शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याट जिपिटीको नयाँ संस्करण जिपिटी–४ : भान्साको सामान हेरेर के बनाउने भनिदिन्छ

आइतबार, ०५ चैत २०७९, १६ : ५८
आइतबार, ०५ चैत २०७९

कल्पना गर्नुहोस् कि तपाईँ घरमा एक्लै हुनुहुन्छ र खानामा के बनाउने भनेर तपाईँले सोच्न सक्नुभएको छैन । यस्तोमा तपाईँले आफ्नो फ्रिजमा राखिएको सामानको फोटो खिचेर च्याटबोटलाई के बनाउने आइडिया देऊ भनेर सोध्नुभयो भने यसले तपाईँलाई रेसिपीसहितको तरिका पठाइदिन्छ । यस्तै बिरामी हुँदा तपाईँलाई उपचारको सल्लाह पनि दिन्छ र जोक्स सुनाएर हँसाउँछ पनि ।

यी कुरा अब काल्पनिक होइनन्, जिपिटी–४ ले यसो गर्न सुरु गरिसकेको छ । वास्तवमा १४ मार्चमा ओपन एआई कम्पनीले आफ्नो च्याट जिपिटी प्रडक्टको नयाँ अपडेटेड भर्सन जिपिटी–४ को सुरुवात गरिसकेको छ । यो पहिलाको भन्दा रचनात्मक, विश्वासयोग्य र सटिक जानकारी दिने खालको छ ।

यो नयाँ प्रविधि आइसकेपछि हाम्रो जीवन कसरी फेरिनेछ भन्ने जानकारी दिनेछौँ ।

१. जिपिटी–४ ले हरेक प्रश्नको सटिक जवाफ दिनेछ 

अब जिपिटी–४ ले हरेक प्रश्नको पहिलाको भन्दा सटिक जवाफ दिनेछ । अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमाथि अनुसन्धान गरिरहेका ओरेन एटजियोनी नामका व्यक्तिले च्याट जिपिटीको पछिल्लो भर्सन र जिपिटी–४ सँग एउटै खालका प्रश्न सोधे । यसमार्फत उनले यसले कत्तिको सटिक जानकारी दिन्छ त भन्ने कुराको परीक्षण गरे । अनुसन्धानकर्ताका अनुसार जिपिटी–४ ले सही र सटिक जवाफ दियो । 

२. फ्रिजमा राखिएको सामानको फोटो हेरेर खानामा के बनाउने भनिदिन्छन्

च्याट जिपिटी वा जिपिटी–३.५ ले लिखित भाषा मात्रै बुझ्न सक्थ्यो तर अब जिपिटी–४ ले  लिखितका साथै फोटो पनि बुझ्न सक्छ । यसलाई बनाउने कम्पनी ओपन एआईका सह–संस्थापक ग्रेग ब्रोकम्यानले फ्रिजमा राखिएको सामानको फोटो खिचेर के बनाउन सकिन्छ भनेर प्रश्न सोधे ।

जिपिटी–४ ले जवाफ दियो – फ्रिजमा राखिएको सामानलाई हेरेर यस्ता खालका दुई डिश बनाउने आइडिया आएको छ ...

१. फ्रेन्च डिश योगर्ट पार्फेट

२. गाजर र ह्युमस र्‍याप

त्यसपछि जिपिटी–४ ले दुवै डिश बनाउने तरिका पनि बताउँछ ।

३.रोगी र बिरामीको उपचारको तरिका बताइदिनेछ

युनिभर्सिटी अफ नर्थ क्यारोलाइना प्राध्यापक अनिल गेहीले आफूकहाँ उपचार गराउन एक बिरामी आएको बताए । उनले ती बिरामीको समस्या बताएर जिपिटी–४ लाई यसको उपचार कसरी गर्ने भनेर सोधे । 

त्यसपछि जिपिटी–४ ले ठ्याक्कै त्यसरी नै उपचार गर्न र औषधी दिन सुझाव दियो जुन उनले सोचिरहेका थिए । प्राध्यापक अनिलका अनुसार जिपिटी– ४ को जवाफ सुनेर यस्तो लाग्यो कि यो मेडिकल साइन्सको विशेषज्ञ बनेको छ ।

यति मात्रै होइन जिपिटी–४ कुनै औषधीको कम्पाउन्डसम्मको जानकारी दिन सक्छ । यो औषधी खाएपछि शरीरमा पर्ने असरबारे यसले विस्तृत जानकारी दिन सक्छ । उनका अनुसार यो प्रविधिमार्फत भोलिका दिनमा वैज्ञानिकले एचथ्रीएनटु भाइरसदेखि अन्य थुप्रै गम्भीर रोगको उपचार पनि खोज्न सक्छन् ।

४. कुनै आर्टिकल वा रिसर्च पेपरलाई छोटकरीमा बुझाउन सक्छ

आजको समयमा मानिससँग समयको अभाव छ । यस्तोमा कुनै पत्रिकाको लामो आर्टिकल वा रिसर्च पेपरलाई जिपिटी–४ ले छोटकरीमा बुझाउन सक्छ । वैज्ञानिक यो देखेर दङ्ग परेका छन् कि लामो लेख वा रिसर्च पेपरलाई जिपिटी–४ ले मानिसले झैँ कसरी बुझाउन सक्छ । यति मात्रै होइन, जब एक लेखको गलत सारांश लेखेर वैज्ञानिकले जिपिटी–४ लाई के यो सारांश सही छ भनेर सोधियो । 

यसको जवाफमा जिपिटी –४ ले लेखका सबै महत्त्वपूर्ण बुँदाहरू यस सारांशमा लेखिएको भए पनि यसमा एउटा तथ्य गलत लेखिएको बताएको छ । यो तथ्य लेखको मूल पाठमा कतै पनि उल्लेख गरिएको छैन भनेर जिपिटी – ४ को जवाफ जवाफ सुनेर वैज्ञानिकहरू छक्क परे । 

५. सेन्स अफ ह्युमर भएको ठट्टा सुनाएर हाँस्नसमेत बाध्य बनाउँछ जिपिटी–४

तपार्ईं एक्लै बसिरहनु भएको छ । तपाईँको वरिपरि कुरा गर्ने कोही छैन । यस्तो समयमा, जिपिटी–४ तपाईंको सेन्स अफ ह्युमरयुक्त जोक सुनाएर हाँस्न बाध्य बनाउँछ । वैज्ञानिकका अनुसार जोक सुनाउने मामिलामा पनि जिपिटी–३.५ को तुलनामा जिपिटी–४ को सेन्स अफ ह्युमर कमालको छ ।

६. के जिपिटी–४ ले भविष्यको जानकारी दिन सक्छ ?

अनुसन्धानमा यो पनि पत्ता लागेको छ कि जिपिटी–४ पहिला नै घटित भइसकेको घटनासँग सम्बन्धित प्रश्नको सटिक जवाफ दिन सक्छ । भविष्यबारे सोधिएको जवाफ दिन जिपिटी–४ सक्षम छैन । यसले केही नयाँ बताउनुको साटो त्यो विषयमा पहिला जे कुरा भएको छ, त्योसँग सम्बन्धित जवाफ दिने गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप