शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेश : मुख्यमन्त्रीलाई विश्वासको मतबारे कांग्रेस र माओवादीबीच विवाद

मङ्गलबार, ०७ चैत २०७९, २० : १७
मङ्गलबार, ०७ चैत २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच विवाद देखिएको छ ।

सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबिच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर मतभेद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुङ्गो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । उसले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव केहीदिन पर सार्न प्रस्ताव गरेको छ ।

माओवादी केन्द्र भने पहिले विश्वासको मत टुङ्ग्याएर अन्य प्रक्रियामा लाग्नुपर्ने पक्षमा देखिएको छ ।

कांग्रेस विश्वासको मतभन्दा पनि सातै प्रदेशको भागबण्डा प्याकेजमा गरेर नयाँ सरकार गठन वा वर्तमान सरकार कै निरन्तरताको विषयमा प्रवेश गर्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्र भने वर्तमान परिस्थितिको आधारमा सरकारलाई आधिकारिकता प्रदान गरेर अन्य विषयहरु छलफलबाट टुङ्ग्याएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले एकतर्फी रुपमा बिना छलफल विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाएको कांग्रेसको आरोप छ । यस्तै, माओवादी केन्द्रले संविधानतः मुख्यमन्त्रीले विश्वासको मत लिएर सरकारको कामलाई अघि बढाउनुपर्ने जिकिर गर्दै आएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा अझै केही दिन बाँकी रहेकाले पूर्ण तयारी गरेरमात्र अघि बढ्नुपर्ने बताए ।

उनका अनुसार मुख्यमन्त्री जम्कट्टेलले तत्काल हतार नगरी केही दिन ‘होल्ड’ गरे छलफलबाट सबै विषय टुङ्गिन सक्छ । त्यसपछि मात्र थप प्रक्रिया अघि बढाउनु उचित हुने उनको भनाइ छ ।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव ‘होल्ड’ गरेर सरकारको नेतृत्व, सहभागिता र भागबण्डा लगायताको विषय टुङ्ग्याउनुपर्ने उनले बताए ।

गठबन्धनबाट बाहिर गएर कांग्रेसले कुनै पनि काम नगर्ने भन्दै काफ्लेले आन्तरिक छलफलबाट सबै विषय टुङ्ग्याउन केही समय माग गरेको प्रस्ट पारे । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कुनै पनि समस्या नरहेको उनको भनाइ छ ।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन तयार रहेको तर, सरकारमा सहभागिता लगायतका विषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्न आफूहरुले समय लिन चाहेको उनले बताए ।

यता माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री जम्कट्टेलले सरकारको नेतृत्व परिवर्तनमा केन्द्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले पहिले विश्वासको मत लिएर अरु विषयमा प्रवेश गर्नुपर्ने बताए । सरकारको नेतृत्व परिवर्तन २÷४ दिनमा नै नहुने भएकाले वर्तमान सरकारको निरन्तरता र अधिकारिकताका लागि विश्वासको मत पहिलो प्राथमिकतामा रहेको उनले बताए ।

माओवादी केन्द्रबाट प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका गंगा नारायण श्रेष्ठले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढ्ने बताए । उनले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव रोक्ने विषयमा छलफल नभएको प्रस्ट पारे ।

मुख्मयन्त्रीले विश्वासको मत लिएपश्चात अन्य विषयमा केन्द्रदेखि प्रदेशस्तरमा छलफल भएर सरकारका गतिविधिहरु अघि बढ्ने उनको भनाइ छ । 

मुख्यमन्त्री जम्कट्टेलले चैत ८ गते बुधबार (भोलि) संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । सोही अनुसार बुधबार ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । उक्त बैठकमा उनले नेपालको संविधानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा सत्ता समीकरण फेरिएसँगै तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएर सरकार छाडेपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सत्ता समीकरण राष्ट्रपतिको निर्वाचन अघि भत्किएको थियो । लगत्तै राप्रपाले फागुन १३ गते शनिबार प्रदेश सरकारबाट राजीनामा दिएर समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता भएको खण्डमा उक्त मितिले ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

यसअघि प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका थिए । गत माघ ३ गते बसेको प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।

गत पुस २५ गते ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप