शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा पहिलो पटक ‘रात्रि बजार’ लगाउने तयारी

सोमबार, ०६ चैत २०७९, २१ : ४९
सोमबार, ०६ चैत २०७९

वीरगन्ज । अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगन्ज महानगरपालिकाले वीरगन्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउने भएको छ । 

यही चैत ३० गते बेलुकादेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगन्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाइने महानगरपालिकाले जनाएको छ । 

वीरगन्जवासीको सपना साकार पार्ने सङ्कल्पअनुरुप वीरगन्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउन लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । आर्थिक नगरी भनेर वीरगन्ज परिचित भए पनि यहाँको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेकाले यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन परीक्षणस्वरूप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्रि बजार लगाउने तयारी गरिएको महानगरप्रमुख सिंहले बताए ।

“व्यावसायिकरूपमा वीरगन्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजनासहित ‘रात्रि बजार’ लगाउन लागेका हौँ”, उनले भने, “यसले बजार चलायमान बनाउने विश्वास लिएका छौँ ।”

महानगरको आयोजनामा वीरगन्जमै पहिलो पटक हुन लागेको ‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायतका सरसामान पाउनुका साथै वीरगन्जमै पहिलो पटक तन्दुरी चायको सुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिए । 

रात्रि बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देशसहित सफलता प्राप्त भए लामो समयसम्म बजार लगाउन सकिने भएकाले वीरगन्जमै पहिलो पटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गरे । 

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगन्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ तयारीको काम अघि बढाइएको उनले बताए । रात्रि बजारमा लगाइने स्टलहरू बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजक ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । 

आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप