शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाल निबन्ध : जिउने कला

मङ्गलबार, ०७ चैत २०७९, १४ : ५६
मङ्गलबार, ०७ चैत २०७९

प्रायः हामी भएन र पुगेन भन्छौँ तर किन भएन र पुगेन भन्नेतर्फ भने ध्यान दिन भ्याउँदैनौँ । यसले गर्दा हाम्रो जीवन अधुरो र अपुरो हुन पुगिरहेको छ । जीवनमा अभाव छ, मनमा अशान्ति छ । संसारमा सबै आफ्नै लागि आएका हुन्छन् । अरूका लागि कोही पनि आउँदैनन्, आएका हुँदैनन् । त्यसैले कसैले केही दिएन भन्न पनि पर्दैन र कसैबाट केही पाइएन भन्न पनि पर्दैन । आफ्ना लागि आफैँले गर्ने हो, आफूलाई दिने भनेको पनि आफैँले नै हो । यदि कसैबाट केही पाउने आशा गर्ने हो भने उसलाई पनि दिनुपर्छ, दिन जान्नुपर्छ, सक्नुपर्छ । तब मात्र जीवन सन्तुलित हुन्छ र सुख पाइन्छ । होइन भने सधैँभरि हुने यस्तै हो ।  

मानिलिनुस् तपाईंलाई बस्न घर चाहिएको छ तर घर त्यसै बन्दैन । यसका लागि ढुङ्गा, माटो, बालुवा, काठपात आदि चाहिएलान् । त्यतिले मात्र पनि नपुग्ला । मानिसको सीप, कला, तिनलाई सिकाउने विद्यालय, पाठ्यक्रम, पाठ्यपुस्तक, तिनलाई तयार पार्ने मानिस, कलकारखाना पनि चाहिएला तर तिनीहरूबाट त्यति बेला मात्र सहयोग पाउन सकिन्छ जतिबेला उनीहरूप्रति पनि केही गर्ने गरिएको छ । होइन भने खोज्न त सकिन्छ तर खोजेको चिज भने मरिकाटे पाउन सकिन्न । 

अहिलेसम्म भएकै यही हो । हामीले चाहना त ग¥यौँ तर आफ्नो भूमिका के हो त्यतातिर ध्यान दिन सकेनौँ वा भ्याएनौँ । फलत केही पनि पाउन सकेनौँ । यही नै समस्या हुन् । अनि यही नै समस्याका कारण पनि हुन् । 
यसको अर्थ समस्या आफैँमा समस्या नै हुन् भन्ने होइन । ती जीवन जिउने कला नजान्दा वा नसक्दासम्मका लागि मात्र समस्या हुन् । जिउने कला सिक्नासाथ कुनै पनि समस्या समस्याका रूपमा रहन सक्दैनन् । आपितु समस्या नै समाधान बनेर खडा हुन पुग्छन्, सहयोगको हात बढाउन थाल्नेछन् ।  
कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नुपर्दैन । यो कुनै बनावटी कुरो होइन । जीवनको वास्तविकता नै यही हो । मानिलिनुस् कतै जाँदै हुनुहुन्थ्यो । बाटो बिराएर दुःख पाउनुभयो । काँडाले को¥यो, ढुङ्गामा ठेस लाग्यो । भीरबाट लडियो, हातगोडा भाँचियो । जबसम्म बाटो पत्ता लगाउन सक्नुभएन दुःख पाउनुभयो, पाई नै रहनुभयो । जब बाटो पत्ता लाग्यो, पत्ता लगाउन सक्नुभयो समस्या स्वतः समाधान भयो । 

यहाँ समस्या बाटोमा थिएन । समस्या तपाईंको अज्ञानमा थियो, बाटो हिँड्ने कलामा थियो, बाटो चिन्न नसक्ने बुद्धिमा थियो । जब बाटो पत्ता लाग्यो समस्या पनि स्वतः समाधान भएर आयो । जीवन जिउने कला पनि त्यस्तै हो । जिउने तरिकामा तालमेल नहुँदासम्म जताततै समस्या देख्नुहुनेछ तर तालमेल हुनासाथ स्वतः समाधान भएर खडा भएको पाउनुहुनेछ । 

