बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउन छलफल

बुटवल। बुटवलमा रहेका स्वास्थ्य संस्थाहरूलाई विशिष्ट सेवा प्रदान गर्ने बनाउनका लागि सरोकारवालाहरूले सुझाव दिएका छन् ।
बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरूसँग छलफल गरेको हो । स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरूले सुझाव दिए । स्तरीय स्वास्थ्य सुविधा प्रदानका लागि सरकारी नीतिले साथ दिएमा सरकारी र निजी क्षेत्रको समन्वयमा विशिष्टीकृत सुविधा घरघरमा पुर्याउन तयार रहेको उनीहरूले बताएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवासुविधा प्रदान गर्नुपर्ने बताए । उनले सङ्ख्यात्मक भन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरू स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको बताए । बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि योजना निर्माण गर्दै सेवा प्रवाहलगायतका विषयमा विज्ञहरूको राय सुझाव लिने अभियानको थालनी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजीहरुलाई राजनीतिक दलहरुले संरक्षण गर्नुहुँदैन : डा. पौड्याल
-
शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा
-
नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा : भारतीय मिडिया
-
बागमती प्रदेश : मन्त्रालय बाँडफाँटमा दलहरुबीच अझै बन्न सकेन सहमति
-
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त
-
राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी