बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेले राख्यो शर्त

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको हो । बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने प्रस्ट पारे ।
‘हामी सरकारमै बसिरहने भन्ने होइन,’ उनले भने, ‘हामी राजीनामा दिन तयार छौं तर प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर राजीनामा दिन्छौं ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।
एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट आफू बाहिरिने शर्त राखेको हो । थपलियाले भने, ‘प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौं । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौं ।’
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको छ । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसद भने अनुपस्थित हुने भएका छन् । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी मुख्यमन्त्री जम्कट्टेललाई गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप र आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
-
बजेटमा बागमती : सुरुङ मार्गदेखि रेल मार्गसम्मका योजना
-
श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : चेम्बर
-
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी
-
गाँजा खेतीको सम्भावनाको अध्ययन गर्ने योजना सकारात्मक–चेम्बर
-
अर्थमन्त्रीले गरे सांसद विकास कोषलाई छुट्याइएको रकमको बचाउ