तपाईंलाई लाग्न सक्छ त्यो भनेको के हो र कसरी मिलाउने हो तर नआत्तिनुस् । यो कुनै त्यस्तो ठूलो काम पनि होइन र गर्नै नसकिने कार्य पनि होइन । काम अहिले जे गर्दै आउनुभएको छ त्यही नै हो । त्यसलाई गर्ने तरिका मात्र फरक हो । 
मानिलिनुस् तपाईं किसान हुनुहुन्छ, हलो, जुवा, कुटोकोदालो गर्दैै आउनुभएको छ । यहाँ पनि गर्ने काम त्यही हो तर गर्ने तरिकामा भने फरक खोज्ने हो, फरकपन ल्याउने हो । अहिलेसम्म जसरी गरिएको थियो त्यसले खासैै फल दिएन । यसमा कि रोप्ने ठाउँ नमिलेको हुनसक्छ कि समय अनुकूल नभएको हुन सक्छ कि मलजल नपुगेको हुन सक्छ कि बढी भएको हुन सक्छ । यतिबेला तपाईंले गर्ने भनेको पहिले किन त्यस्तो भयो भन्ने कुराको खोजी हो । अनि सोहीअनुसारको खेती प्रणाली अपनाउने हो ।  

यस थप उदाहरणबाट अझ बढी प्रष्ट हुन सक्नुहुन्छ । जस्तै धान रोप्ने भए वर्षाको सिजन आवश्यक पर्ला, आलु, मटर, टमाटरको खेती गर्ने भए सिजन पनि त्यस्तै चाहिएला । साग सब्जीको खेती गर्ने भए त्यस्तै समयको उपयोग गर्नुपर्ला । त्यसलाई चाहिने मलजलमा ध्यान दिने पनि गर्नुपर्ला । तपाईं अनुकूल के छ, कुन कामलाई राम्रोसित गर्न सक्नुहुन्छ । कुन स्थानमा कुन चिज बढी खपत हुन्छ, कुन चिजको बढी आवश्यकता छ भन्नेतिर पनि ध्यान दिनुपर्ला । अवस्था अनुकूल पनि हुनैपर्ला ।  

व्यापारी हुनुहुन्छ भने पनि त्यस्तै हो । तपाईंले गर्ने व्यापार समयसापेक्ष हुनुपर्ला । गर्मीमा जाडोको कपडा पक्कै नबिक्ला । घना बस्तीको बीचमा हुनुहुन्छ भने तपाईंको व्यपारको वस्तु त्यस्तै राख्नुपर्ला । त्यस्ता ठाउँमा साँझ बिहान नभई नहुने सामान दाल, चामल, नुन, चिनी, घ्यु, तेल आदि नै बढी चल्लान् । मोटर, कार, ठूला, ठूला उद्योग, कलकारखानाका सामान लिएर बस्दा नहोला । यस्ता सामानका लागि स्थान पनि त्यस्तै चाहिएला । त्यस्तै खोजी गर्नुपर्ला । 

प्रायः हामी एक्लै हिँड्न चाहन्छौँ, एक्लै हिँड्ने, एक्लै बस्ने हाम्रो बानी छ ।  एक्लै खान रुचाउँछौँ, एक्लै बोल्न मन पराउँछौँ । हामीमा आफू मात्र ठीक अरू सबै बेठीक देख्ने रोग लागेको छ । आफू हिँडेको बाटो मात्र ठीक, आफू बसेको धरातल मात्र ठीक, आफूले देखेको र बोकेको संसार मात्र ठीक अरू सबै बेठीक भन्ने गर्छौैं । यसैले हामीलाई मिल्न दिएको छैन । आपसमा झगडा पारिदिएको छ । अनादिकालदेखि चल्दै आएको यो रोग अहिले पनि उस्तै छ र सम्भवतः यस्तै अवस्था रहे भोलि पनि यस्तै हुनेछ । यदि हामीले आफ्नो आवश्यकता बुझेर त्यसलाई प्राप्त गर्ने तरिका र प्राप्त गर्न आफूले पूरा गर्नुपर्ने दायित्वतर्फ ध्यान दिन थाल्यौँ भने जीवनमा न अभाव हुनेछ न भएन र पुगेन भनेर गुनासो गर्ने अवस्था आउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप