शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीतर्फ अघि बढ्दै गरेको क्षुद्रग्रह सन् २०४६ को भ्यालेन्टाइन्स डेमा आइपुग्ने : नासा

सोमबार, २९ फागुन २०७९, १६ : ०८
सोमबार, २९ फागुन २०७९

वासिङ्टन । हालै पत्ता लागेको क्षुद्रग्रह सन् २०४६ मा पृथ्वीको नजिकबाट गुज्रने नासाले मंगलबार एक ट्वीट गर्दै जानकारी दिएको छ । यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना न्यून रहेको पनि जानकारी दिइएको छ । नासाको गणनाका अनुसार एउटा ओलम्पिकको स्विमिङ पुलको आकारको सो क्षुद्रग्रह यदि पृथ्वीमा ठोक्किने भयो भने सन् २०४६ को भ्यालेन्टाइन्स डेमा पृथ्वीमा आइपुग्नेछ । यद्यपि, नासाले अहिलेसम्म यो क्षुद्रग्रह पृथ्वीको १८ लाख किलोमिटर नजिकसम्म आइपुग्ने बताएको छ । शोधकर्ताहरूले अझै तथ्यांकलाई गणना गरिरहेका छन् । त्यसैले यो तथ्यांक पछि फरक पनि पर्न सक्छ ।

‘२०२३ डीडब्लू’ नाम दिइएको सो क्षुद्रग्रह पृथ्वीसँग ठक्कर खाने सम्भावना ५६० मा १ रहेको नासाको भनाई छ । टोरिनो इम्प्याक्ट हाजार्ड स्केलमा जोखिमको सूचकाङ्कमा १ मा रहेको एकमात्र क्षुद्रग्रह हो । ० देखि १० सूचकाङ्कमा कुनै पनि अन्तरिक्षको वस्तु पृथ्वीसँग ठोक्किने जोखिमलाई मापन गरिन्छ । यसमा शून्य भनेको ठोक्किने सम्भावना नरहेको बुझिन्छ । नासाको जेट प्रापोल्सन ल्याब्रोटरी (जेपीएल) का अनुसार १ भनेको पनि क्षुद्रग्रह ठोक्किने सम्भावना निकै कम रहेको र आमजनता आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । ‘यो क्षुद्रग्रहको बारेमा धेरै चिन्ता लिइराख्नुपर्ने छैन,’ जेपीएलका इन्जिनियर डेभिड फारानोकियाले सीएनएनसँग कुराकानी गरे ।

यदि यो क्षुद्रग्रह केही गरी पृथ्वीसँग ठोक्किहाल्यो भने पनि ६.६ करोड वर्षअघि पृथ्वीबाट डायनासोर लोप हुनेजस्तो असर नपर्ने साइन्टिफिक अमेरिकनले जनाएको छ । त्यतिबेला पृथ्वीसँग ठोक्किएको क्षुद्रग्रहको आकार अहिलेको भन्दा निकै ठुलो (१२ किलोमिटर लम्बाई) भएको थियो । यद्यपि, २०२३ डीडब्लू कुनै सहर वा जनघनत्व धेरै भएको स्थानमा खस्यो भने चाहिँ यसले ठुलो क्षति पुर्‍याउन सक्ने जोखिम रहेको छ । १० वर्षअघि २०२३ डीडब्लूको आकारभन्दा आधाको एउटा क्षुद्रग्रह विस्फोट हुँदा २ सय वर्ग माइलको क्षेत्रफलमा झ्यालका सीसाहरु फुटेका थिए भने १५ सय जनाभन्दा बढी घाइते भएका थिए ।

यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना कम भए पनि वैज्ञानिकहरूले यस्ता खालको घटनाका लागि लामो समयदेखि तयारी गरिरहेका छन् । गत अक्टोबरमा नासाले आफ्नो डबल एस्टेरोइड टेस्ट (डार्ट) मिसनले एउटा सानो क्षुद्रग्रहमा अन्तरिक्षयान ठोक्काउँदै त्यसको दिशा परिवर्तन गर्न सफल भएको थियो । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप