बजेट अभावमा अलपत्र पर्यो कभर्ड हल

पोखरा । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन ।
पोखरा रङ्गशालाको विकल्पका रूपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताए ।
चालु आर्थिक वर्षमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट यतिबेला बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताए ।
अहिलेसम्म कभर्ड हलमा रु एक करोड १० लाख खर्च भइसकेको उनको भनाइ छ । आव २०७४÷७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो ।
त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भूइँतलाको पिलर र गारो लगाउने काम भएको छ ।
“सबै संरचना तयार गर्न अझै रु तीन करोड लाग्छ”, अध्यक्ष खड्काले भने, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौँडा हुनेछ । सुरुमा रु तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने देखिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिएका थिए ।
प्रदेश सरकारका प्रतिनिधिले पनि पटक–पटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् । तर बजेटकै कारण महत्त्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, सोअनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाले भने, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनोँ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।”
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताए । “कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उनले भने, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।”
लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताए । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपयुक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उनले भने ।
रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा–२९ आदर्शचोकका पूर्ण खत्रीले बताए । “स्थानीयले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छाड्यौँ”, उनले भने, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड