बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : अव्यवहारिक शिक्षा

शुक्रबार, २६ फागुन २०७९, १२ : ३८
शुक्रबार, २६ फागुन २०७९

प्रायः सबै अभिभावक बालबालिकाले राम्रोसँग पढेर विद्वान् बनुन्, सुयोग्य नागरिक बनेर देशको सेवा गरुन् र देश विदेशमा नाम कमाउन सकुन् भन्ने चाहन्छन् । भाइबहिनीहरूका अभिभावकका चाहना पनि त्यस्तै हुन सक्छन् तर असल नागरिक बनेर देश विदेशमा प्रशंसा पाउन राम्रोसँग पढ्न त पर्छ नै साथसाथै सही तरिकाले प्रयोगमा ल्याउन जान्नु पनि पर्छ । होइन भने त्यस्ता पढाइले दुःख मात्र दिँदैन बदनाम गराउन पनि सक्छ ।

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा दश जना विद्या पढेका विद्वान् थिए । उनीहरू एक दिन विदेशतिर  विद्याको प्रचार गर्न भनी हिँडे । धेरै दिनको हिँडाइपछि एउटा कुनै देशमा पुगे । त्यहाँका राजा निकै ज्ञानी छन् भन्ने सुनेकाले उनीहरू राजाको दरबारतर्फ लागे तर दरबारमा सिधै प्रवेश भने पाइँदैनथ्यो । गाउँ र राजधानीको बीचमा एउटा ठुलै नदी थियो । जताबाट गए पनि त्यसलाई पार गर्नै पर्ने हुन्थ्यो ।

त्यतिबेला अहिलेको जस्तो पुल पुलेसा थिएनन् । नदी पार गर्न कि डुङ्गाको सहयोग लिनुपर्थ्यो कि सिधै नदीमा हेलिनुपर्थ्यो । यताउता हेरे कुनै साधन देखेनन् । त्यसैले सोझै तर्ने विचार गरी नदीमा पसे । नदी ठुलो र बहाव चर्को थियो । तैपनि मन्त्रशक्तिको बलले सजिलै पारी पुग्न सफल भए ।  

उनीहरूले नदी त तरे तर आफैँलाई विश्वास भने भएन । कतै आफूहरूमध्ये कसैलाई नदीले बगाउने काम त गरेन भन्ने लाग्यो र एउटा साथी टाउको गन्न लागे । नभन्दै एउटा टाउको कमी भेटियो र आत्तिँदै भने–

‘होइन हो साथी ! हामीमध्ये कुनै एकलाई नदीले बगायो जस्तो लाग्यो । गाउँबाट १० जना आएका थियौँ तर यहाँ त नौ वटा मात्र टाउको छन् ।’

उनको सुनेर आत्तिँदै अर्को साथीले गने । उनले पनि नौ जनाको मात्र टाउको भेटेकाले अँध्यारो अनुहार लगाउँदै भने–

‘लौ खत्तम ! लौ बरबाद । हामीमध्ये एक जनालाई नदीले बगाएकै रहेछ । मैले गन्दा पनि नौ वटा नै टाउको भेटेँ ।’ 

एवं रीतले सबैले पालैपालो टाउको गने तर जसले गन्दा पनि नौ वटा मात्र भेटिएकाले जोडले रुन लागे । कोही रुन्थे कोही विलाप गर्थे । कोही अब गाउँमा गएर के भन्ने भन्थे ।

यत्तिकैमा गाउँका एक जना सज्जन त्यतै आइपुगे । उनीहरू रोएको देखेर आश्चर्य मान्दै सोधे–

‘महाशय ! को हुनुहुन्छ, कता जाँदै हुनुहुन्छ, किन यसरी रुँदै हुनुहुन्छ ?’

सज्जनको कुरा सुनेर उनीहरूले एकै स्वरमा भने–

‘हामी अमुक देशका विद्वान् हौँ, विद्या प्रचार गर्न हिँडेका तर एक जनालाई नदीले बगायो । त्यसैको पिरले रोइरहेका छौँ ।’

‘नदीले बगायो रे ?’

‘हो हजुर बगायो ।’

‘कसलाई बगायो भन्न सक्नुहुन्छ ?’

‘त्यो त थाहा छैन तर एक जनालाई बगाएको भने पक्का हो ।’

‘कसलाई बगायो थाहा छैन भन्ने पनि हुन्छ ?’

‘हुन्छ होइन महाशय ! भयो, भइसक्यो ।’

उनीहरूको कुरामा आशङ्का लागेकाले प्रस्ट जानकारी खोज्दै भने–

‘पक्कै हो ?’

‘हो हजुर ! नत्र किन रुन्थ्यौँ र ? त्यत्तिकै रुने त कि मूर्ख हुन्छ कि पागल । हामी ती दुवैमा पर्दैनौँ ।’

उनीहरूको कुरा सुनेर आगन्तुक सज्जनले लामो सास फेर्दै भने–

‘दुःखी छु, साथीलाई नदीले बगाएको रहेछ तर कसलाई बगायो भन्ने थाहा नभए पनि गाउँबाट कति जना आउनुभएको थियो त्यो त भन्न सक्नुहुन्छ नि होइन ?’

‘हँ हँ किन नसक्ने ।’

‘कति जना आउनुभएको थियो ?’

‘दश जना आएका थियौँ, जुन अहिले पनि कण्ठै छ ।’

त्यसपछि आगन्तुक सज्जन आफैँ गन्न लागे तर उनले गन्दा भने दश वटै टाउको भेटिएकाले मुसुक्क हाँस्दै भने–

‘ठिकै छ त । तपाईँहरू दशै जना सही सलामत हुनुहुन्छ ।’

‘सबै सलामत छौँ रे ।’

‘हो त नि कसैलाई पनि बगाएको छैन ।’

‘यस्तो कसरी हुन्छ ?’

 कसरी हुन्छ होइन भइसक्यो । दसै जना सलामत हुनुहुन्छ ।’

‘त्यही त भन्या कसरी यस्तो भयो ?’

त्यसपछि सज्जनले सम्झाउँदै भने–

‘तपार्ईँहरूले टाउको त गन्नुभयो तर अरूको मात्र गन्नु भयो, आफूलाई बिर्सनुभयो । जहाँ पनि अरूको मात्र गन्ने र आफूलाई बिर्सँदाको नतिजा यस्तै हुन्छ । एकपटक आफ्नो टाउकोलाई पनि राखेर गन्नुस् त अहिलेको अहिल्यै दूधको दूध पानीको पानी हुन्छ ।’

त्यसपछि सज्जनले भने जस्तै गरे । नभन्दै भयो त्यस्तै । त्यसपछि लाजले रातोपीरो हुँदै थप अध्ययनका लागि गुरुकुलतिर लागे । 

यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर किताबी ज्ञानले मात्र विद्वान बनेकाहरूको अवस्था भने जहाँ पनि यस्तै हुन्छ । सही शिक्षा त्यही हो, जहाँ किताबी ज्ञानको साथमा व्यावहारिक ज्ञानतर्फ पनि ध्यान दिइएको छ । सही पढाइ पनि त्यही हो, जहाँ चिन्तन मननका साथै व्यावहारिक प्रयोग गर्न पनि सिकाउने गरिएको हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप