शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ मा उपनिर्वाचन : उपेन्द्र यादवलाई सत्तारुढ गठबन्धनबाटै चुनौती !

माओवादी केन्द्रबाट कुशवाहा उम्मेदवार बन्ने
सोमबार, ०६ चैत २०७९, १९ : ४९
सोमबार, ०६ चैत २०७९

बारा । निर्वाचन आयोगले बारा–२ सहित विभिन्न तीन वटा निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गराउने कार्यतालिका सार्वजनिक गरेको छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव हालै उपराष्ट्रपति पदमा निर्वाचित भएपछि उक्त सिटमा उपनिर्वाचन गराउनु परेको हो ।

बारा–२ मा जसपा नेपालका अध्यक्ष उम्मेदवार बन्ने उद्देश्यका साथ नै जसपा नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाएको चर्चा यसअघि नै चलेको थियो । जसपा नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले बारा–२ मा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बन्ने निश्चित भएको रातोपाटीलाई बताए ।

तर, उपेन्द्र यादवलाई प्रतिनिधिसभा प्रवेशका लागि सत्तारुढ गठबन्धनबाटै चुनौती मिल्ने देखिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहा पनि सो क्षेत्रमा उम्मेदवार बन्ने दाबी गरिरहेका छन् । उनी मंसिर ४ को निर्वाचनमा रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित भएका थिए ।

उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मात्रै दलहरुबिच गठबन्धन भएको दाबी गर्दै आसन्न उपनिर्वाचनमा अहिलेको गठबन्धनले कुनै असर नगर्ने बताए ।

‘मंसिर ४ को निर्वाचनमा झिनो मतले मैले चुनाव हारेकाले यसपटक पार्टीले मलाई नै उम्मेदवार बनाउँछ । म ढुक्क छु,’ कुशवाहाले भने, ‘रामसहाय यादव उपराष्ट्रपतिको उम्मेदवार हुनासाथ म जनताको घरदैलोमा जान थालिसकेको छु । मैले उपनिर्वाचनको तयारी सुरु गरिसकेको छु ।’

बारा–२ मा यसअघि भएको निर्वाचनमा माओवादीका उम्मेदवार कुशवाहा ३५४ मतले रामसहाय यादवसँग पराजित भएका थिए । रामसहाय यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए ।

सो निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहेका रामकिशोर यादव भने शनिबार जसपा नेपालमा फर्किसकेका छन् । पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर रामकिशोरले मंसिर ४ को निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए ।

यता नेकपा एमालेका बारा जिल्ला अध्यक्ष विनोद साहले पनि एमालेले आफ्नो उम्मेदवारी दिने तर कसलाई उठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने बताएका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा–२ मा प्रदेशसभा सदस्य तर्फ (क) र (ख) दुवैमा जसपा उम्मेदवारहरु शारदा शंकरप्रसाद कलवार र बच्चा राउत अहिर निर्वाचित भएका छन् ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका शारदा शंकरप्रसाद कलवार हाल जसपा नेपालमा फर्किएका हुन् ।

बारा–२ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा जसपाले जितेका कारण पनि उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि अनुकुल माहोल भएको जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप