शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

बुधबार, ०१ चैत २०७९, १६ : ५४
बुधबार, ०१ चैत २०७९

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख वासस्थानका रूपमा प्रख्यात रहेको छ । पाटेबाघका लागि थोरै क्षेत्रफल भएपनि यहाँ ३६ बाघ रहेका छन् । 

विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय वासस्थान लगायतले गर्दा बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए । “शुक्लाफाँटा बाघको राम्रो वासस्थान बनेको छ”, उनले भने, “यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको सङ्ख्या बढेको हो ।” 

उनले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताए । शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् । “निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन्”, सहायक संरक्षण अधिकृत ऐरले भने, “योबाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ ।” 

निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन् । चौध नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो । 

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा सङ्ख्या ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप