप