बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माग पूरा गर्ने प्रतिबद्धता आउँदा पनि अनशन तोड्न मानेनन् दिपकले

मङ्गलबार, ०७ चैत २०७९, १९ : ०८
मङ्गलबार, ०७ चैत २०७९

रौतहट । रौतहटको गरुडा नगरपालिकाको मेयर पदका प्रत्याशी दीपक यादवले १४ सूत्रीय माग अघि सार्दै तीन दिनअघि सुरु गरेको आमरण अनसन जारी छ । नगरपालिकाका मेयर कन्थमणि कलवार र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले मंगलबार उनलाई भेटेरै माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि यादवले अनशन जारी राखेका हुन् ।

यादवले स्थानीय निर्वाचनपछि नगरपालिकाबाट शिक्षा क्षेत्रमा भएको खर्च तथा उपलब्धि, बिजुली बत्ती, इन्टरनेट जडानमा भएको खर्च तथा अहिलेको अवस्था, स्वास्थ्य क्षेत्रमा भएको खर्च विवरण, करार कर्मचारीको नियुक्ति पत्र तथा हाजिरीको प्रतिलिपि माग गर्दै अनशन थालेका हुन् ।

उनले पदपूर्ति समितिको निर्णयको प्रतिलिपि, विकास कार्यको सम्पूर्ण योजनाको भुक्तानीको प्रतिलिपि, दर्ता चलानीको प्रतिलिपि, हालसम्म भएको खर्च रकमको विवरण, नगरसभाको निर्णयको प्रतिलिपि, कोरोना पीडितलाई वितरण गरेको रकमको लेखाजोखा, बैंक मौज्दातको अवस्था र सम्पूर्ण नगरवासीको उपस्थितिमा सार्वजनिक सुनवाइ हुनुपर्ने माग पनि अघि सारेका छन् ।

उनकै माग बमोजिम मंगलबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार चैत ३० गते सार्वजनिक सुनवाइ गरिने, सूचनाको हक सम्बन्धी सम्पूर्ण माग क्रमशः पूरा गर्ने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत झाले व्यक्त गरेका हुन् ।

‘तपाईंले उठाएको जायज सबै माग हामी पूरा गर्छौं, चैत ३० गते सार्वजनिक सुनुवाइ हुन्छ, अनशन छोड्नुस् भन्दा उहाँले सम्पूर्ण माग अहिले पूरा भएपछि मात्र अनशन छोड्छु भन्ने अडान राख्नुभयो,’ झाले भने ।

यसअघि सोमबार पत्रकार सम्मेलन गरी गरुडा नगरपालिकाका मेयर कन्थमणि कलवारले स्थानीय निर्वाचनको परिणाम आएकै दिनदेखि नै विकास निर्माण लगायतको कार्यमा विपक्षीहरुले निकै असहयोग गर्दै आएको बताएका थिए ।

नगरको विकास, नगरवासीलाई समृद्ध बनाउने योजना, विकास निर्माणदेखि शिक्षा स्वास्थ्यको क्षेत्रमा गर्न खोजिएको बदलावलाई देखेर विपक्षीहरु अत्तालिएर विभिन्न षड्यन्त्र गर्न सक्रिय भइरहेको उनको आरोप थियो ।

‘मैले गरेको सम्पूर्ण कार्यहरुको विवरण दिन तयार छु,’ मेयर जैसवालले भने, ‘तर त्यसको विधि र प्रक्रिया हुन्छ, सार्वजनिक सुनवाइ कार्यक्रम छिटै आयोजना गरेर सबैको खुलासा गर्नेछु ।’

अभद्र, अशिष्ट शैलीमा पेस हुँदै नगरको काम बिथोल्न खोज्दा समस्यामात्रै उत्पन्न हुने उनको भनाइ थियो । करारमा १५० जना कर्मचारी नियुक्त गरिएको भए पनि आन्तरिक स्रोत न्यून हुँदा तलब खुवाउन समस्या भएपछि करारका केही कर्मचारीलाई हटाएपछि विवाद सिर्जना गरिएको उनको भनाइ छ ।

अनशनरत दीपक यादवले भने गरुडा नगरपालिकाभित्र करोडौँको भ्रष्टाचार भएको आरोप लगाएका छन् । आफूले नगरको काममा पारदर्शिता खोजेको उनको भनाइ छ । उनको अनशनप्रति कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप